देश/प्रदेश
राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्ने

काठमाडौँ, असार २५-
नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा संसदीय दलका तर्फबाट आफ्नो धारणा राख्दै उहाँले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र मौलिक अधिकारलाई सुदृढ बनाउन संविधान संशोधन गर्न सकिने बताउनुभयो ।
सांसद हमालले संविधान संशोधनसम्बन्धी बहस नोट तयार गर्न गठित कार्यदलबाट आफ्नो पार्टी अलग भएको सदनलाई जानकारी गराउनुभयो । यद्यपि उहाँले आफूहरु संविधान संशोधनसम्बन्धी आधारभूत विषयमा असहमत नरहेको स्पष्ट गर्नुभयो ।
राज्य सत्ता सञ्चालन, कानुन निर्माण, सङ्घीयताको सुदृढीकरणलगायत विषयमा संशोधन गर्न सकिने बताउँदै त्यसका निमित्त राष्ट्रिय सहमतिको आवश्यकता भएकामा उहाँको जोड थियो ।
लोकतन्त्रका संरचनामाथि बन्देज लगाउन हुनेमा जोड दिँदै सांसद हमालले विद्यार्थी सङ्गठन र कर्मचारी ट्रेड युनियनलाई खारेज गर्ननहुने तथा सरकारले तत्कालको आवश्यकता संशोधन गर्न अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था भए पनि संसद् छलेर अध्यादेश जारी गर्ने परम्पराले संसदीय अभ्यास कमजोर हुने बताउनुभयो । रासस



























