देश/प्रदेश
सरकार संविधान र संघीयता मास्ने दिशातर्फ अघि बढ्दैछः प्रचण्ड

काठमाडौं, असार २१-
प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् ।
वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको प्रचण्डको भनाइ छ ।
उनले सरकारले सुकुम्वासी बस्ती हटाउने, विद्यार्थी युनियनहरू खारेज गर्ने, ट्रेड युनियन अधिकारहरू खोस्ने, देशको सीमानाको विषयमा जथाभावी बोल्ने काम गरेपछि आफूले एकपटक सदनमा बोलेको बताए । प्रचण्डले सरकार गलत बाटोमा गएकाले त्यसविरुद्ध आन्दोलनमा जुर्मुराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।
आफूहरूले विगतमा वर्ग संघर्ष, विचार र रणनीतिलाई भुल्ने गम्भीर गल्ती गरेको स्वीकार गर्दै त्यस भूलबाट शिक्षा लिएर अघि बढ्ने बताए ।



























