राजनीति

युवा उद्यमशीलतामै नेपालको समृद्धि जोडिएको छः सदस्य मल्ल

Banner

काठमाडौं, असार १९ –

राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नेपालमा युवा उद्यमशीलताको ठूलो सम्भावना रहेको भन्दै उद्यमशीलता प्रवद्र्धनमार्फत देशभित्रै रोजगारी र समृद्धिको आधार निर्माण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायी पुरस्कार कार्यक्रममा बोल्दै मल्लले अमेरिकामा १७ वर्ष अध्ययन र काम गरेपछि नेपाल फर्किनुको मुख्य कारण गाउँ–गाउँमा रहेका युवा तथा महिला उद्यमीको ऊर्जा, उत्साह र क्षमता भएको बताए।

उनले भने,‘मंैले भेटेका हरेक युवा र महिला उद्यमीको आँखामा ऊर्जा, उत्साह र प्रतिभा देखेँ । त्यसैले नेपालमै सम्भावना रहेछ भन्ने विश्वासका साथ भूकम्पपछि स्वदेश फर्किएँ ।’

उनले राजनीतिक परिवर्तनपछि अब नागरिकले आर्थिक उपलब्धि खोजिरहेको उल्लेख गर्दै सरकारले त्यसतर्फ केन्द्रित भएर काम गर्नुपर्ने बताए ।

‘राजनीतिक परिवर्तन भइसकेको छ । अब जनताले आर्थिक डेलिभरी खोजिरहेका छन्। त्यसका लागि बजेटको प्रभावकारी कार्यान्वयन सबैभन्दा महत्त्वपूर्ण विषय हो,’ मल्लले भने ।

उनका अनुसार सरकारले यस वर्षको बजेटमार्फत उद्यमशीलता प्रवद्र्धनका लागि ‘नेसनल इन्टरप्राइज फेसिलिटी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै उनले नीति सुधार, नवप्रवर्तनमा लगानी, एक्सेलेरेटर तथा इन्क्युबेटर कार्यक्रमको प्रवद्र्धन, डिजिटल प्रणाली विकास र ‘इन्टरप्राइज नेपाल’ अभियानलाई प्राथमिकता दिइने बताए।

मल्लले गाउँका उद्यमीका समस्या नीतिमार्फत सम्बोधन गर्न ‘इन्टरप्राइज पोलिसी ल्याब’ स्थापना गर्ने, निजी क्षेत्र र विकास साझेदारको लगानी आकर्षित गर्न ‘फन्ड अफ फन्ड्स’ अवधारणा अघि बढाइने तथा उद्यमीलाई ‘इनोभेसन भाउचर’ उपलब्ध गराउने योजना रहेको जानकारी दिए।

सरकारले साउन १ गतेभित्र कार्यविधि स्वीकृत गर्ने, पुसमा मध्यावधि समीक्षा गर्ने र आगामी बजेटमा अझ ठूलो कार्यक्रम ल्याउने लक्ष्य राखेको उनले बताए।

कार्यक्रममा उनले पुरस्कार वितरणमै सीमित नभई पुरस्कृत उद्यमीलाई बजारसँग जोड्ने, उनीहरूको उत्पादनको व्यावसायीकरण गर्ने र नीतिगत सुधारमा उनीहरूका सुझाव समेट्ने प्रतिबद्धता जनाए ।

‘उद्यमशील राष्ट्र निर्माण नै हाम्रो लक्ष्य हो। कुनै पनि युवा बाध्य भएर विदेशिनु नपरोस् भन्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ,’ उनले भने ।

मल्लले नीति निर्माण र कार्यान्वयनमा सरकार, निजी क्षेत्र, युवा उद्यमी तथा विभिन्न निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पुरस्कृत १५ जना उद्यमीलाई राष्ट्रिय योजना आयोगमा छलफलका लागि निमन्त्रणा दिइएको जानकारीसमेत दिए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>