राजनीति
राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल

काठमाडौँ, असार १७ –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक (नेपाल वायुसेवा निगम)को पुनर्जागरणका लागि सबै इमान्दार बन्नुपर्ने बताउनुभएको छ ।
नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो । निगमको विकासमा अहोरात्र खटिने इमान्दार, नैतीकवान र जिम्मेवार कर्मचारीको वृत्तिविकासमा मन्त्रालयले ध्यान दिने र अनियमितता गर्ने जोकोहीलाई कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री पौडेलले निगमको प्रगतिका लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निगमका सम्पूर्ण कर्मचारीलाई कुशलतापूर्वक र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमलाई बलियो बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले विगतका अनुभवबाट शिक्षा लिँदै स्पष्ट दृष्टिकोणका साथ निगमलाई अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो । निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विभिन्न चुनौतीका बाबजुद पनि पछिल्लो समय यात्रुको सङ्ख्या र आम्दानी वृद्धि हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो ।
सो अवसरमा मन्त्री पौडेलले निगमको गतिविधि समेटेर प्रकाशन गरेको वार्षिक विशेषाङ्क ‘आकाश भैरव’ पत्रिकाको लोकार्पण गर्नुभयो । निगमको वार्षिकोत्सवका अवसरमा आजै निगमको केन्द्रीय कार्यालयबाट न्यूरोड जुद्ध शालिक हुँदै निगमको कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।



























