राजनीति

मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

Banner

काठमाडौं, असार १६-

स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच छलफल भएको छ ।

भेटमा स्थानीय तहमा देखिएका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीका विषयमा विस्तृत छलफल भएको हो ।

छलफलका क्रममा मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी स्थलगत सहजीकरण तथा समन्वय गरेको जानकारी दिइन् ।

ती टोलीले पालिका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरी स्थानीय तहका समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण संकलन गरेको उनले बताइन् ।

उनले स्थानीय तहका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्रालयले स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन आवश्यक पहललाई निरन्तरता दिने बताइन् ।

छलफलमा मन्त्रालयका सचिव, सहसचिव, प्रतिनिधि सभा सदस्य रहबर अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>