मनोरञ्जन

अस्मिताको यात्राः म्यूजिक भिडियोदेखि मास्टर्स डिग्रीसम्म

Banner

चितवन, पुस १४-

कलाक्षेत्रलाई प्रायः अस्थिर र अध्ययनसँग असंगत क्षेत्रका रूपमा बुझ्ने प्रवृत्ति अझै कायम छ। तर केही पात्रहरूले यही धारणालाई चुनौती दिँदै कला र शिक्षा एक–अर्काका पूरक हुन सक्ने तथ्य व्यवहारमै प्रमाणित गरिरहेका छन्। तीमध्ये एक हुन—स्याङ्जा जिल्लाकी मोडल तथा नृत्यांगना अस्मिता राना ।

स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका–८ मा पिता चित्रबहादुर राना र माता माया थापाको कोखबाट जन्मिएकी अस्मिता हालसम्म एक सयभन्दा बढी म्युजिक भिडियो र सिरियलमा काम गरिसकेकी छिन् । देश तथा विदेशमा विभिन्न नृत्य विधामा जज साथै स्वदेशका विभिन्न मेला–महोत्सवसँगै कोरिया, दुबई्, युके, कतार, ओमान, लगायत करिब दस वटा मुलुकमा सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।

हालै त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी अस्मिताले कलात्मक यात्रासँगै औपचारिक शिक्षा लाइ समान प्राथमिकतामा राख्दै आएकी छिन् । नृत्य र मोडलिङ क्षेत्रमा व्यस्त रहँदै पनि उच्च शिक्षा पूरा गर्न मेहनत, दृढ संकल्प र प्रभावकारी समय व्यवस्थापनका कारण उनले यो सम्भव बनाइन्।

परीक्षा कै अवधि मा वैदेशिक सांगीतिक यात्रा प्रस्तुति दिएर एयरपोर्ट बाटै परीक्षा हल मा परीक्षा दिन पुगेकी अस्मिता यात्रा कै क्रममा पाठ्यसामग्री अध्ययन गर्ने, रातिको समय पढाइका लागि छुट्याउने र सुटिङ तालिका कक्षासँग नजुध्ने गरी मिलाउने अभ्यास उनको दैनिकी बनेको थियो।

पढाइ कै कारण अस्मिताले थुप्रै सांगीतिक कार्यक्रम र प्रस्तुति त्यागेकी थिइन्। आर्थिक र पेशागत अवसर हुँदाहुँदै पनि अध्ययनलाई प्राथमिकता दिनु उनको शैक्षिक प्रतिबद्धताको स्पष्ट उदाहरण हो। म्युजिक भिडियोको सुटिङ, रिहर्सल र कार्यक्रमका बीच कक्षामा नियमित उपस्थितिका लागि उनले आफ्नो कार्यतालिका सचेत रूपमा व्यवस्थापन गरिन्।

व्यवसायिक कलाकारका अतिरिक्त उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति तथा नेपाल मगर सांस्कृतिक संघकी सदस्यसमेत हुन्। लोकनृत्य, संगीत र सांस्कृतिक पहिचानको प्रवद्र्धनमा सक्रिय भूमिकाका कारण उनले विभिन्न म्युजिक अवार्डहरू समेत प्राप्त गरिसकेकी छन्।

अस्मिता रानाको यात्रा केवल कलाकारको सफलताको कथा मात्र होइन, यो शिक्षा र सिर्जनशीलतालाई सँगसँगै अघि बढाउन सकिने सशक्त सन्देश पनि हो। कलाक्षेत्रमा आबद्ध युवाहरूका लागि उनले देखाएको बाटो स्पष्ट छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>