मनोरञ्जन
द्वन्द्वप्रधान चलचित्रमा जोखिम छः अभिनेता श्रेष्ठ

काठमाडौँ, फागुन २१-
अन्य विधाको तुलनामा द्वन्द्व विधामा निर्माण गरिने चलचित्रमा जोखिम हुनुका साथै लगानी बढी लाग्ने अभिनेता सुशील श्रेष्ठले बताउनुभएको छ ।
आज यहाँ चलचित्र ‘आउट लः दफा २१९’ को विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेता श्रेष्ठले नेपालमा उपलब्ध स्रोत र साधनको प्रयोगमा तयार गरिने द्वन्द्वप्रधान चलचित्रमा जोखिमको सम्भावना रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्य विधाका चलचित्रमा मैले सरल रुपमै छायाङ्कन सम्पन्न गरेँ तर यसपटक निकै मेहनत गरेको छु । एउटा द्वन्द्वको दृश्य खिच्न नौ दिन लागेको छ । यस्ता दृश्य खिच्दा थकित हुनुका साथै जोखिम पनि उत्तिकै हुन्छ । विदेशी चलचित्रमा कलाकारझैँ देखिने जोखिमका दृश्य गर्ने भए तापनि नेपालमा भने अभिनेताले नै सबै दृश्य गर्नुपर्छ । द्वन्द्वका दृश्यको छायाङ्कन गर्दा मेरो हातको औँला भाचिनेदेखि चोटपटक लाग्ने धेरै नै भयो ।”
प्रायः प्रेमकथानक चलचित्रमा देखिरहनुभएका अभिनेता श्रेष्ठले यसपटक फरक चलचित्रमा काम गर्न दुई वर्ष लागेको जानकारी दिनुभयो । “मैले एउटा अभिनेताले गर्नुपर्ने मेहनतमा कमी गरेको छैन । मेरो औँला भाँचिए पनि छायाङ्कन गर्ने सेट निर्माण भएकाले एउटा हातकै सहाराले पनि काम गरेँ । किनकि हामी कहाँ नेपालमा छायाङ्कन रोकियो भने बजेट बढ्छ, निर्मातालाई लगानी उठाउन कठिनाइ हुन्छ । सोही कारण आफैँले पीडा सहेर पनि काम सकेँ”, अभिनेता श्रेष्ठले भन्नुभयो, “अहिले म घाइते भएर पनि काम गरेको दृश्यलाई पर्दामा हेर्दा सन्तुष्टि मिलेको छ । चलचित्र भनेको सामूहिक कार्य हो, राम्रो बनाउन हामी सबैले उत्तिकै मेहनत गरेका छौँ ।”
उहाँले आफूले आगामी दिनमा द्वन्द्वप्रधान चलचित्रमा काम गर्ने की नगर्ने भन्ने विषयको निक्र्यौल ‘आउट लः दफा २१९’ सफलता वा असफलताले गर्ने बताउनुभयो । उहाँले दफा २१९ कै विषयलाई केन्द्रमा राखेर चलचित्र तयार गरिएको बताउनुभयो ।
चलचित्रका निर्देशक विक्की महर्जनले नेपालमा बनिरहेका भन्दा फरक गर्ने प्रयासमा दुई वर्ष आगाडि नै द्वन्द्व विधालाई रोजेर काम गरिएको बताउनुभयो ।
“हाम्रो चलचित्रमा प्राविधिक पक्षलाई समय दिनुपरेकाले दुई वर्ष लाग्यो । तर, तत्कालीन समयमा पारिवारिक चलचित्र मात्र बनिरहेको सन्दर्भलाई मध्यनजर गर्दै विविधता चाहिन्छ भने द्वन्द्वप्रधान चलचित्र निर्माण सुरू गरेका थियौँ । यसमा हामीले कुनै सम्झौता गरेका छैनौँ, सोही कारण समय लागेको हो”, निर्देशक महर्जनले स्पष्ट गर्नुभयो ।
उहाँले द्वन्द्वको एउटा दृश्यलाई खिच्न रु ४० लाख लागेको समेत दाबी गर्नुभयो । उहाँका अनुसार विदेशी चलचित्रमा देखिने द्वन्द्वका दृश्यझैँ ‘आउट लः दफा २१९’ का दृश्यलाई तयार गरिएको छ ।
यही फागुन २९ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रलाई अमित अग्रहरी र निशा गुइडेले निर्माण गर्नुभएको हो । निर्देशक महर्जन र दीर्घ धामीले संयुक्तरुपमा पटकथा तयार गर्नुभएको चलचित्रमा नवीन गुरुङले छायाङ्कन र साहिल खानले सम्पादन गर्नुभएको हो । उक्त चलचित्र निर्माणमा करिब रु तीन करोड खर्च भएको सो अवसरमा बताइयो । रासस
























