कृषि

सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव

Banner

तनहुँ, माघ १५-

म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विकले बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “दुई/तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो । अहिले के भयोभयो, फल नै लाग्दैन, सुन्तलाको बोटमा विभिन्न रोग देखापर्ने समस्या आएको छ ।” आम्दानीको स्रोत यही भएका हामीजस्ता किसान मारमा परेका उहाँले उल्लेख गर्नुभयो ।

“पहिले समयमा आकाशे पानी पथ्र्यो, अहिले सुन्तलाले फूल खेल्ने बेलासम्म पनि पानी पर्दैन”, विकले भन्नुभयो, “करिब एक सय ५० सुन्तलाको बोटमा रोग देखिएको छ, फल पनि लाग्दैन, के भएको हो रु कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सोधपुछ गरिरहेका छौँ ।” यसको समाधान केही नभएको प्राविधिकबाट जवाफ पाएको उहाँले जानकारी दिनुभयो ।

विगतमा एउटा बोटको सुन्तला एक क्रेट हुने भए पनि अहिले एक किलो पुग्नसमेत मुस्किल हुने गरेको विकको अनुभव छ । अघिल्लो वर्षसम्म पनि प्रशस्त उत्पादन लिएको सम्झँदै उहाँले वर्ष फल कम लागेका उत्पादन घट्दै गएको बताउनुभयो । गत वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका सुनाउँदै उहाँले यस वर्ष आधा पनि नहुने उल्लेख गर्नुभयो ।

किसान रामबहादुर अधिकारीले भन्नुभयो, “सुन्तलाले फूल खेल्ने बेलामा पानी पर्नै छोडेको छ, अचेल मौसम फेरिएको जस्तो पो लाग्छ, पानीको अभावले सुन्तला उत्पादनमा कमी आउन थालेको छ ।” फूल खेल्ने बेलामा पानी नपरेर फल लाग्नै नसकेको भन्दै सिँचाइका लागि पानी नहुँदा उत्पादनमा कमी आएको उहाँको बुझाइ छ ।

“यहाँ सिँचाइका लागि पानीको मुहान पर्याप्त छैनन्, एकमात्र कुवाको पानी गाउँलेले पिउनुपर्ने र वस्तुभाउलाई खुलाउनुपर्ने बाध्यता छ”, अधिकारीले भन्नुभयो, “त्यही मुहानबाहेक अरु छैन, सिँचाइका लागि पानी अभाव छ ।” आकाशे पानीको भरपर्नुपर्ने भए पनि आजकाल पानी पर्ने समय फेरिएको उहाँले बताउनुभयो ।

सुन्तला उत्पादन वृद्धि गर्न फूल खेल्ने बेलामा कृत्रिम परागसेचन गराउन प्रविधि प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । सुन्तलाको परागसेचनका लागि प्राकृतिक भए उत्कृष्ट भन्दै नेपालमा कृत्रिम परागसेचन गर्ने प्रविधि प्रयोगमा नआएको केन्द्रका सूचना अधिकारी किरण परियारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राकृतिक रूपमा हुने उत्पादन जैविक र सेवनका लागि उपयुक्त मानिन्छ । कृषिप्रधान देशमा यस्ता कृत्रिम प्रविधि कम प्रयोग हुन्छन्, वा प्रयोग नै हुँदैनन् । प्रकृतिमा परिवर्तन आउँदा किसान मारमा परेका छन् ।”

विकसित मुलुकमाभन्दा विकासिल मुलुकमा बढी जलवायु परिवर्तनको प्रभाव परिरहेको सूचना अधिकारी परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले जलवायु परिवर्तनको प्रभावका कारण यस्ता परिवर्तन भइरहेका भन्ने थाहा पाएका छैनन् । प्रत्यक्ष रूपमा खेतीबालीमा जलवायु परिवर्तनको प्रभाव परिरहेको छ ।” सुन्तलामा समस्या आएको किसानबाट गुनासो आउने गरेका भन्दै जलवायु परिवर्तनको प्रभाव भन्ने किसानले नबुझेकाले बुझाउन समस्या हुने गरेको उहाँले बताउनुभयो ।

सुन्तलामा विभिन्न सङ्क्रमणका कारण लाग्ने रोग र उपचार केन्द्रसँग नभएको परियारले बताउनुभयो । सामान्य रूपमा सङ्क्रमण न्यूनीकरणका उपाय अनाउने र किसानलाई सिकाउने गरिएको, सिँचाइलाई बढी प्राथमिकता दिन सुझाव दिने गरिएको केन्द्रले जनाएको छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले विगतमा छदेखि आठ सय मिटरसम्मको उचाइ सुन्तला उत्पादन राम्रो हुने गरेको बताउनुभयो । “अहिले बिस्तारै तापक्रम बढ्दै गएको छ, नौ सय मिटरभन्दा तलका क्षेत्रमा सुन्तला उत्पादन कम भएका छन्”, उहाँले भन्नुभयो, “सुन्तला उत्पादनका लागि मौसम चिसो आवश्यक पर्दछ । पहिला उपयुक्त मौसम थियो, अहिले यहाँको तापक्रम बढ्दो छ, जसले उत्पादन कम हुँदै गएको छ । कतिपय ठाउँमा उत्पादन हुनै छाडेका छन् ।”

नौ सय मिटर उचाइभन्दा माथिका स्थानमा सुन्तला उत्पादन राम्रो भएको पाइएको प्रमुख लामिछानेले जानकारी दिनुभयो । गुञ्जारका सुन्तलाखेती सातदेखि आठ मिटर उचाइमा गरिएका छन्, ती क्षेत्रभन्दा माथिल्लो क्षेत्र उमाचोकमा करिब नौ सय मिटर उचाइमा रहेकाले यहाँ प्रशस्त उत्पादन हुने उहाँको भनाइ छ ।

उहाँका अनुसार जिल्लाका सुन्तला पकेट क्षेत्रमध्ये नौ सय मिटर उचाइ माथिका म्याग्दे गाउँपालिका–२ उमाचोक, देवघाट गाउँपालिका–२, ३ नम्बर वडामा सुन्तलाखेती प्रशस्त भइरहेको छ । त्यस्तै ऋषिङ गाउँपालिका, घिरिङ, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका क्षेत्रक सुन्तला उत्पादनका लागि उपयुक्त मानिएको उहाँले उल्लेख गर्नुभयो ।

केन्द्रका प्रमुख लामिछानेका अनुसार देवघाट क्षेत्रमा बढी उचाइमा उत्पादन हुने भएकाले यस क्षेत्रका सुन्ताला स्वादिला र रसिला रहेका कृषि ज्ञान केन्द्रको अध्ययनले देखाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>