समाचार

सहकारी प्राधिकरणद्वारा काम सुरु

Banner

काठमाडौं, माघ १४-

सहकारी सम्बन्धी अध्यादेश मार्फत गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले काम थालेको छ ।

सोमबार प्राधिकरण कार्यालय स्थापनामात्र भएन, प्राधिकरणका अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको अध्यक्षतामा पहिलो सञ्चालक समिति बैठक पनि बसेको छ । प्राधिकरणको पहिलो सञ्चालक समिति बैठकले सहकारी नियमन सम्बन्धी अध्ययन गरी मापदण्ड सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए ।

यसअघि सहकारी ऐनको दफा १०३ग बमोजिम मन्त्रिपरिषद्ले पोखरेललाई प्राधिकरणको पहिलो अध्यक्ष नियुक्त गरेको थियो । लोकसेवा आयोग अध्यक्षको संयोजकत्वमा हुने सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले नियुक्त गरेको व्यक्ति प्राधिकरण अध्यक्ष हुने व्यवस्था उक्त दफामा छ । प्राधिकरण अध्यक्ष कुनै कारणबस रिक्त भए सरकारको विशिष्ट श्रेणीको कर्मचारीलाई अध्यक्षका रूपमा काम गर्न तोक्ने व्यवस्था पनि उक्त दफामा छ । सोही अनुसार पोखरेललाई अध्यक्ष भई काम गर्ने गरी सरकारले तोकेको छ ।

त्यस्तै, सहकारी मन्त्रालयका सहसचिव मदन कोइराला र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल प्राधिकरण सञ्चालक समिति सदस्य नियुक्त भएका छन् । पाँच जनाको सञ्चालक समितिमध्ये दुई सदस्य भने नियुक्त हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>