मनोरञ्जन
ट्रेण्डिङको पहिलो नम्बरमा तीज गीत ‘काली पसम कि’

चितवन, साउन १३-
साउन महिना लागेसँगै तीज गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । सार्वजनिक तीज गीतका नाममा उत्ताउला र विकृतिजन्य गीतहरु आइरहेको गुनासो पनि बढीरहेको छ । तर यहि भीडमा नेपाली समाजले हेर्न र सुन्न चाहेको वास्तविक तीज गीत ‘काली पसम कि’ सार्वजनिक भएको छ । गीत प्रेम सापकोटा सोनुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक भएसँगै उल्लेखनिय भ्यूज पाउँदै गीतले ट्रेण्डिङको पहिलो नम्बरमा यात्रा गरिरहेको छ । युट्युबमा गीतको सम्पूर्ण पक्षको तारिफ गरिएको छ । सामाजिक सञ्जालमा पनि धेरैले यो गीत शेयर गर्दै ‘यो वर्षको अहिले सम्मको उत्कृष्ट गीत’ लेखेका छन् । कतिपयले ‘यहि गीतले यो वर्षको तीज कब्जा गर्ने’ भन्दै गीतलाई शेयर गरेका छन् ।
प्रेम सापकोटा ‘सोनु’ को शब्द तथा संगीत रहेको गीत वास्तवमै मर्मश्पर्शी छ । गायिका शान्तिश्री परियारको स्वरले गीतको प्राण भरेको छ । बिनोद बाजुरालीले संगीत संयोजन गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ गरेका हुन् । विवाहित नारीले श्रीमानबाट भोगेको हिंसा त्यसपछि निम्त्याउने अन्य समस्याहरुलाई गीतमा उतारिएको छ ।
























