समाचार
ठोरीमा पर्यटन डिजिटल डेस्क स्थापना, पर्यटकले क्युआर स्क्यान गरी पर्यटकिय स्थलबारे थाहा पाउने

चितवन, असार २७-
ठोरी जंगल रिसोर्टका अध्यक्ष एवम् ठोरी गाउँपालिका–२ का पर्यटन व्यवसायी सुदीप थापाका दम्पतीले आफ्नो १४औं वैवाहिक वर्षगाठको उपलक्ष्यमा ठोरीमा डिजिटल डेस्क स्थापना गरेका छन् । ठोरी गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले डिजिटल डेस्कको उद्घाटन गरेका हुन् ।
ठोरी आउने पर्यटकलाई लक्षितगरी ठोरीका सम्पूर्ण पर्यटकिय स्थल, त्यहाँ सम्म पुग्ने बाटो (लोकेशन), त्यस ठाँउको बारेमा जानकारी, त्यस स्थानको चित्रहरुसंगै महत्वपुर्ण सम्पर्क नम्बरलाई एकिकृत गरी क्युआर कोड तयार गरिएको छ । उक्त क्युआर कोडलाई डिजिटल डेस्कमा राखिएको छ । मोबाईलबाट क्युआर कोड स्क्यान गरेपछी गाउँपालिकाका सबै पर्यटकिय स्थलबारे जानकारी पाउन सकिने सुदिप थापाले बताए ।
गाउँपालिकाका अध्यक्ष श्रेष्ठले ठोरीमा युवाहरुले गरेको कामले स्थानीय सरकारको पर्यटन अभियान सफल बनाउन सहयोग पुग्ने बताए । स्थानीय सरकार मात्र नभई ठोरीका हरेक नागरीक आफ्नो ठाउँको प्रवर्द्वनमा लाग्नुपर्ने उनले धारणा राखे ।
गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मीले ठोरीमा पर्यटक बढ्दो क्रममा रहेकाले यस्ता कार्यक्रम सरकार, निजी क्षेत्र र स्थानीय जनता मिलेर गर्नुपर्ने बताइन् । ठोरी जंगल रिसोर्टका निर्देशक धिरसिंह घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा ठोरी गाँउपालिका–२ का वडा अध्यक्ष, निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष, समृद्ध ठोरी अभियानका संयोजक, नेकपा एमाले ठोरीका अध्यक्ष, रास्वपा ठोरीका अध्यक्ष, होमस्टेका अध्यक्ष, भारत बिहार मौराहा क्षेत्रका पर्यटन व्यवसायी लगायतले धारणा राखेका थिए ।
























