Breaking News

चितवनका पाँच विद्यालयको एसइईको नतिजा शुन्य

Banner

चितवन, असार १७–

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चितवनका पाँच विद्यालयको नतिजा शुन्य रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइईको नतिजामा जिल्लाका पाँच वटा सामुदायीक विद्यालयको नतिजा शुन्य आएको हो ।

इच्छाकामना गाउँपालिकाका तीन, भरतपुर महानगरपालिका र राप्ती नगरपालिकाका एक/एक वटा विद्यालयको नतिजा प्रतिशत शुन्य रहेको शिक्षा तथा समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिए । उनका अनुसार इच्छाकामनाको जनप्रिय माध्यमिक विद्यालय काउले, माध्यमिक विद्यालय ढुङ्गे, माध्यमिक विद्यालय माझगाउँ, भरतपुर महानगरपालिकाको रामनगर माध्यमिक विद्यालय र राप्ती नगरपालिकाको गणेश माध्यमिक विद्यालय देउरालीटारको नजिता शुन्य छ ।

शुन्य नजिता आएका विद्यालयमा रामनगर मावि बाहेक दुर्गम ठाउँका विद्यालय हुन् । यी चार वटा सामुदायिक विद्यालयमा अधिकांश सिमान्तकृत चेपाङ समुदायका बालबालिकाले अध्ययन गर्दै आएका थिए । रामनगर माविबाट २०, गणेश माविबाट २०, माध्यमिक विद्यालय ढुंङ्गेबाट १८, माझगाउँ माविबाट १६ र जनप्रिय माविबाट १३ जनाले परीक्षा दिएका थिए । चितवन जिल्लामा सामुदायिक तर्फ सबैभन्दा धेरै नारायणी नमुना माध्यमिक विद्यालयले विद्यार्थी पास गराएको छ । यो विद्यालयको पास प्रतिशत ९०को हाराहारीमा रहेको सुवेदीले जानकारी दिए । सामुदायिक विद्यालयकोभन्दा संस्थागत विद्यालयको पास प्रतिशत राम्रो रहेको उनले बताए । ‘अहिले नै सबै विद्यालयको ग्रेड अनुसार नजिता छुट्टाएका छैनौँ । यो सार्वजनिक गर्नुपनि त्यति उपयुक्त नहोला,’ सुवेदीले भने ‘छानि छानि भर्ना लिने विद्यालयहरुसंग अरु विद्यालयको नतिजा तुलना गर्नु राम्रो पनि हुँदैन ।’ समग्रमा चितवनमा यस वर्ष ४ हजार ७ सय ९१ जना विद्यार्थी अनुउत्तीर्ण भएका छन् ।

जिल्लामा यस पटकको एसइईमा उत्तीर्ण प्रतिशत दर ५६ प्रतिशत छ । जिल्लाबाट दश हजार ८ सय ३२ जना विद्यार्थीले परीक्षा दिएकोमा छ हजार ४१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । संख्यात्मक रुपमा उत्तीर्ण विद्यार्थीको संख्या कम भएपनि गुणात्मक रुपमा चितवनको नतिजा गत वर्षभन्दा राम्रो रहेको सुवेदीको भनाई छ ।

उत्तीर्ण मध्ये १६ जनाले ४ जिपिए ल्याएका छन् । गत वर्ष चितवनमा ६ जनाले मात्र ४ जिपिए ल्याएका थिए । यस्तै, जिल्लामा ‘ए’ प्लस ल्याउने विद्यार्थीको संख्या १ हजार ६ सय ९२ रहेको छ । यो संख्या अघिल्लो वर्षभन्दा ४ सय ८१ जनाले बढी हो । ‘ए’ ग्रेड ल्याउनेको संख्या १ हजार ९ सय ९९ रहेको छ । अघिल्लो वर्ष १ हजार ५ सय ९९ जना रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

जिल्लामा ४ जिपिए ल्याउने विद्यालयमा संस्थागत विद्यालय बढी छन् । ९ वटा संस्थागत विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याउन सफल हुँदा सामुदायिक तर्फका २ वटा विद्यालयका विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन् । सामुदायिक विद्यालय तर्फ चितवन माध्यमिक विद्यालय र बालकुमारी कन्या माध्यमिक विद्यालयका विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन् । ननग्रेडमा परेका विद्यार्थीले ग्रेड वृद्धि परीक्षा (पूरक परीक्षा) दिन पाउँछन् । यसका लागि सरकारले साउन २३ गतेदेखि परीक्षा तोकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>