चितवन विशेष

चितवनको पर्यटकिय स्थल परेवाकोटमा पूर्वाधारको अभाव

Banner

निरुता विक,

चितवन, असार १७-

प्राकृतिक सम्पदाले भरिपूर्ण एवम् चेपाङ र तामाङ जातिको बसोवास रहेको परेवाकोट सम्भावना बोकेको पर्यटकीय ठाउँ हो । राप्ती नगरपालिका–१ मा पर्ने पर्यटकीय गन्तव्य परेवाकोटको प्रचारप्रसार हुन सकेको छैन । त्यसमाथि यहाँ पर्याप्त पूर्वाधारको पनि अभाव रहेको छ।

राप्ती नगरपालिकाअन्तर्गत लोथरबाट उकालो चढेपछि करिब ९ किलोमिटर उत्तरतर्फ पर्छ परेवाकोट । राजमार्गबाट यहाँ पुग्ने आधा भन्दा बढी सडक कच्ची छ । आदिवासी जनजाति समुदाय चेपाङ र तामाङ जातिको पुरानो थलो हो परेवाकोट । प्राकृतिक रूपले सुन्दर परेवाकोटमा पर्यटक तान्न भने सकिएको छैन ।

एक पटक आएका पर्यटक फर्केर विरलै आउने गरेका छन् । पर्यटकलाई घुम्नका लागि प्राकृतिक सुन्दरतासँगै पूर्वाधारले पनि उत्तिकै महत्व राख्छ । यहाँ सहज रुपले पुग्न यातायातकै अभाव छ । यहाँको पूर्वाधारको विकासमा सरकारको ध्यान नदेखिएको देखिन्छ । राप्ती–१ का वडा अध्यक्ष सिद्धिलालले स्याङतानले पर्याप्त बजेटको अभावका कारण परेवाकोटबासीले पूर्वाधारको अभाव खेप्नु परेको बताउनुभयो । पक्कि सडकको पहुँच नहुनाले पर्यटकको आवगमन निकै कम भएको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सडक निर्माण थालिएको धेरै समय हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन । राजमार्गबाट ९ किलोमिटर रहेपनि ५ किलोमिटरमात्र पिच गरिएको छ ।’ सडक निर्माणको लागि प्रदेश सरकारबाट २५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको उहाँको भनाई छ ।

नगरपालिकाले यस क्षेत्रको विकासमा चासो नदिँदा पनि पर्यटकिय स्थल परेवाकोट ओझेलमा परेको उहाँले बताउनुभयो । उहाँका अनुसार यहाँ २१० घरधुरी रहेका छन् । यहाँ निर्माण गरिएको भौतिक संरचनाको संरक्षण समेत गरिएको छैन । आगामी आवमा यस क्षेत्रको विकासले फड्को मार्ने अध्यक्ष स्याङतानको विश्वास छ । उहाँले भन्नुभयो, ‘परेवाकोटमा दुईवटा होमस्टे (घरबास)सञ्चालन थियो । पर्यटकको अवागमन कम भएकोले अहिले एउटामात्र होमस्टे सञ्चालनमा छ ।’

यहाँ पूर्वाधार विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने व्यवसायीहरू बताउँछन् । त्यसका लागि स्थानीयसँग प्रदेश र संघीय सरकारले पनि योजना ल्याउनुपर्ने उनीहरूको भनाइ छ । परेवाकोटमै होमस्टे सञ्चालन गर्दै आउनुभएका धनबहादुर मास्के श्रेष्ठले प्राकृतिक सम्पदाले भरीपुर्ण परेवाकोटमा राज्यले चासो नदेखाएको गुनासो गर्नुभयो ।

सडक, खानेपानी र बिजुलीको सुविधा नहुँदा पर्यटकको संख्यामा कमी आएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘राजमार्गबाट परेवाकोटसम्म आउने सडकको असहजताको कारण पर्यटकको इच्छा भएपनि यहाँ आउन सक्दैनन् । खानेपानी, बिजुली पर्याप्त नहुँदा यहाँ आउने पर्यटक र स्थानीयले समस्या खेपिरहनुपरेको छ ।’ उहाँले सडक, खानेपानी, बिजुली र भौतिक पूर्वधारको विकास भए यहाँ पर्यटकको संख्या उल्लेख्य बढ्ने विश्वास लिनुभएको छ ।

उहाँका अनुसार परेवाकोटमा दैनिक २०–३० जना पर्यटक अवलोकनको लागि आउँछन् । यहाँ भ्यू–टावर, जेपी पार्क, परेवाश्वरी मन्दिर छ । यी संरचनाहरु दयनीय अवस्थामा छन् । परेवाकोट आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेपनि भौतिक पूर्वाधारको अभाव र सडक बाटोको सहज व्यवस्था नहुँदा प्रवर्द्धन हुन सकेको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>