अन्तर्राष्ट्रिय

यो हो संसारकै लामो साइकल, लम्बाइ ५५ मिटर

Banner

काठमाडौँ, असार १६-

नेदरल्याण्डका इन्जिनियरहरूले डिजाइन तथा निर्माण गरेको यो साइकल चारवटा डबल डेकर बस जत्तिकै लामो छ । संसारकै सबैभन्दा लामो गुडाउन लायक यो साइकलको लम्बाइ १८० फिट अर्थात् ५५.१६ मिटर छ ।

३९ वर्षीय इभान शाल्कले बच्चै रहँदा गिनिज बुकका बारेमा पढ्थे र त्यो बेला उनलाई विश्वकै सबैभन्दा लामो साइकल बनाउने इच्छा जागृत भएको थियो । तर, उनले दुनियाँकै लामो साइकल बनाउने कामचाहिं सन् २०१८ मा मात्रै सुरु गरे ।

नेदरल्याण्डको प्रिन्सेनबिक गाउँमा बस्ने इभान आफु मात्रैले लम्बेतान साइकल बनाउन सम्भव थिएन । त्यसैले उनले आफ्नो जस्तै सोचाइ भएका गाउँका साथीभाइहरूसँग सहयोग मागे । प्रविधिमा निकै रुचि राख्ने गाउँलेहरुको सहयोगमा लगातार ४ वर्षसम्म काम गरियो। त्यसबीचमा २ वर्ष त कोभिडका कारण काम हुन पाएन । उनीहरुको कडा मेहेनतले धातुबाट बनेको संसारकै लामो साइकल तयार भयो । सो साइकल चलाउनका लागि कम्तिमा दुईजना चालक चाहिन्छ।

सुरुमा गिनिज बुकले आफ्नो नियमका आधारमा उनीहरूले बनाएको उपकरणलाई साइकलको मान्यता दिएको थिएन । तर पछि उनीहरूले त्यसको डिजाइनमा केही परिमार्जन गर्दै दुईजना मात्रै चढ्न मिल्ने बनाए । त्यसपछि यसले साइकलको मान्यता पायो ।

संसारको सबैभन्दा लामो साइकल बनाउने सपना पूरा भएसँगै इमान खुसी छन् । साइकलको अगाडि र पछाडि भाग जोड्ने लामो खण्ड उनीहरूले स्थानीय एक धातु कम्पनीबाट भाडामा लिएका थिए । त्यसलाई उनीहरूले फिर्ता गरेका छन् भने कीर्तिमानी साइकलको बाँकी भागलाई स्थानीय संग्राहलयमा राखिएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>