समाचार

गण्डकीमा बाढी पहिरोबाट चार दिनमा ११ जनाले ज्यान गुमाए

Banner

चितवन, असार १५-
अविरल वर्षापछिको शुक्रबार राती आएको पहिरोले घर पुरिँदा पुरिएर स्याङ्जा र बागलुङमा गरि चार जनाको ज्यान गएको छ। मृतक मध्ये एकजना बालिका, दुई जना महिला र एकजना पुरुष रहेको प्रहरीले बताएको छ। गण्डकी प्रदेश प्रहरीका कार्यालयका अनुसार बाढी पहिरोमा परेर गण्डकी प्रदेशमा चारदिनको अवधिमा ११ जनाको ज्यान गएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार स्याङ्जाको फेदीखोला गाउँपालिका– ५ बाँगे स्थित दुर्गा जिटीको घर शुक्रबार रातीको पहिरोले पुरिएको थियो। घरबाट करिब २५ मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा ३१ वर्षिया दुर्गा जिटी र उनकी छोरी वर्ष ३ की निसिका जिटीको ज्यान गएको प्रहरीको भनाई छ।

पहिरोले पुरिएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घरमा छोराछोरीसँगै बस्दै आएको भएपनि ८ वर्षीय छोरा निर्देश जिटी आफन्तको घरमा सुत्न गएकोले जोगिएको प्रहरीले बताएको छ । दुर्गाका पति वैदेशिक रोजगारका लागि विदेशमा छन्। त्यस्तै बागलुङमा पनि पहिरोले पुरिँदा दम्पतीको ज्यान गएको छ। बागलुङको गल्कोट नगरपालिका– ८ बिसौनाका ५५ वर्षीय प्रेम बिकको कच्ची घर पहिरोले पुरिएको थियो।

पहिरोले घर पुरिँदा प्रेम र उनकी ५० वर्षिया श्रीमती बसन्ती बिकको ज्यान गएको प्रहरीको भनाई छ। घरमा चार जना बस्दै आए पनि प्रेमकी बुहारी र नातिको भनो सकुशल उद्धार गरिएको प्रहरीको भनाई छ। घर भन्दा करिब ३ सय मिटर माथिबाट झरेको पहिरोले गोठ समेत पुरिएकोमा भैँसी र बाख्रा पनि मरेका छन्।

त्यस्तै पहिरोले घर सहित पसलमा क्षति गरेको छ। बागलुङ जैमिनी नगरपालिका– ५ स्थित ठेउले खोलामा पानीको बहाव बढ्न जाँदा खोलाछेउमा रहेको ४२ वर्षीय मञ्जु श्रेष्ठको किराना पसल बगाएको पनि प्रहरीको भनाई छ। मनसुन सुरु भएपछिको बाढी पहिरोमा परेर गण्डकी प्रदेशमा पछिल्लो एकसाता अवधिमा ११ जनाको ज्यान गएको छ। गत मंगलबारको बाढी पहिरोले घर पुरिँदा लमजुङ र कास्कीमा गरि सात जनाको ज्यान गएको थियो। पहिरोमा परेर लमजुङमा दुई जना बालिका सहित पाँच जनाको ज्यान गएको थियो भने कास्कीमा दुई जना बालबालिकाको ज्यान गएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>