Breaking News

धेरै मिहेनतपछि मल आउँदैछ, यो वर्ष अभाव हुँदैनः प्रधानमन्त्री प्रचण्ड

Banner

भरतपुर,असार १५-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानलाई मलको अभाव हुन नदिने बताएका छन्। २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसर पारेर शनिवार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गरे।

यस वर्ष पनि मलको आवश्यक व्यवस्था हुने प्रधानमन्त्रीको भनाइ थियो। ‘मलको उचित व्यवस्थापनले मात्रै उत्पादन वृद्धिलाई मद्दत गर्नसक्छ। त्यसमा पनि नेपाल सरकारको गहिरो ध्यान छ। अहिले मलको कमी हुन नदिनका निम्ति धेरै मेहनतपछि अब मल आउँदैछ। तर त्यो मल आइसकेपछि पनि वितरण प्रणाली व्यवस्थित भएन भन्ने जनगुनासो पनि मैले सुनेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो वितरण प्रणालीलाईं व्यवस्थित गर्ने हो भने गत साल पनि मलको धेरै हाहाकार भएको होइन। मल आवश्यक मात्रामा व्यवस्था गरिएको हो। र यस वर्ष पनि मलको व्यवस्था हुन्छ। यो पनि एउटा तत्व हो भने उचित बीउबिजनको विकास पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ।’

वितरण प्रणालीमा समस्या हुँदा मलको अभाव भएजस्तो देखिएको उल्लेख गर्दै अब त्यस्तो समस्या पनि आउन नदिने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। चितवनको खेतीबालीको लागि आवश्यक सिंचाईको व्यवस्था गर्न त्रिशूली नदीको पानी टनेल खनेर शक्तिखोर पुर्‍याउने विषयमा पनि सरकारले छलफल सुरू गरेको उनले जानकारी गराए।

‘हामी कृषि दशक घोषणा गरेको सन्दर्भमा यहाँ केन्द्रित छौँ। तर मैले खेतीवाली विकासको निम्ति अनिवार्य तत्वहरु मध्ये एउटा र महत्त्वपूर्ण कुरा सिंचाई हो। सिंचाई सुविधा चितवनवासी जनताालाई प्राप्त होस भन्नका लागि मैले गरेको पहल यहाँ बताइयो,’ उनले भने, ‘समग्र जिल्लाको सिंचाईको विकासको निम्ति त्रिशुली नदीलाई टनेलबाट शक्तिखोर निकाल्नेबारे पनि अहिले सरकारको विभिन्न स्तरमा छलफल चलिराखेको छ। त्यो भयो भने त्यसले धेरै चिज गर्न सक्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>