कृषि

धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै

Banner

धरान (सुनसरी), असार १५-

धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट व्यापारी आउने गरेका छन् ।

मोरङको केराबारी गाउँपालिकाबाट खसी, बोका बिक्री गर्न धरान आउनुभएका जय लिम्बूले दुई वर्षदेखि पशुपालन गर्दै आउनुभएको छ । “केराबारीमा महिनाको दुई पटक खसी, बोका बिक्री गर्दै आएको छु । यहाँ पहिलो पटक आएकाले चार वटा खसी मात्र ल्याएको छु”, उहाँले भन्नुभयो, “साना खसी रहेकाले जोडीको रु १५ हजारमा बिक्री गरिरहेको छु ।” उहाँका अनुसार अहिले फार्ममा १६ वटा खसी छन् ।

धनकुटा सागुडीगडी–७ का किसान ममता राईले धरानस्थित कृषि बजारमा खसी, बोका बिक्री गर्न सधैँ आउने गरेको सुनाउनुभयो । खसी, बोका बिक्रीबाट वार्षिक रु छ लाखभन्दा बढी आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो । पशुपालन पुख्र्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइएको राईले बताउनुभयो । “घाँसभन्दा अन्न र दाना बढी खुवाउने गरेकी छु । घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि प्रशस्त नाफा हुने गरेको छ”, उहाँले भन्नुभयो ।

मोरङको कानेपोखरीबाट व्यापारी चन्द्र खड्का प्रत्येक साता कृषि बजारमा खसी, बोका किन्न आउनुहुन्छ । एक सयदेखि एक सय ५० वटासम्म खसी, बोका किनेर लैजाने गरेको उहाँले जानकारी दिनुभयो । “यहाँबाट किनेका खसी, बोका जिल्ला बाहिर निर्यात गर्दै आएको छु । यसरी खसी, बोका खरिद गरी बिक्री गर्न थालेको २३ वर्ष भइसकेको छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरूवा पोखरालगायत क्षेत्रमा खसी, बोका बिक्री गर्ने गरेको खड्काले सुनाउनुभयो । उहाँका अनुसार सबै खर्च कटाएर मासिक रु ७० हजारसम्म नाफा हुने गरेको छ ।

बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सतामा करिब तीस हजारभन्दा बढी खसी, बोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको असारको १० गतेसम्ममा रु दुई अर्बको कारोबार भएको छ ।

व्यवस्थापक अध्यक्ष भट्टराईले भन्नुभयो, “पछिल्लो समय धरानमा पशुपालन बढेसँगै खसी, बोकाको किनबेच पनि बढिरहेको छ । वार्षिक एक लाख ६० हजार वटासम्म बिक्री हुने गरेको छ ।” धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट कृषक तथा व्यापारी किनबेचका लागि यहाँ आउने गरेका उहाँको भनाइ छ । यहाँबाट मुलुकको ठूला सहरका साथै भारतसम्म खसी, बोका निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>