चितवन विशेष

चितवन रत्ननगरका दलित महिला सदस्यलाई उद्घोषण तालिम

Banner

चितवन, असार १४-

पूर्वी चितवनको रत्ननगरमा उद्घोषण तथा व्यक्तित्व विकास तालिम सुरु भएको छ ।

बागमी प्रदेश सरकारको आर्थिक सहयोगमा विपन्न दलित सशक्तिकरण कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिकाका दलित महिला सदस्यका लागि दुई दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सुरु भएको हो ।

नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको तालिममा उपमेयर यादवप्रसाद पाठकले उद्घाटन गर्दै दलित महिला सदस्यलाई अधिकार र विकास निर्माणका विषयमा अग्रसर बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्षमता कमजोर हुँदा महिला सदस्यहरुले जिम्मेवारी पुरा गर्न सकेको छैन । आफ्नो समुदाय र वडाको विकासका लागि महिलालाई सक्षम बनाउनु पर्छ ।’ उहाँले दलित महिला सदस्यले पद अनुसारको काम गर्न नसकेको उल्लेख गर्दै वडामा सशक्त उपस्थिति देखाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको लागि मन्त्रालयले विनियोजन गरेको ५ लाख २५ हजार र रत्ननगरले ७३ हजार ७०० गरेर ५ लाख ९८ हजार रकम रहेको छ । कार्यक्रममा दलित समुदायको परम्परागत सीप र पेशाको संरक्षण, विकास, हस्तान्तरण र पुस्तान्तरणको लागि योजना बनाएर काम सुरु गरिएको महिला विकास अघिकृत घिमिरेले जानकारी दिनुभयो ।

महिला विकास अधिकृत दीपा घिमिरेले महिला सदस्यहरुको व्यक्तित्व विकास गरी उनीहरुलाई नगरको विकासमा क्रियाशिल गराउने उद्देश्यले उद्घोषणकला तालिम आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यपालिका सदस्य, दलीत महिला सदस्य र समन्वय समिति गठन भएका वडा समितिका पदाधिकारी गरी ३५ जनाको सहभागिता रहेको सो तालिममा सञ्चारकर्मी गोपाल विश्वकर्माले सहजीकरण गर्नुभएको छ । उहाँले तालिममा सहभागीहरुलाई बोल्नेकलाको लागि सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने बताउनुभयो।

सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य राजेन्द्र हमालले स्वागत मन्तव्य राख्नुभएको थियो । उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य एशोदा पौडेल, बविता चौधरीलगायतको उपस्थिति रहेको थियो ।

बागमति प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयले दलित समुदायको क्षमता विकास, उनीहरुको परम्परागत पेशाको संरक्षणको लागि विपन्न दलित सशक्तिकरण कार्यक्रम प्रदान गरेको हो । कार्यक्रमको पहिलो दिनमा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाका अध्यक्ष श्याम बिक, कार्यसमित सदस्य निरुता बिक र रोहन बिकले समेत आफ्नो अनुभव भोगाइ र ब्याक्तित्व बिकासका केही महत्त्वपूर्ण भानाइ राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>