Breaking News

एसईईमा चितवनबाट ५६ प्रतिशत विद्यार्थी उत्तिर्ण, १६ जनाले ल्याए ४ जिपिए

Banner

चितवन, असार १३-

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चितवनबाट ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार, जिल्लाबाट दश हजार आठ सय ३२ जना विद्यार्थीले परीक्षा दिएकोमा छ हजार ४१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

संख्यात्मक रुपमा उत्तीर्ण विद्यार्थीको संख्या कम भएपनि गुणात्मक रुपमा चितवनको नतिजा गत वर्षभन्दा राम्रो रहेको शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिनुभयो । उत्तीर्ण मध्ये १६ जनाले ४ जीपीए ल्याएका छन् । गत वर्ष चितवनमा ६ जनाले मात्र ४ जीपीए ल्याएका थिए ।

यस्तै जिल्लामा ए प्लस ल्याउने विद्यार्थीको संख्या एक हजार ६ सय ९२ रहेको छ । यो संख्या अघिल्लो वर्षभन्दा चार सय ८१ जनाले बढी हो । ए ग्रेड ल्याउनेको संख्या एक हजार नौ सय ९९ रहेको छ । अघिल्लो वर्ष एक हजार पाँच सय ९९ जनाले ए ग्रेड ल्याएका सुवेदीले जानकारी दिनुभयो । जिल्लामा यस वर्ष चार हजार सात सय ९१ जना विद्यार्थी अनुउत्तीर्ण भएका छन् ।

चितवनमा ४ जीपीए ल्याउने विद्यालयमा संस्थागत विद्यालय बढी छन् । ९ वटा संस्थागत विद्यालयका विद्यार्थीले ४ जीपीए ल्याउन सफल हुँदा सामुदायिक तर्फका २ वटा विद्यालयका विद्यार्थीले मात्र ४ जीपीए ल्याएका छन् । सामुदायिक विद्यालयतर्फ चितवन माध्यमिक विद्यालय र बालकुमारी कन्या माध्यमिक विद्यालयका विद्यार्थीले मात्र ४ जीपीए ल्याएका छन् ।

संस्थागत विद्यालयतर्फ देवी सेकेण्डरी स्कुल खैरहनी, नारायणी पब्लिक स्कुल भरतपुर, लिटल फ्लावर, अर्किड र स्मल हेभन मोडेल स्कुलबाट २/२ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यस्तै पञ्चकन्या विद्यामन्दिर शिवनगर, स्काइ राइडर, पोलार स्टार र अरोमा माध्यमिक विद्यालयबाट १/१ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>