देश/प्रदेश

सडक मानव व्यवस्थापनका लागि ‘हाम्रो माया घर’

Banner
महोत्तरी, असार १२ –
अनाथ बालबालिका र सडक मानव व्यवस्थापनका लागि महोत्तरीको बर्दिबासमा ‘हाम्रो माया घर’ निर्माण थालिएको छ । करिब रु ११ करोड ५० लाखको लागतमा निर्माण थालिएको हुने उक्त भवनको जग्गा व्यवस्थापन र पक्की पर्खाल तयार भइसकेको छ ।
“दाताहरुको सहयोगमा बर्दिबास–२ मा रु एक करोड ५० लाख मूल्य बराबरको जग्गा प्राप्त गरेपछि घेराबेराका लागि पक्की पर्खाल बनाएका छौँ”, ‘हाम्रो माया घर’ बर्दिबासका अध्यक्ष कृष्णप्रसाद गौतमले भन्नुभयो, “अब भवन निर्माणको चरणमा छौँ ।” भवन निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डिपीआर) बनेसँगै विभिन्न दाताबाट सहयोग प्राप्त भइरहेकाले यथशीघ्र भवन निर्माण हुने उहाँको भनाइ छ ।
“हामीलाई दाताहरुले सम्पर्क गरेर सहयोग जुटाउने प्रतिबद्धता गरिरहनु भएको छ । स्थानीय तह र प्रदेश सरकारसँग पनि सहयोगका लगि आग्रह गरेका छौँ”, अध्यक्ष गौतमले भन्नुभयो, “अहिले व्यक्तिगत रुपमा दाताबाट प्राप्त सहयोगले काम थाल्ने तयारी गरेका छौँ ।”
यसैबीच ‘हाम्रो माया घर’ निर्माणार्थ सहयोग पु¥याउने उद्देश्यले जनस्तरबाट शिवपुराण महायज्ञ आयोजना गर्न लागिएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हीरालाल गौतमको अध्यक्षतामा ‘हाम्रो माया घर’ निर्माणार्थ एक सय एक सदस्यीय शिवपुराण महायज्ञ आयोजक मूलसमिति गठन गरी तयारी थालिएको छ ।
“हामीले जनस्तरबाट उक्त भवन निर्माणमा सहयोग गर्न महायज्ञ आयोजना गर्दैछौँ”, महायज्ञ मूलआयोजक समितिका अध्यक्ष हीरालालले भन्नुभयो, “यसका लागि मूलसमितिले १८ वटा विभिन्न उपसमिति बनाएर व्यवस्थितरुपमा काम अघि बढाएको छ ।” उहाँका अनुसार महायज्ञ आगामी साउन २१ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
शिवपुराणमा पाठ पारायण र कथा वाचन प्रसिद्ध पुराण वाचिका राधिका दासी नेतृत्वको पण्डित टोलीले गर्ने आयोजक समितिले जनाएको छ । महायज्ञमा रु २५ लाख खर्च हुने अनुमान गरिएको छ भने करिब रु दुई करोड रकम सङ्कलन हुने अपेक्षा गरिएको महायज्ञ आयोजक मूलसमितिका अध्यक्ष हीरालालले बताउनुभयो ।
एउटा तीन तले र अर्को दुई तले भवन निर्माण हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । दुई सय सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र सम्भव भएसम्म शिक्षाको प्रबन्ध गरिने समितिले जनाएको छ । भवन पाँच वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याइने योजना छ ।
“आफ्नै भवन तयार भएर सञ्चालन हुनु अघि पनि अनाथ बालबालिका र सडक मानवको अभिभावकत्व समितिले लिइरहने छ । उक्त समयसम्मका लागि इटहरीस्थित माया घरमा उनीहरुको व्यवस्थापन गर्नेछौँ”, माया घरका अध्यक्ष गौतमले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>