चितवन विशेष

पर्यटकको पर्खाइमा माडी कान्तिपुरको सामुदायिक होमस्टे

Banner

निरुता बि क,

चितवन, जेठ १२-

गन्धर्व समुदायको बस्ती रहेको चितवनको माडी नगरपालिका वडा नम्बर ८ कान्तिपुरमा होमस्टे (घरबास) सञ्चालन गरिएको हो । स्थानीय उत्पादनको प्रवद्र्धन र संस्कृति संरक्षणका लागि सञ्चालनमा ल्याइएको होमस्टेमा पर्यटकको प्रतिक्षा गर्दैछन् सञ्चालकहरु । यहाँ सूर्योदय कृषि सहकारी संस्था मार्फत सामूहिक खेती समेत गरिएको छ । यही ठाउँमा एक सय जना बढी क्षमताको होमस्टे सञ्चालनमा ल्याइएको हो । यहाँ रहेका छ वटा होमस्टे पूर्णरुपमा सञ्चालन रहेका छन् । अन्य होमस्टे निर्माणको चरणमा रहेका छन् । बागमती प्रदेश सरकार र माडी नगरपालिकाको अनुदान सहयोगमा यहाँ ४४ वटा घर निर्माण गरिएको छ । एकै प्रकृतिका घरहरुलाई एउटै रंगले सजाइएको छ ।
अयोध्यापुरी मध्यवर्ती उपभोक्ताका समितिका अध्यक्ष शिवजी गायकले ती सबै घर जग्गावालाको आफ्नै जमिनमा निर्माण गरिएको जानकारी दिनुभयो । बागमती प्रदेशले एउटा घरका लागि रु तीन लाख र माडी नगरपालिकाले रु एक लाख ५० हजार सहयोग गरेको उहाँले बताउनुभयो । अधिकांश गन्धर्व समुदायको बसोबास रहेको कान्तिपुर विश्वकर्मा, मगर, ब्राह्मण, क्षेत्री लगायतका जानजातिको सहभागितामा होमस्टे सञ्चालनमा ल्याइएको हो ।

अध्यक्ष गायकले पनि चार महिनादेखि यहाँ होमस्टे सञ्चालन गर्दै आउनुभएको छ । विसं २०२१ सालमा धादिङबाट बसाइँ सरेर माडीमा बस्न थाल्नुभएका उहाँले करिब १८ वर्ष पत्रकारिता क्षेत्रमा काम गर्नुभयो । उहाँले भन्नुभयो, ‘२०५७ सालबाट पत्रकारिता क्षेत्रमा काम सुरु गरेँ । काठमाडौँ, पोखरा, बुटवलमा बसेर विभिन्न मिडियामा काम गरेँ । विसं २०७५ सालमा कृषि र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आफ्नै गाँउमा फर्किएँ । र अहिले खेती किसानीका साथै होमस्टे सञ्चालन गर्दै आएको छु ।’

पत्रकारितामा स्नातक र राजनीति शास्त्रमा स्नाकोत्तर गर्नुभएका उहाँको परिवारमा सात जना हुनुहुन्छ । परिवारका सबै सदस्य मिलेर घरमा आउने पाहुनाको सेवामा लागि पर्ने गरेको उहाँ बताउनुहुन्छ । विगत चार महिनादेखि सञ्चालन रहेको होमस्टेमा हालसम्म करिब ७० जना बास बस्नका लागि आएको गायकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘होमस्टेको लागि दुईवटा कोठा छुट्टाएका छौँ । जहाँ चार जना बस्न मिल्छ । यहाँ आउने प्रायजसो पर्यटकले गाउँकै अर्गानिक खाना मन पराउनुहुन्छ ।’

यहाँ आउने पर्यटकलाई गुन्द्रुक भट्ट, लोकल कुखुराको मासु, माछालगायतका स्थानीय परिकार खुवाउने गरिएको गायकले बताउनुभयो । उहाँका अनुसार एक रात बस्नको लागि ६ सय रुपैयाँ, सादा खानालाई १५० रुपैयाँ, लोकल कुखुराको मासुसहितको खानालाई ३५० रुपैयाँ, ब्रोइलर कुखुराको मासुसहितको खानालाई तीन सय रुपैयाँ तथा नास्तालाई एक सय रुपैयाँ लिने गरिएको छ । यहाँ हिउँदको समयमा मुख्यतया पर्यटकको संख्या उल्लेख्य रहन्छ ।

चितवनका विभिन्न क्षेत्रसहित गोरखा, धादिङ, काठमाडौँलगायत देशका विभिन्न ठाउँ र विदेशी पर्यटक पनि यहाँ आउन थालेको गायक बताउनुहुन्छ । उहाँले छोटो समयमा थोरै लगानीमा राम्रो आम्दानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘होमस्टे सञ्चालन भएको तीन चार महिनामात्र भयो । विस्तारै पर्यटकको संख्या बढ्दै जाने अपेक्षा गरेका छौँ ।’ अहिले देशभरी नै आर्थिक मन्दी छाएको भन्दै उहाँले यस्तो अवस्थामा पनि पर्यटक आउनु सुखद् विषय भएको बताउनुभयो ।

होमस्टेका सञ्चालक भगवती पौडेलले स्थानीय अर्गानिक उत्पादन खुवाएर आफ्नो होमस्टेमा आउने पर्यटकलाई खुसी बनाएको बताउनुहुन्छ । यहाँ आउने धेरैजसो पर्यटकले लोकल अर्गानिक खाना खान मन पराउने गरेको उहाँको भनाइ छ । आफ्नै बारीमा लगाएको फलफूल तरकारी पर्यटकलाई खुवाउने गरेको भन्दै उहाँले धेरै भएमा बिक्रीसमेत गर्ने गरेको सुनाउनुभयो ।

विगत एक वर्षदेखि होमस्टे सञ्चालन गर्दै आउनुभएका उहाँले हालसम्म ६० जना पर्यटक बास बस्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सोचेजति पर्यटक नआए पनि विस्तारै पर्यटक बढ्दै जान्छ भन्ने विश्वास लिएको छु ।’ होमस्टे सञ्चालक तारा सुनारले विगत पाँच महिनादेखि होमस्टे सञ्चालन गर्दै आएको सुनाउनुभयो । पुख्र्यौली पेसा खेती किसानीले मात्र जीवन निर्वाह गर्न कठिन भएकोले होमस्टे सञ्चालन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘होमस्टे सञ्चालन गर्दा जीवन निर्वाह गर्न निकै नै सहज भएको छ । यसलाई थप विस्तार गर्दै जाने योजना छ । परिवारमा सबै खुसी हुनुहुन्छ । धेरै मेहनत पनि लाग्दैन । होमस्टे सजिलै चलाइरहेका छौँ ।’ यहाँ ५० लाखको लागतमा बागमती प्रदेश सरकारको सहयोगमा गन्धर्व सङ्ग्रहालय तथा सांस्कृतिक भवन समेत बनाइएको छ । सो भवन २५० जना सम्मको क्षमता छ ।

माडीमा वाल्मीकि आश्रम, वैकुण्ठ धाम, वैकुण्ठ ताल, सीता गुफा, गोद्दक, छरछरे, सोमेस्वर कालिका मन्दिरलगायत धार्मिक क्षेत्र रहेका छन् । माडी चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले घेरिएको पर्यटकीय क्षेत्र हो । यस क्षेत्रमा कृषि पर्यटनको उच्च सम्भावना रहेको छ । माडी माछापालनका लागि पकेट क्षेत्र पनि हो । अन्य कृषि उत्पादनमा पनि माडी अग्रस्थानमा रहेको छ ।

सामूहिक खेतीका लागि १०० बिघा जमिन एकीकृत गरिएको छ । एकीकृत गरिएका जमिन धेरै दलित समुदायको हो । त्यहाँ ८४ घर परिवार रहेका छन् । सहकारीले सामूहिक खेतीका लागि प्रदेश सरकार र स्थानीय तहसँग सहयोग जुटाएर आवश्यक कृषि औजार जोडेको छ । जसले खेती गर्न सहज र छिटो भएको स्थानीयको भनाइ छ ।
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले कान्तिपुरमा पछाडि परेको समुदायलाई प्रदेश र पालिकाले सहयोग गरेको बताउनुभयो । उहाँले होमस्टे र सामूहिक खेतीबाट यहाँका स्थानीयलाई जीविकोपार्जन गर्न सहज हुने र आयआर्जमा मद्धत पुग्ने विश्वास लिइएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>