पत्रपत्रिका

आँगनमै खानी र जडीबुटीको भण्डार, माल पाएर चाल नपाएको नेपाल

Banner

बैतडी, जेठ ११-

कृषि मलमा प्रयोग हुने ‘फस्फोराइट’ खानीदेखि क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायनयुक्त जडीबुटीका लागि बैतडी जिल्ला भण्डार मानिन्छ । यहाँ विभिन्न खनिज पदार्थका अतिरिक्त उपयोगी जडीबुटीसमेत पाइन्छ ।

खानी र जडीबुटीको उपयोग नहुँदा माल पाएर पनि चाल नपाए जस्तै गरी युवा रोजगारीको खोजीमा विदेश पलायन हुन थालेका छन् । युवा जनशक्ति पलायन हुँदा गाउँमा वृद्ध, महिला, केटाकेटीबाहेक कोही भेटिँदैनन् । अधिकांश युवा कामको खोजीमा भारत जाने गरे पनि पछिल्लो समय खाडी मुलुक र मलेसिया जानेको सङ्ख्या बढेको छ । मलेसिया गएका सिगास गाउँपालिका–१ का लोकराज भट्ट उतै बेपत्ता भएपछि घरमा वृद्ध आमाबुवा आठ वर्षदेखि छोराको बाटो कुरेर बसिरहनुभएको छ ।

भारतमा ज्याला मजदुरीले जीविका नचलेपछि सोही वडाका हर्कबहादुर ऐरी दुई लाख रुपियाँ ऋण लिएर खाडी मुलुक पस्नुभयो । सोही वडाका अर्का युवा बलवेद ऐरी वृद्ध आमाबुवा र जहान परिवार पाल्न कामको खोजीमा भारत हिँड्नुभएको छ ।

बेरोजगारीका कारण गाउँबाट पलायन यी युवा केही प्रतिनिधि पात्र मात्र हुन् । युवा पलायन भएको सिगास गाउँपालिका–१, सुगरखालमा फलाम खानी छ । यहाँको फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको प्राविधिक परीक्षणबाट पुष्टि भएको छ तर सडक र बिजुलीको सुविधा नहुँदा खानी उत्खनन हुन सकेको छैन ।

वडामै खानी र जडीबुटी भए पनि यहाँका ८० प्रतिशत युवा रोजगारीका लागि भारतलगायत खाडी मुलुक पलायन हुने क्रम लामो समयदेखि निरन्तर छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला वर्षमा राहदानी लिने युवाको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०७४र७५ मा राहदानी लिनेको सङ्ख्या पाँच सय रहेकोमा हाल बढेर आव २०७९/८० मा दुई हजार ६८० पुगेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>