चितवन विशेष

औद्योगिक प्रदर्शनीमा बाँसको जराबाट बनेका आकर्षक मूर्ति

Banner

पुजा ढकाल

चितवन, वैशाख १०-

बाँसको जराबाट यति आकर्षक मूर्ति बनाउन सकिन्छ भन्ने हामीलाई थाहा नहुन सक्छ । चितवन प्रदर्शनी केन्द्रमा जारी “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” मा झापा भद्रपुरकी गिता शाक्यले बाँसको जराबाट बनेका निकै आकर्षक मूर्ति प्रदर्शनमा राखेकी छन् ।

ती मूर्ति झट्ट हेर्दा बाँसको जराबाट बनेको जस्तो देखिदैन । गिता र उनको श्रीमान निर्मल शाक्यले विगत २५ वर्षदेखी शाक्य हस्तकला केन्द्र सञ्चालन गरेर लोकल बाँसको जराबाट आकर्षक मूर्ति बनाउँदै आएका छन् ।

बाँसको जराबाट चिरा लगायत भगवानको मूर्ति बनाउँदै आएको गिताले बताइन् । यसबाट मुख्य कालिगढ उनका श्रीमान निर्मलसहित पाँच जनाले रोजगारी पाएका छन् । गिताका अनुसार बाँसका जरामा औजारको मद्धतले हातैले कुँदेर मूर्ति बनाइएका हुन् । यसबापत कालिगढले दैनिक एक हजार रुपैयाँ ज्याला लिने गर्छन् ।

एक हजारदेखि १५ हजार रुपैयाँसम्म मूल्य पर्ने यस्ता मूर्ति विशेषगरी मायाको चिनोको रुपमा सरकारी कार्यालयमा प्रयोग हुन्छन् । त्यस्तै, जापान, अमेरिका लागायत विभिन्न मुलुकमा निर्यात पनि हुने गरेकोे उनले बताइन् ।

जराको आकार हेरेर बनाइएका यस्ता मूर्ति जीवन्त देखिन्छन् । अर्डर अनुसार दैनिक ३० हजार देखी एक लाख रुपैयाँसम्मको मूर्ति बेच्दै आएकी उनले वैशाख १५ गतेदेखि १ महिने तालिम आयोजना गर्न लागेकी छन् । उनी आफूमा भएको सिप युवा पुस्तामा हस्तान्तरण गर्ने र आत्मनिर्भर बन्न प्रेरित गर्ने सोँचमा छिन् ।

गैंडाकोट नगरपालिका–२ नवलपुरकी सिता खनालले विगत ३१ वर्षदेखि नेपाल मेटेरियल हेन्डलिङ इन्जिनियरिङ वोक्र्स सञ्चालन गर्दै आएकी छन् । यसले जरिबुटिको तेल निकाल्ने मेसिन, मह निकाल्ने मेसिन (मदनी), मसरुम प्लान्ट, चाउचाउ बनाउने लगायतका मेसिनको उत्पादन गर्दै आएको खनाल बताउँछिन् । आफुले उत्पादन गरेका सामाग्री उनले औद्योगिक प्रदर्शनीमा राखेकी छन् ।

उनीसँग २०० केजीदेखी एक हजार किलो मह निकाल्ने मदनी छन् । मदनीको मूल्य आठ हजारदेखी १६ हजार रुपैयाँसम्म पर्छ । यो मेसिन प्रयोग गरेपछि हातले मह निचोर्न नपर्ने, चाका नबिग्रने, महमा किरा नपर्ने र मदनीले निचोर्दा मौरी पनि नमर्ने भएकोले यसलाई पुनः घारमा राखेर मह उत्पादन गर्न सकिने उनी बताउँछिन् ।

तीन संस्थाको सहकार्यमा जनकपुरमा सुरु भएको इन्क्रेडियबल मिथिला आर्टले ७ जना कर्मचारी राखेर मिथिलाको रहनसहन, संस्कृति, परम्परालाई चित्रको माध्यमबाट प्रचारप्रसार गर्दै आएको आएको छ । नेपाली कागज, भाँडा, कपडा र खादामा मिथिला संस्कृति झल्कने चित्र कोरिन्छ । बेटी बचाउ–बेटी पढाउ, शोषण, दहेज प्रथा, महिला सशक्तिकरण र दैनिक क्रियाकलापलाई आर्टका कर्मचारीले चित्रमा प्रस्तुत गर्ने गरेको विनाकर बताउँछिन् ।


यस्ता वस्तु नेपाली भन्दा विदेशीले बढी रुचाउने उनले बताइन् । यी वस्तु जर्मन, लन्डन, अमेरिका लगायतमा मुलुकमा पुग्ने गरेको उनको भनाई छ । उनको अनुसार नेपाली कागजमा कोरिएको मिथिला चित्रको राम्रो व्यापार हुँदा मासिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । उनले नेपाली सामानको प्रयोग गर्दा राम्रो हुने भएकोले आफूहरुले नेपाली कागजलाई प्राथमिकतामा राखेर यसमै चित्र कोर्ने गरेको जानकारी दिइन् ।

स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशिलता विकास गर्नेे उद्देश्यका साथ चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला आयोजना गरिएको हो । चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा वैशाख ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनी मेलामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशबाट विभिन्न १५० स्टलहरुको सहभागिता रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ लक्षित मेलामा स्वदेशी तथा विदेशी गरी २५ हजार बढी अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>