मनोरञ्जन

चितवनका युवाहरुले मोबाइलबाटै खिचे फिचर फिल्म, ओटीटी प्लाटफर्ममा रिलिज हुने

Banner

चितवन, वैशाख ७–

चितवनका युवाहरुको एउटा समूहले मोबाइलबाटै खिचेर फिचर फिल्म तयार गरेको छ । आईफोन १४ प्रो म्याक्सबाट खिचेर १ घण्टा ४५ मिनेट लामो फिल्म तयार गरिएको हो । यो फिल्म वन स्क्वाड फिल्म्सले निर्माण गरेको हो ।

फिल्मका निर्देशक जेसन लोप्चनका अनुसार फिल्म छायाङ्कन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिएको छ तर अन्य कुनै क्यामेरा भने प्रयोग गरिएको छैन । बजेट अभावका कारण मोबाइलबाटै फिल्म खिच्नुपरेको लोप्चनले बताए । ‘मोबाइलबाट पनि राम्रो गुणस्तरको भिडियो खिच्न सकिन्छ । सजिलो, सस्तो र पोर्टेबल भएकोले धेरै फाइदा छ । साथै यसका केही सीमितता पनि छन् । कतिपय कुरा फोनबाट गर्न सकिँदैन । डेप्थ अफ फिल्ड, कलर आदिमा फरक पर्छ । आउटडोर सुटिङमा डाइरेक्ट सनलाइटले पनि समस्या पार्दो रहेछ’– उनले भने ।

विदेशमा आईफोनबाटै फिल्म खिच्ने गरिए पनि नेपालमा भने कमर्सियल फिल्म पूरै फोनबाट खिचिएको पहिलोपटक भएको दाबी लोप्चनको छ । ‘अप्लेस अन्डर द सन’ नामको फिल्म आगामी जुलाईमा ओटीटी प्लाटफर्ममा रिलिज हुने तय भएको निर्देशक लोप्चनले बताए । उनका अनुसार अमेजन प्राइम भिडियो, एप्पल टिभी, पिकक आदि ओटीटीमा फिल्म रिलिज हुने तय भइसकेको छ ।

क्राइम ड्रामा जनराको यो फिल्ममा तीन जना बाल्यकालका मिल्ने साथी हुन्छन् । धेरै वर्षको ग्यापपछि उनीहरुले रियुनियन पार्टी राखेका हुन्छन् । उनीहरुले त्यहाँ आ(आफ्नो कथा भनिरहेका हुन्छन् । त्यही क्रममा अर्को नयाँ मानिसको प्रवेश हुन्छ र कथाले नयाँ मोड लिन्छ । कथामा थुप्रै ट्विस्ट एन्ड टर्न्स रहेको निर्देशक लोप्चनको भनाइ छ ।

फिल्मका सबै कलाकार नयाँ छन् । फिल्ममा मीन घलान, मीरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश एम्सीको अभिनय रहेको छ । कलाकार र क्रु गरेर १७र१८ जनाको टिम रहेको र तीमध्ये चार(पाँच जना शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीका विद्यार्थी रहेको लोप्चनले बताए । उनी पनि शेफर्डकै विद्यार्थी हुन् ।

आगामी जेठमा ट्रेलर रिलिज गरेर मार्केटिङमा जाने तयारीमा रहेको टिम फिल्मलाई लिएर आशावादी छ । ‘नेपालका वितरक र हलले हाम्रो फिल्ममा रुचि देखाएनन् । ओटीटीमा राम्रो हुने अपेक्षा राखेका छौं । यसको फिडब्याक हेरेर अर्को प्रोजेक्टको तयारीमा लाग्छौं’, निर्देशक लोप्चनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>