देश/प्रदेश

नियम राम्रो भएपनि प्रहरीको बोल्ने भाषा राम्रो भएन भन्दै बालेनलाई कृष्ण र सविनको खुलापत्र

Banner

काठमाडौं, पुस २५-

चलचित्र कलाकार संघका महासचिव तथा अभिनेता सविन श्रेष्ठ र अग्रज अभिनेता कृष्ण मल्लले सामाजिक सञ्जालबाट काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई खुलापत्र लेख्दै नगर प्रहरीको कृत्यको विरोध गरेका छन् ।

सार्वजनिक ठाउँमा कुकुर, बिरालोलाई दिसा-पिसाब गराउन नपाइने महानगरपालिकाकाको नियम लागु गर्न क्रममा नगर प्रहरीले असभ्य र असहज भाषाको प्रयोग गरेको भन्दै आपत्ति जनाएर उनीहरुले बालेनलाई खुलापत्र लेखेका हुन् ।

सविन लेख्छन्, ‘प्रिय बालेन सर, अहिले भर्खर कुकुर पालनसम्बन्धी मिडियाको भिडियो हेरियो र सरले लागू गरेको नियम र गर्नुभएको, गर्न खोज्नुभएको कार्य राम्रो छ र हाम्रो साथ पनि छ । हो, घरमा पालेको कुकुर अरुको घरआँगनमा, सार्वजनिक बाटोमा दिसा–पिसाब गराउन हुँदैन, त्यसमा दुईमत छैन । तर नगर प्रहरीज्यूहरुले बोल्ने भाषाप्रति आपत्ति मात्र हो । ‘तपाईं धेरै नबोल्नु, खुरुक्क, बढ्ता नहुनुस् आदि इत्यादि ।’ कुकुर डुलाउन आउने आमा, दिदी समान उमेरका थिए । त्यही कुरा र नियम सभ्य, भद्र भाषामा पनि गर्न सकिन्थ्यो भन्ने मात्र हो, बाँकी महानगरपालिका हजुरको हो । हजुरको जो आज्ञा ।’

अभिनेता मल्ल लेख्छन्, ‘कुकुर पाल्नु, जनावरलाई माया गर्नु यो सौख पनि हो, संस्कार पनि हो । मेरो घरमा पनि तीनवटा कुकुर छन्, र म मान्छेसरह माया र व्यवहार गर्छु । म घरबाहिर कुकुर डुलाउँदिन, घरकै कम्पाउण्डमा घुम्छन् । आज कुकुर डुलाउँदा नगर प्रहरीले समातेको समाचार र दृश्य देखें । शौच गराएकाले समातिएका हुन् ? वा डुलाउँदा मात्र समातिएका हुन् ? स्पष्ट भएन । विदेशतिर कुकुरलाई बाहिर डुलाउने प्रचलन छ, तर कुकुरले शौच गरेमा स‍ोही व्यक्तिले सफा गर्न प्लास्टिकको थैलो पनि बोकेर हिंड्छन् । महानगरले यसबारेमा पूर्वसूचना गरेर कारवाही गरेको हो कि अपर्झट कारवाही गरेको हो, अलि स्पष्ट भएन । तर सार्वजनिक स्थलमा फोहोर गर्ने अधिकार चाहिं कसैलाई पनि छैन । कारवाही जरुरी छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>