क्रिकेट

भारत-पाकिस्तान खेल फेरि वर्षाले बिथोल्ने सम्भावना, बीसीआईको अडानपछि खेल सारिएन

Banner

काठमाडौँ,भदौ २१-

एसिया कप क्रिकेटको ‘सुपर फोर’ चरणको पहिलो खेलमा बुधबार पाकिस्तानले बंगलादेशलाई सात विकेटले हरायो । त्यो खेल पाकिस्तानको लाहोरमा खेलिएको थियो । अब एसिया कपको ‘सुपर फोर’ चरणका पाँच खेल खेलिन बाँकी छ ।

एसिया कपका बाँकी सबै खेल अब श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा खेलाइने छ । प्रतियोगिताको फाइनल खेल पनि कोलम्बोमै हुनेछ । यसअघि श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय रंगशालामा खेलाइएका अधिकांश खेल वर्षाका कारण प्रभावित भएका थिए ।

दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीचको समूहगत चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो । त्यसपछि नेपाल र भारतबीचको समूहगत चरणको खेल पनि वर्षाका कारण प्रभावित भएको थियो । पटक—पटक रोकिएको नेपाल र भारतबीचको खेलको निणर्य अन्ततः ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा निकालिएको थियो ।

खेल वर्षाबाट प्रभावित हुन थालेपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी) को पनि ब्यापक आलोचना हुन थालेको छ । त्यसैले एसीसीले एसिया कपका खेलहरु पालेकेलबाट हमबानटोटामा सारिने बताएको थियो । श्रीलंकाको दक्षिण सहर हमबानटोटामा तुलनात्मक रुपमा कम वर्षा हुने भएकाले खेल त्यहाँ सारिने एसीसीले जनाएको थियो । तर, ‘सुपर फोर’ चरणका खेल र फाइनल खेल कोलम्बोमा खेलाइने भएको छ । तर, कोलम्बोको मौसम पनि केन्डीको भन्दा फरक नरहेको समाचारमा जनाइएको छ । भारत र पाकिस्तानबीचको समूहगत चरणको खेल वर्षाका कारण रद्द भएपछि दुबै टोलीका समर्थक निराश बनेका थिए । उनीहरुले एसीसीमाथि आक्रोश पनि पोखेका थिए ।

‘सुपर फोर’ चरणमा आइतबार भारत र पाकिस्तान पुनः एकअर्कासँग भिड्न लागेका छन् । तर, त्यो खेल पनि वर्षाबाट प्रभावित हुन सक्ने मौसम विभागले जनाएको छ । पक्कै पनि विश्वभर रहेका थुप्रै क्रिकेटप्रेमीको लागि यो अर्को निराशाजनक समाचार हो । मौसम विभागका अनुसार, भारत र पाकिस्तानबीच खेल हुने दिन आइतबार कोलम्बोमा वर्षा हुने ७५ प्रतिशत सम्भावना रहेको छ ।

स्थानीय समयअनुसार, आइतबार दिउँसो २ः४५ बजे भारतीय टोलीका कप्तान रोहित शर्मा र पाकिस्तानी टोलीका कप्तान बाबर आजम टसका लागि आउँदा श्रीलंकाको राजधानी सहर कोलम्बोको ९९ प्रतिशत आकाश बादलले ढाकेको हुनेछ । त्यतिबेला कोलम्बोको तापमान २८ डिग्री सेल्सियस रहनेछ ।

क्रमशः साँझ ढल्कँदै जाँदा कोलम्बोमा वर्षा हुने सम्भावना बढेर ८० प्रतिशत पुग्ने समाचारमा जनाइएको छ । त्यसैले भारत र पाकिस्तानबीचको ‘सुपर फोर’ चरणको खेल वर्षाका कारण प्रभावित हुने सम्भावना प्रबल छ ।

वर्षाको सम्भावनालाई ध्यानमा राखेर नै श्रीलंका क्रिकेट बोर्डले ‘सुपर फोर’ चरणका खेलहरु हमबानटोटामा सार्न एसियाली क्रिकेट काउन्सिल (एसीसी)लाई सुझाव पनि दिएको थियो । तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) खेल हमबानटोटामा सार्न सहमत भएन । बीसीसीआई असहमत भएपछि ‘सुपर फोर’ चरणको खेल कोलम्बोमै खेलाउन लागिएको समाचारमा जनाइएको छ । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>