मनोरञ्जन
मिस युनिभर्स नेपाल-२०२३ को आवेदन खुला, ट्रान्स वुमनले भाग लिन पाउने

काठमाडौं, साउन ११-
मिस युनिभर्स नेपाल-२०२३ को आवेदन खुला भएको छ । बिहीबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा यसको आगामी संस्करणबारे जानकारी दिइयो । इच्छुकले साउन १८ गतेसम्म आवेदन दिन सक्ने ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन् । उनले आगामी संस्करणलाई थप समावेशी र लोकतान्त्रिक बनाउने प्रयास भइरहेको बताइन् ।
जसअनुसार अबको संस्करणमा प्रतिस्पर्धीको उमेर सीमा बढाएर १८ देखि २८ वर्षसम्म पुर्याइएको छ । यसअघिका अन्य नियमलाई भने निरन्तरता दिइने भएको छ ।
उचाइ वा तौलको मापदण्ड नहुने, ट्रान्स वुमनलाई स्वीकार गरिने, गैरआवासीय नेपालीलाई पनि खुला, विवाहित महिला र आमा भएकाले पनि प्रतिस्पर्धामा भाग लिन पाउने नियमलाई यथावत् राखिएको छ ।
आयोजक संस्था उमंग क्रिएसनले प्रतियोगिताको टाइमलाइन पनि घोषणा गरेको छ । जसअनुसार साउन १८ गतेसम्म आवेदन दिन सकिने, साउन १९ गते क्वार्टरफाइनलिस्टको नाम घोषणा, साउन २९ गते सेमिफाइनलिस्ट घोषणा र भदौ २२ गते ग्राण्ड फिनाले हुनेछ ।






















