राजनीति

भेपले उदांगो पार्‍यो महरा बाबुछोराको सुन तस्करसँगको सम्बन्ध

Banner

काठमाडौं,साउन ४-

माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा फेरि अर्को विवादमा तानिएका छन् । १० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु लुई हानसोङको लगेजबाट ठूलो परिमाणमा बरामद भएको इलेक्ट्रिक सिगरेट (भेप) छुटाउन छोरा राहुलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई मोबाइल सम्पर्क गरेपछि भएको प्रहरी अनुसन्धानमा महरा र उनका छोराको चिनियाँ सुन तस्करसँग अस्वाभाविक उठबस देखिएको खुलासा भएको हो ।

महरापुत्र राहुलले प्रमुख भन्सार अधिकृत श्रेष्ठलाई मोबाइलमा फोन गरी लिलामी प्रक्रियाबारे चासो राखेको विषय हो, १० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङको लगेजबाट ठूलो परिमाणमा बरामद भएको इलेक्ट्रिक सिगरेट (भेप) । खासमा व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याइएको भन्दै त्यो ‘भेप’ जफत गरिएको थियो ।

त्यस दिन बिहान ७ः१० बजेदेखि अपराह्न १२ः०० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको यात्रु शाखाको प्रमुखको हैसियतमा श्रेष्ठ ड्युटीमा खटिएका थिए । चिनियाँ यात्रु ली हानसोङले लिएर आएको लगेजमा ठूलो परिमाणमा इलेक्ट्रिक सिगरेट (भेप)रहेको भनी उनलाई ड्युटीमा खटिएकी नासु सुवर्णाप्रभा केसीले जानकारी गराएकी थिइन् । व्यापारिक प्रयोजनका लागि ल्याएका मालवस्तु यात्रु शाखाबाट जाँचपास गर्न नमिल्ने भन्दै जफत गरिएपछि प्रमुख भन्सार अधिकृतको कार्यकक्षअगाडि राखिएको थियो ।

त्यसको दुई–तीन दिनपछि भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले यात्रु शाखामा आई श्रेष्ठलाई भेटेर सो मालवस्तु तोकिएको राजस्व बुझी जाँचपास गरिदिन भनेका थिए । श्रेष्ठले न्यौपानेलाई जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएका थिए । त्यसकोे भोलिपल्ट आफूलाई श्यामसुन्दर साह भनी चिनाउने व्यक्तिले यात्रु शाखामा आई जफत भएको इलेक्ट्रिक सिगरेट (भेप)जलविद्युत् आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगका लागि ल्याइएको भन्दै राजस्व दाखिला गरी जाँचपास गरिदिन अनुरोध गरेका थिए ।

जवाफमा श्रेष्ठले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएका थिए । यात्रु शाखाबाट बाहिर निस्केपछि पनि साहले श्रेष्ठलाई मोबाइलमा फोन गरी राजस्व दाखिला गरी जाँचपास गरिदिन पुनः अनुरोध गरेका थिए । भन्सार एजेन्ट न्यौपाने र साहको प्रयास सफल नभएपछि महरापुत्र राहुलले श्रेष्ठलाई मोबाइल सम्पर्क गरेका थिए ।

त्यसबेलाको घटनालाई लिएर त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्रेष्ठले प्रहरीसँगको बयानमा भनेका छन्, ‘आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले ९८५११११‘नम्बरबाट मेरो ९८५७०३५‘ नम्बरको मोबाइलमा फोन गरी जफत भएको सो इलेक्ट्रिक सिगरेट (भेप)को लिलामी प्रक्रिया के हो ? कसरी हुन्छ भनी सोधपुछ गरेकामा मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ, लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गर्ने गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी गराएको थिएँ ।’

महरापुत्र राहुलले जफत गरिएको भेपबारे बढी चासो राख्नुको कारण त्यसभित्र रहेको सुन नै भएको विषय त्यसपछिका दिनमा घटित घटनाबाट पुष्टि भइसकेको छ । इलेक्ट्रिक सिगरेट (भेप) साटेर सुन बेचबिखन गर्ने समूहका पाँच जनालाई सोमबार मात्रै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । यस प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, कागेश्वरी मनहरा–९ का ३२ वर्षीय दिनेश बस्नेत, काठमाडौं भोटेबहाल बस्ने वेदप्रकाश अग्रवाल, भारतीय नागरिक ३९ वर्षीय साहेब राव पाण्डुरङ मरग, काठमाडौंको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की र पोखरा गैरापाटन बस्ने २२ वर्षीय निर्मलकुमार विक थिए । जसमध्ये अमृत कार्कीलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ ।

यस्तै, यस प्रकरणमा जोडिएका सिन्धुपाल्चोक घर भई कागेश्वरी मनोहरा–९ बस्ने २९ वर्षीय दीपेश बस्नेत, ४२ वर्षीय गोपाल सुवेदी र काभ्रेको बनेपा–१० घर भई थापागाउँ बस्ने ५५ वर्षीय रामकेशव थापा भने फरार छन् । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग नेता महरा र उनका छोरा राहुलले बारम्बार सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)कै अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोराको सुन तस्करसँग सम्बन्ध देखिएको र जफत भएको भेप लिलामीमा राहुलले चासो देखाएको समेत उल्लेख छ ।

सिआइबीले यस घटनाको अनुसन्धान गर्ने क्रममा कसको कोसँग सम्पर्क भएको थियो भनेर एउटा चार्ट नै बनाएको छ । सो चार्टमा महराको सम्पर्क शंकास्पद चिनियाँ नागरिकसँग र उनका छोरा राहुलको सम्पर्क अरू चिनियाँ नागरिक र भन्सार अधिकृत श्रेष्ठसँग भएको देखिन्छ । तर, अचम्मलाग्दो विषय यो छ कि, सुन तस्करहरूसँग महरा बाबुछोराको प्रत्यक्ष सम्पर्क देखिए पनि सुन तस्करीमा उनीहरूको संलग्नता छ कि छैन भनी प्रहरीले त्यति खोजबिन गरेको पाइँदैन । राहुल आफैंले भन्सार अधिकृतलाई सम्पर्क गरी लिलाम प्रक्रियाबारे चासो राखेका भए पनि उनी सुन तस्करीमै संलग्न छन् कि छैनन् ? भनेर प्रहरीले खोजबिन गरेको समेत देखिँदैन, बयान त टाढाकै कुरा भयो ।

सञ्चारमाध्यममा ती चिनियाँ व्यापारीसँग जोडेर आफ्नो विषयमा समाचार आएपछि पूर्वसभामुख महराले ‘सामान्य चिनजान’को व्यक्ति मात्र भएको प्रष्टीकरण दिएका छन् । तर, भेप बरामद भएको १० पुसदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आन्तरिक छानबिन थालेको चैत महिनाको अन्तिमसम्ममा पूर्वसभामुख महराले दुई जना चिनियाँ सुन तस्करसँग २२ पटक कुराकानी गरेको देखिएको छ । सुन तस्करीमा संलग्न भनी किटान गरिएका चिनियाँ नागरिक लुईसँग महराले ११ पटक र अर्का तस्कर दाओजिन वाङसँग त्यति नै पटक कुराकानी गरेको देखिएको छ ।

त्यस्तै, सुन तस्करीमा संलग्न भनी खुलाएका व्यक्ति वाङ र राहुल महराबीच यस अवधिमा १ सय ९५ पटक कुराकानी भएको पाइएको छ । सो अवधिमा वाङले राहुललाई ६४ पटक फोन सम्पर्क गर्दा राहुलले वाङलाई १ सय ३१ पटक टेलिफोन सम्पर्क गरेका छन् । वाङले अर्का तस्कर लुईसँग १३ पटक मोबाइलमा कुराकानी गरेका छन् । त्यसैगरी, वाङ र उनका चालक लोकेन्द्र पौडेलबीच ६ सय ५१ पटक कुराकानी भएको पाइएको छ ।

सोही अवधिमा वाङले भन्सार एजेन्ट भनिएका खुवाप्रसाद न्यौपानेलाई ५४ पटक, श्यामसुन्दर साहलाई ५२ पटक टेलिफोन गरेका छन् । साहले वाङलाई २ सय एकपटक टेलिफोन सम्पर्क गरेका पाइएको छ । साह तिनै व्यक्ति हुन्, जो राजस्व तिरेर वा लिलामी मिलाएर भेप छुटाउने भन्दै भन्सार अधिकृतलाई भेट्न गएका थिए ।

सुन तस्कर दाओजिन वाङले लुई, लुईका चालक लोकेन्द्र पौडेल, श्याम साह र भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेलगायतलाई समेत बारम्बार सम्पर्क गरेको भेटिएको पाइएको छ । नेता महराका छोरा राहुल महराले वाङका चालकसमेत रहेका लोकेन्द्र पौडेललाई ३६ पटक, राहुलले अशिन भन्ने व्यक्तिलाई तीनपटक र भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक सम्पर्क गरेको पाइएको छ ।

वाङका सवारीचालक लोकेन्द्र पौडेल र श्याम साहबीच सो अवधिमा ९३ पटक कुराकानी भएको देखिएको छ । श्याम साह र खुवाप्रसाद न्यौपानेबीच १ सय ३५ पटक कुराकानी भएको प्रमाण प्रहरीले अनुसन्धान प्रतिवेदनसहित गोप्य मिसिलमा समावेश गरेको छ । राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>