अन्तर्राष्ट्रिय

एउटा पाण्डाले चर्काएको अमेरिका-चीन विवाद

Banner

वैशाख २०-

सन् २००३ मा जब ‘या या’ नामक चिनियाँ पाण्डा अमेरिका ओर्लियो, बेइजिङको त्यो सद्भावना दूतलाई हर्षोल्लासपूर्वक स्वागत गर्नका लागि मेम्फिस अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं मानिसहरु उपस्थित भएका थिए । त्यो क्षण अमेरिका र चीनबीचको सुसम्बन्ध उच्च विन्दुमा पुगेको समय थियो, जतिबेला अमेरिकी सहयोगमा चीन विश्व व्यापार संगठनको सदस्य बनेको २ वर्ष पुगेको थियो र दुई देशबीच आर्थिक तथा प्रति आतंकवाद लगायतका विषयमा सहकार्य गहन बनेको थियो ।

तर त्यसको २ दशकपछि या या अमेरिकालाई बिदाइ गर्दै बुधबार चीन फर्किएको छ । जसका कारण यो पाण्डा हाल विश्वका यी दुई महाशक्ति राष्ट्रबीचको आधा शताब्दी यताकै सबैभन्दा बिग्रिएको सम्बन्धको प्रतिक बनेको छ ।अमेरिकाबाट १६ घण्टाको हवाई यात्रापछि बिहीबार या या सांघाईमा अवतरण भयो । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार सो पाण्डालाई विशेष फेडेक्स पाण्डा एक्सप्रेस विमानबाट स्वदेश ल्याइएको हो ।

पछिल्लो ३ महिनादेखि चीनमा एउटा विषयमा निकै तातो बहस र विवाद भैरहेको थियो । सो पाण्डामाथि अमेरिकाको मेम्फिस चिडियाखानामा राम्रो व्यवहार नगरिएको भन्ने बहसले अमेरिका र चीनबीचको समबन्ध कतिसम्म बिग्रिंदै गएको छ भन्ने दर्शाउँछ ।

आफ्नो जवान अवस्थाको पुटुक्क तथा भुवादार छविभन्दा अहिले ऊ निकै फरक छ । २२ वर्षीय ‘या या’ हालैका तस्वीरहरुमा निकै दुब्लो तथा खुइलिएको देखिएको थियो ।

पाण्डाको पछिल्लो अवस्थाका कारण चीनमा धेरै मानिसहरु स्तब्ध तथा दुस्खित भएका थिए । पाण्डालाई चिडियाखानामा उचित हेरचाह तथा खानपान नदिइएको कतिपयको अनुमान रह्यो । जनावर अधिकारकर्मीहरुले सन् २०२१ मा पहिलोपटक यस्तो आरोप लगाएका थिए । तर मेम्फिस चिडियाखानाले भने पटक पटक त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।

‘या या’ र उसको भाले साथी ‘ले ले’ २० वर्षको ऋण अवधि पूरा गर्दै यहीँ वर्ष नै चीन फर्किनेवाला थिए । तर गत फेब्रुअरीको सुरुतिर नै मुटुसम्बन्धी समस्याका कारण ‘ले ले’ को अचानक मृत्यु भयो । सो घटनाले पनि यी चिनिया पाण्डामाथि चिडियाखानामा गलत व्यवहार भैरहेको आरोपलाई मलजल गर्‍यो ।

चीनको पाण्डा कूटनीतिअन्तरगत यी प्राणीले चीन र उसको प्रापक मुलुकबीच मित्रताको दूतको भूमिका खेल्दछ । तर चीनका राष्ट्रवादीहरुका लागि भने ‘या या’ आफ्नो मुलुकमाथि अमेरिकी दुर्व्यवहार तथा दमनको ज्वलन्त उदाहरण बन्यो ।

चिनियाँ सोसल मिडिया साइट विबोमा एकजना प्रयोगकर्ताले लेखेका छन्- हाम्रो राष्ट्रिय निधिलाई यस्तो व्यवहार गर्नु भनेको प्रष्ट रुपमा चीनलाई उत्तेजित बनाउनु हो ।

ठ्याक्कै यहीँ बेला मस्कोस्थित चिडियाखानामा दुईवटा चन्चले तथा उर्जाशील पाण्डाहरुको भिडियो चिनियाँ सोसल मिडियामा भाइरल बन्यो । जसमा चिनियाँ पाण्डामाथि रुसले निकै राम्रो व्यवहार तथा लालनपालन गरिरहेको भनेर रुसको प्रशंसा भैरहेको छ ।

‘या या’ लाई उनीहरुकै शव्दमा अमेरिकी नजरबन्दबाट मुक्त गरेरै छाड्ने निधो गरेका चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरु पाण्डालाई जतिसक्दो छिटो चीन फर्काउने अभियानमा जोडतोडका साथ लागिरहे ।

कतिपयले ‘या या’ को तत्काल चीन फिर्तिको माग गर्दै अनलाइनमा हस्ताक्षर अभियान नै चलाए भने कतिपयचाहिं चिडियाखानास्थित पाण्डाक्यामको लाइभ स्ट्रिमिंगबाट उसका सबै गतिविधि निगरानी गरिरहे । त्यस्तै अमेरिकामा रहेका चिनियाँ नागरिकहरु पनि चिडियाखानामा गएर ‘या या’लाई भेट गर्दै पाण्डाको स्वास्थ्य अवस्थाको बारेमा अपडेट गरिरहे ।

पछिल्ला केही हप्तायता ‘या या’ निरन्तर रुपमा चिनियाँ सोसल साइट विबोमा ट्रेन्डिङ भैरहेको छ । न्युयोकृ देखि सांघाइसम्मका विज्ञापनिक बिलबोर्डहरुमा उसकै फोटो राखिएको छ । जसमा लेखिएको हुन्छ-‘या या’ हामी तिमी घर फर्किने प्रतीक्षामा छौं ।

‘या या’को अमेरिका आगमन जस्तै चीन फिर्तिको घटना पनि प्रतिकको रुपमा रह्यो । तर यो पटकचाहिं बढ्दो मित्रताको होइन चुलिँदो प्रतिद्धन्दिता र अविश्वास ।

कूटनीतिक औजार

पछिल्ला ८ दशकमा यो जंगली जीव जाएन्ट पाण्डा चीनको अन्तर्राष्ट्रिय सम्बन्धको ब्यारोमिटर जस्तै बनेको छ ।

चीनले सन् १९४१ देखि नै पाण्डालाई राजनीतिक उद्देश्यका लागि उपयोग गर्दै आएको हो । त्यसबेला जापानी आक्रमण रोक्नका लागि अमेरिकाले सहयोग गरेको बदलामा चीनले वाशिङटनलाई पहिलोपटक ए जोडी पाण्डाका बच्चा उपहार दिएको थियो ।

चीनमा कम्युनिष्ट पार्टीले सत्ता हातमा लिएसँगै सुरुवातमा पाण्डाको साटफेरलाई केवल चीनका समाजवादी मित्रराष्ट्रहरुसँग मात्रै सीमित राखियो । तर जब बेइजिंगले आफ्नो बाँकी विश्वसँगको सम्बन्ध पुनः जोड्न थाल्यो तब यी भालु पश्चिमा राष्ट्रहरुका लागि समेत चिनियाँ सद्भावना दूतको रुपमा स्थापित हुँदै गए ।

सन् १९७२ मा तत्कालीन अमेरिका राष्ट्रपति रिचार्ड निक्सनको ऐतिहासिक आइस ब्रेकिङ चीन भ्रमणका बेला उनकी पत्नीले बेइजिङ चिडियाखाना भ्रमण गर्दा उनलाई चिनियाँ पाण्डा निकै मन पर्‍यो । त्यसको एक हप्तापछि नै एकजोडी पाण्डाहरु वाशिंटन डिसीस्थित राष्ट्रिय चिडियाखानामा आइपुगे

एबलमब ल्बतष्यल पुस्तककी लेखिका समेत रहेकी क्यालिफोर्नियास्थित सेन्ट मेरी कलेजकी इतिहासविद इ एलेना संग्स्टरका अनुसार जाएन्ट पाण्डा नै यस्तो तहल्का मच्चाउने पहिलो जनावर बनेको छ ।

तर सन् १९८४ मा चीनले आफ्ना पाण्डा कुनै मुलुकलाई निस्शुल्क रुपमा दिन बन्द गर्‍यो । उच्च मूल्ययुक्त कर्जानीति अबलम्बन गर्‍यो । यस अन्तरगत सुरुवातमा चिनियाँ पाण्डाहरु विभिन्न विदेशी चिडियाखानामा छोटो समयका लागि भाडामा लिने गरियो । तर समयक्रमसँगै त्यसलाई दीर्घकालीन अनुसन्धान कर्जाले प्रतिस्थापित गर्यो । जस अनुसार चिनिया पाण्डा भाडामा लैजानेले १० वर्षको सम्झौता गरी वार्षिक १० लाख डलर शुल्क तिर्नु पर्ने अभ्यास अबलम्बन गर्‍यो । सो रकम वन्यजन्तु संरक्षणमै खर्च गरिने बेइजिंगको दाबी छ ।

चीनले हाल विश्वका विभिन्न २० देशमा पाण्डालाई कर्जामा दिएको छ । पछिल्लो दशकमा चिनियाँ राष्ट्रपति सी जिनपिङले युरोपमा आफ्नो पाण्डा कूटनीतिलाई उल्लेख्य रुपमा विस्तार गरे । जसमा जर्मनी, नेदरल्याण्ड्स, डेनमार्क तथा फिनल्याण्ड जस्ता मुलुकलाई नयाँ कर्जा स्वीकृत गरियो । गतवर्ष नै चीनले मध्यपूर्वमा पहिलोपटक एक जोडी पाण्डा लोनमा कतार पठायो ।

तर त्यसको विपरीत पछिल्लो २ दशकयता चीनले अमेरिकालाई कुनै पनि थप पाण्डा कर्जा प्रदान गरेको छैन । पछिल्लोपटक ‘या या’ र’ ले ले’ मेम्फिसमा आएका हुन् ।

चीनले आफ्नो मुलुकको आवश्यकता पूर्ति गर्नका लागि पाण्डा निकै मूल्यवान हुनसक्ने कुरा बुझेको छ।

दुर्व्यवहारको आरोप

सन् २००३ मा जब ‘या या’ र ‘ले ले’ मेम्फिस आइपुगे, त्यो घटना सहरका लागि निकै ठूलो विषय थियो । ती पाण्डालाई मेम्फिमा रातो कार्पेट ओछ्याइयो र तत्कालै उनीहरु चीनको सबैभन्दा लोकप्रिय आकर्षणको केन्द्र बन्न पुगे । सन् २०१३ मा चीनले पाण्डा कर्जा पुनः १० वर्षका लागि नविकरण गर्‍यो ।

तथापि कम्तिमा पनि सन् २०१९ बाटै मेम्फिस चिडियाखानाले ‘या या’ निकै दुब्लो तथा रङ नै उडेको जस्तो भएको भन्ने खालका गुनासो तथा चासोहरु चिडियाखाना आउने आगन्तुकहरुबाट सुन्न थालेको थियो ।

तर जाएन्ट पाण्डा बिरामी भएको वा कुपोषित भएको भन्ने खालका अनुमानहरुलाई चिडियाखानाले पटकपटक खारेज गर्दै आएको थियो । चिडियाखानाका अधिकारी तथा पशु चिकित्सकहरुले ‘या या’ स्वस्थ रहेको र हर्मोनका कारण सरीरका रौँ झरेको दाबी गरेका थिए । चिडियाखानाको वेबसाइटमा या या का लागि एउटा पेज नै तयार पारिएको छ । जसमा पाण्डाको हेरविचार, स्वास्थ्य तथा उसको खानपान र चेकजाँचका विषय उल्लेख गरिएको छ ।
तर जनावर अधिकारकर्मीहरु भने यस्तो दाबीप्रति असहमत रहे र चिडियाखानाले पाण्डामाथि दुर्व्यवहार गरिरहेको आरोप लगाए ।

विदेशमा अध्ययन गर्ने चिनियाँ विद्यार्थीहरुले खोलेको या या तथा ‘ले ले’ पाण्डाको पैरवी समूह पाण्डा भ्वाइस अनि क्यालिफोर्नियास्थित गैरनाफामूलक जनावर अधिकारवादी संस्था इन डिफेन्स अफ एनिमल्सले पाण्डालाई चीन फर्काउनका लागि अनलाइन अभियान नै सुरु गरे ।

अन्ततः गत डिसेम्बरमा मेम्फिस चिडियाखानाले सन् २०२३ मा लोन अवधि समाप्त भएसँगै ‘या या’ र ‘ले ले’लाई चीन पठाइदिने बतायो । तर पाण्डामाथिको दुर्व्यवहारका कारण आलोचित भएर त्यस्तो निर्णय लिएको भन्ने अनुमानलाई भने उसले अस्वीकार गर्‍यो । तर त्यसको दुई महिनापछि चिडियाखानाले ‘ले ले’ पाण्डा अप्रत्यासित रुपमा मृत्यु भएको जानकारी दियो ।

Panda Voices   तथा In Defense of Animals ले भने मृत्युको केही दिन अगाडि नै ‘ले ले’को स्वास्थ्य अवस्था खराब भएको लक्षणहरु क्यामेरामा देखिएको तर चिडियाखानाले त्यसको बेवास्ता गर्दा उसको मत्यु भएको जिकिर गरे । तर चिडियाखानाका अधिकारीहरुले भने त्यस्तो आरोपलाई अस्वीकार गर्दै मृत्युको दिनसम्मै उसको स्वास्थ्य अवस्था राम्रो रहेको प्रष्टीकरण दिए ।

नतिजा

लामो समयेखि पाण्डामाथि मेम्फिस चिडियाखानामा दुर्व्यवहार भैरहेको भन्ने आरोपहरुका बीचमा ‘ले ले’को अप्रत्यासित मृत्युपछि चीनमा ठूलै तहल्का मच्चियो ।

चीनमा पाण्डा कर्जाको व्यवस्थापन गर्ने चाइनिज एसोसिएसन अफ जूलोजिकल गार्डेन्सले ‘ले ले’ को मृत्युको बारेमा अनुसन्धान गर्नका लागि विज्ञहरुको एक टिमलाई मेम्फिस पठायो । एसोसिएसनका अनुसार चिनिया र अमेरिकी विज्ञहरुको गरेको पोष्टमार्टमबाट पाण्डाको मृत्यु मुटुरोगबाट भएको पुष्टि भयो ।

चिनिया विज्ञहरुले या या को पनि परीक्षण गरे र उसको मेडिकल रिपोर्टको समीक्षा गरे । स्वास्थ्य परीक्षणबाट छालाको रोगका कारण उसको सरीरका रौँहरु झरेका भएपनि अन्य स्वास्थ्य समस्या नरहेको, उसको सरीरको तौल, खानपान तथा दिसापिसाव पनि सामान्य रहेको पुष्टि भयो ।

एसोसिएसनका उपप्रमुख जि झोंगले चिनिया सरकारी सञ्चार माध्यमसाग कुरा गर्दै या को छालाको समस्या वंशाणुगत समस्या रहेको पनि बताएकी छिन् । उनका अनुसार उमेर वृद्धि तथा सिजनल हर्मोन परिवर्तन भएसँगै उक्त समस्या बढ्दै गएको र त्यसको उपचार पनि कठीन हुने गर्दछ ।

तर चिनिया विज्ञले यति भनिसक्दा पनि धेरै चिनियाहरु सहमत भएनन् र उल्टै एसोसिएसनमाथि खनिन थाले । कतिपयले त एसोसिएसन अमेरिकी चिडियाखानासँग मिलेकोले उसमाथि नै अनुसन्धान गरेर कारवाही गर्नुपर्ने माग गरे । त्यस्तै कतिपय चिनियाहरुले मेम्फिस चिडियाखानालाई कालोसूचिमा राख्नुपर्ने तथा अमेरिकामा रहेका सबै चिनिया पाण्डाहरुलाई स्वदेश फर्काउनुपर्ने माग गरे ।

त्यस्तै केहीले चाहीँ पाण्डा कूटनीति नै पूर्ण रुपमा बन्द गर्नुपर्ने मत जाहेर गरे । वास्तवमा चीनले आफु कमजोर भएको बेलामा पाण्डा कूटनीति सुरु गरेको र अहिले आफु विश्व महाशक्ति बनेकोले आफ्नो राष्ट्रिय सम्पत्तिलाई अरु देशमा पठाउन आवश्यक नरहेको कतिपयको तर्क थियो ।

या या चीन फर्किएसँगै यस विषयमा आम मानिसहरुमा रहेको आक्रोसलाई शान्त पार्नका लागि कतिपय चिनिया अधिकारीहरु नै अघि सरेको पनि देखिएको छ ।

चिनिया विदेश मन्त्रालयका प्रवक्ताले नै ‘या या’ र ‘ले ले’ पाण्डालाई मेम्फिसचिडियाखानाले राम्रोसँग हेरविचार गरेको र अमेरिकी जनताले माया गरेको बताए ।

प्रवक्ता माओ निंगले भनेका छन्सं-कटापन्न प्रजातिहरुको संरक्षणमा योगदान पूराउनका लागि अमेरिकालगायतका अरु साझेदारहरुसँगको सहकार्यलाई निरन्तरता दिन चीन इच्छुक छ ।

‘या या’ले अब आफु जन्मिएको बेइजिंग चिडियाखानामै बाँकी जिवन बिताउनेछ । ‘या या’लाई हेर्नका लागि अपेक्षित रुपमै ठूलो संख्यामा आगन्तुकहरु पुगेका छन् । उनीहरु आफ्नो पाण्डा स्वदेश फर्किएकोमा गौरवान्वित भएको बताउँछन् ।

सिएनएनबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>