Breaking News

कुनै बेला विद्यार्थी शून्य भएको भरतपुरको नारायणी नमुना माविमा अहिले थामिनसक्नु भीड

Banner

चितवन, वैशाख १३–

भरतपुर महानगरपालिका–११ मृगकुञ्ज टोलकी अर्चना ढकाल आफ्नी छोरी आरुशी ढकाललाई कक्षा ९ मा सरकारी विद्यालय नारायणी नमुना माध्यमिक विद्यालयमा पढाउने इच्छा राखेकी थिइन् तर नाम नै ननिस्केपछि निराश बन्दै घर फर्किन् । स्मल हेभन मोडल स्कुलबाट कक्षा ८ उतीर्ण गरेकी छोरीलाई उनलाई अझै पनि कोटा थपिए पढाउँछु भन्ने आशा रहेको छ । पछि उच्च शिक्षामा छात्रवृत्ति पाइने भएकोले सरकारी विद्यालय रोजाइमा परेको उनले बताइन् । छोरीसँगै प्रवेश परीक्षामा विद्यालय पुगेकी उनी विद्यालयमा विद्यार्थी र अभिभावकको भीड देखेर छक्क परिन् । उनले भनिन्, ‘विद्यालयमा नाम निकाल्न त धेरै गाहे पो रहेछ ।’ अर्चना त एक उदाहरण मात्र हुन् । उनी जस्ता धेरै अभिभावक अहिले छोराछोरीको नाम नस्किएकोमा निराश भएका छन् ।

पछिल्लो समय नारायणी नमुना मावि निरन्तर उत्कृष्ट नतिजाका कारण सबैको रोजाइमा पर्ने गरेको छ । यस स्कुलमा पढ्ने र पढाउने धेरैको चाहनाको विषय बन्ने गरेको छ । प्रवेश परीक्षाको बेला व्यवस्थापकहरूले फोन अफ गरेर बस्नुपर्ने हुन्छ । विद्यार्थीलाई भर्ना गरिदिन भन्दै उच्च पदस्थ व्यक्तिहरूसम्मको फोन आएर हैरानी खेप्नुपर्ने हुन्छ ।

मंगलबार भएको प्रवेश परीक्षामा यस स्कुलमा दुई हजार ८०० जनाले परीक्षा दिएका थिए ।  विद्यालयमा प्रवेश परीक्षा दिन आएका विद्यार्थी र अभिभावकको भीडले सप्तगण्डकी चोक भरिभराउ भएको थियो । कक्षा १ देखि ९ सम्म जम्मा ३५०  जनाले मात्र पढ्ने अवसर पाउने भएका छन् ।  भर्ना हुनका लागि चाहिने अधिकांश विद्यार्थी निजी विद्यालयबाट थिए भने केही  छिमेकी सरकारी विद्यालयका र केही भरतपुरभन्दाबाहिर तथा चितवन जिल्लाबाहिरका थिए । प्रवेश परीक्षाको नतिजामा छोराछोरीको नाम देख्ने अभिभावक खुसी भए भने नदेख्नेहरु निराश भएर घर फर्किए ।

एतिहासिक पृष्ठभूमि

तत्कालीन नारायणी रात्रि हाइस्कुल यतिबेला नारायणी नमुना माविका रूपमा देशभर चर्चित छ । २०७८ मा लिइएको कक्षा १० को राष्ट्रिय परीक्षा एसइईमा यहाँका एक विद्यार्थीले ४ जिपिए ल्याएपछि झनै यो विद्यालयको चर्चा बढेको छ । अहिले ३ हजार ५०० विद्यार्थी अध्ययनरत यो विद्यालयको सफलता रातारात हात लागेको भने होइन । कुनैबेला एसएलसी परीक्षाको नतिजामा शून्य हात लागेको यो विद्यालय ‘जिरोबाट हिरो’ भएको विद्यालय हो । विद्यालयबाट २०३८ सालमा एसएलसीमा सहभागी विद्यार्थी कोही पनि उत्तीर्ण भएनन् । अहिले यहाँका अधिकांश विद्यार्थी उच्च अंक ल्याएर उत्तीर्ण हुन्छन् । यो विद्यालयलाई अझै पनि पुरानो पुस्ताले ‘रात्रि स्कुल’ भनेर चिन्छन् । सानो झुप्रोमा टुकी बालेर रात्रि कक्षा सञ्चाल हुन्थे । प्रौढ स्कुलका रूपमा २०२० साल जेठ ६ गतेबाट नारायणी रात्रि हाइस्कुल सञ्चालनमा आएको थियो । तत्कालीन राष्ट्रिय प्राथमिक विद्यालय भरतपुरको खुलाचौरमा सानो झुप्रोमा करिब ७ महिना ७ कक्षा सुरु भयो । हावाहुरीले बत्ती निभाइदिने, झुप्रो भत्काइदिने समस्या आएपछि रात्रि हाइस्कुल अहिलेको चितवन माविको तत्कालीन पुरानो भवनमा ५ कोठा भाडामा लिएर सञ्चालनमा ल्याइयो । त्योबेला वीरेन्द्र क्याम्पसको रात्रि कक्षासमेत सोही विद्यालयकै भवनमा चल्थे ।

‘जागिरे, दिउँसो स्कुल जान नभ्याउने विद्यार्थी त्यो बेलामा पढ्न आउँथे’, यस विद्यालयलाई प्रधानाध्यापकको रूपमा १४ वर्ष नेतृत्व गरेका र अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका टेकबहादुर थापाले विगत स्मरण गर्दै भने, ‘कमजोर विद्यार्थी बढी हुन्थे, ऊबेला रिजल्ट ज्यादै कमजोर थियो ।’ २०३८ सालको एसएलसीमा शून्य नतिजा आउँदा ज्यादै चोट परेको उनले बताए । सुरुमा मावि तह, त्यसपछि निमावि तह, त्यसपछि प्रावि तह हुँदै कक्षा विस्तार भएका थिए ।

विद्यालयका अध्यक्ष थापाका अनुसार २०२४ साल फागुन १६ गते विद्यालयले स्वीकृति पाएको थियो । वन सीमा क्षेत्रमा पर्ने जग्गालाई २०२५ सालमा खनजोत गरेर विद्यालयको नाममा ओगटिएको थियो । त्यो बेला हालको विद्यालयको जग्गा ऐलानी थियो । २०२८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि ८ देखि १० कक्षा रात्रि समयमा चलाउने स्वीकृति पाएपछि विद्यालय आफ्नै भवनमा सरेको थियो ।

२०४९ सालदेखि कक्षा १ देखि १० सम्मका कक्षा दिउँसो सञ्चालन भएको थियो । ‘सुरुका वर्षमा यो विद्यालयको छवि राम्रो थिएन’, थापाले भने, ‘थोरै विद्यार्थी, कमजोर विद्यार्थीले भरिएको विद्यालयका रूपमा चित्रण हुन्थ्यो, रिजल्ट पनि उस्तै थियो ।’ अहिले छैठौं कार्यकालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका थापाले विसं २०५४ सालबाट विद्यालय सञ्चालनको विधि र तरिकामा ठूलो परिवर्तन ल्याएपछि सुधार आएको नारायणी अनलाइनलाई बताए ।

शिक्षाविद्ध रमाकान्त सापकोटाले विद्यालय एक नम्बरमा पर्छ भन्ने प्रचारप्रसार र अभिभावको विश्वासले अहिले भर्ना गर्न धौं धौं पर्ने गरेको विचार राखे । उनले भने, ‘अभिभावकसँग विद्यालय मापनको खासै सूचकहरु छैनन् । मिडियामा आउने प्रचारप्रसारले गर्दा पनि विद्यार्थीको भीड लाग्ने गरेको छ ।’ उनले बोर्डिङका उत्कृष्ट विद्यार्थीहरु छानेर लिएपछि एसईईको नतिजा आफसेआफ राम्रो आउन थालेको बताए ।

कसरी बन्यो नमुना ?

विद्यालयमा सुरुमा हप्ताको ३–३ दिन अंग्रेजी र गणितको थप कक्षा लिन सुरु गरियो । हल्ला पनि गर्ने, केही राम्रा विद्यार्थी तान्ने र विद्यार्थीको स्तरअनुसार सेक्सन विभाजन गर्ने भनेर त्यसपछि प्रवेश परीक्षा लिई विद्यार्थी भर्ना गर्न सुरु भयो । विद्यालयको आन्तरिक परीक्षा चार वटा लिनुको साथै उत्तीर्ण प्रतिशत ३२ बाट बढाएर ४० बनाइयो । भरतपुर महानगरपालिका शिक्षा समितिका सल्लाहकार बाबुराम दवाडीले भरतपुरको केन्द्रमा रहेको विद्यालयको भौतिक पूर्वाधार चुस्तदुरुस्त बनाएपछि उकालो लागेको बताए । उनले भने, ‘ प्रवेश परीक्षा लिएर अंग्रेजी माध्यममा पढाइ सुरु गरेसँगै नतिजा पनि राम्रो आयो । जसकै कारण बोर्डिङ स्कुलका विद्यार्थीहरुको विद्यालयमा भीड नै लाग्न थाल्यो ।’

२०५७\५८ मा पुगेपछि विद्यालयले जिल्लामा प्रथम हुन सुरु ग¥यो । लगातार ८÷१० वर्ष विद्यालय जिल्ला प्रथम हुँदै गयो । २०६८ सालदेखि नेपाल सरकारले राष्ट्रियरूपमा पनि मूल्यांकन सुरु गरेपछि पहिलो वर्ष मध्यमाञ्चल आठौँ भयो । २०६९ मा राष्ट्रिय पाँचौँ भयो । २०७० मा छैटौंँ, २०७१ मा एक्साइसाँैं, २०७२ मा राष्ट्रिय दोस्रो र मध्यमाञ्चल प्रथम भयो । २०७३ मा देशभरको दोस्रो र ३ नम्बर प्रदेशको उत्कृष्ट विद्यालय बन्न सफल भयो । अहिले देशव्यापीरुपमा पोखराको बाराही माविपछि नारायणी नमुना मावि नै दोस्रो रहँदै आएको छ । शिक्षा मन्त्रालयले २०६९ सालमा १५१ सूचकमाथि अध्ययन विश्लेषण गरी यो विद्यालयलाई ‘नमुना मावि’ का रूपमा घोषणा गरेको थियो ।

हालसालै सम्पन्न एसइईमा यस विद्यालयका ३८४ जना विद्यार्थी सहभागी छन् । गत वर्ष एसइईमा नेपाल टप भएको थियो । भरतपुरका अन्य सरकारी विद्यालयहरुलाई पनि नारायणी नमुना विद्यालयलाई जस्तै सुधार गर्न सक्ने हो भने सबै अभिभावकको छोराछोरीलाई गुणस्तरीय सरकारी विद्यालयमा पढाउने धोको पूरा हुने थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>