देश/प्रदेश

म्यानमारबाट गौतमबुद्ध विमानस्थलमा सिधा हवाई सेवा सञ्चालन गर्न नेपालले थाल्यो पहल

Banner

काठमाडौं, वैशाख ६- 

म्यानमारको राजधानी यगुनबाट भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालन गर्न नेपालले पहल थालेको छ । बौद्ध धर्मावलम्बी बाहुल्य भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीमा समेत पर्यटक आगमन बढ्ने र गौतमबुद्ध विमानस्थलमा समेत हवाई यातायात सूचारु हुने नेपाल पर्यटन बोर्डको भनाइ छ ।

बोर्डले मंगलबार नेपालका लागि म्यामारका राजदूत र म्यानमारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशनल एयरलाइन्सका कार्यकारी प्रमुख सहित सरोकारवालासँग काठमाडौंमा उच्चस्तरिय छलफल गरेको छ ।

छलफलमा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताएका छन् । नेपालले म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

छलफल कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यपुत्ताले नेपाल र म्यानमार बीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधा उडान हुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरु बढने बताए ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले म्यानमार नेशनल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट, सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताए । उनले सिधा उडान गर्न सकेमा दुवै देशले पर्यटनका माध्यमबाट फाइदा लिनसक्ने बताए ।

म्यामारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमार भैरहवा सिधा उडानबारे म्यानमारको सरकारीपक्षसँग सम्वाद भइरहको सन्दर्भमा म्यानमारको टोली नै नेपाल आउनुले उडानका लागि थप बल पुग्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि म्यानमारका राजदूत सेन ओले सिधा उडान गर्नेबारे आफूहरु सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययन पछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>