देश/प्रदेश

नेपाल एयरलाइन्स र एयर इण्डिया आकासमा झन्डै ठोक्किए

Banner

काठमाडौं, चैत १२-

शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इण्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएका छन्। १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो ।

तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको उचाइमा झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको थियो । एक्कासी १९ हजारफिटबाट तल झरेको एयर इण्डियाको जहाजलाई १६ हजार फिटको उचाइमा चढ्न लगाइएको थियो ।
एयर इण्डियाको जहाज एक्कासी तल आएपछि दुवै जहाजको ककपिटमा रहेको (ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम ‘टिकास’)ले सचेत गराएको थियो ।

सिमराको आकाशमा होल्ड गरिरहेका यी दुई जहाजबीच आवश्यक दुरी कायम नगरेको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन सुरु गरेको छ । छानविन पूरा भई प्रतिवेदन नआएसम्मका लागि एयर ट्राफिक कन्ट्रोलरको भूमिकामा रहेका एटीसीलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको छ ।

यो घटनापछि एयर इण्डियाका पाइलटलाई कारवाही गर्न त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई नेपालको नागरिक उड्डयन प्राधिकरणले पत्र लेखेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका कारण विदेशी पाइलटलाई नेपालमा कारवाही गर्न सक्ने प्रावधान छैन । सोहीकारण यसबारे प्राधिकरणले पत्र लेखेको हो । यस घटनामा सो समयमा ड्यूटीमा रहेका एटीसीलाई भने तत्काल काममा नलगाउने गरी ड्यूटी ‘अफ’ गरिएको उनले जानकारी दिए ।

‘यस घटनामा दोष कसको हो भन्नेबारे हामी अनुसन्धान गर्छौं,’ उनले भने, ‘त्यसपछि निर्णय हुन्छ ।’

सामान्यतया आकाशमा दुई जहाज बीचको दुरी १ हजार फिट हुनु पर्छ । त्यो भन्दा नजिक आउँदा जहाजमा रहेको टिकासले सचेत गराउने गर्छ । यस्तो घटना केही समय अगाडि काठमाडौं नजिकैको आकाशमा समेत भएको थियो । सो घटनामा कतार एयरवेजका पाइलटको दोष देखिएपछि प्राधिकरणले कारवाही गर्न सम्बन्धित मुलुकको नियामक निकायमा पत्राचार गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>