देश/प्रदेश

चितवनकी नायिकाले करिअरको १२ वर्षपछि दिइन् हिट फिल्म

Banner

काठमाडौं, चैत २-

मेहनत गर्नेहरू असफल हुँदैनन् । अभिनेत्री बेनिशा हमाल यसैलाई अनुशरण गर्दै विगत एक दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रमा लागिरहेकी छन् ।

सन् २०११ मा ’स्वर’ बाट फिल्मी दुनियाँमा प्रवेश गरेकी उनले त्यसयता ‘कालो पोथी’, ‘ब्लाइन्ड रक्स’, ‘झ्यानाकुटी’, ‘घर’, ‘प्रेमगञ्ज’ लगायत फिल्ममा अभिनय गरिन् । दृष्टिबिहीन अभियन्ता तथा कलाकार सृष्टि केसीको बायोपिक ‘ब्लाइन्ड रक्स’ मा गरेको अभिनयबाट राष्ट्रिय अवार्ड हात पारिन् । उनको कामको तारिफ पनि भयो ।

तर उनको कुनै फिल्मले व्यावसायिक सफलता हात पारेन । त्यसैले प्रशंसा पाए पनि फिल्मले राम्रो कमाइ नगर्दा खल्लो लाग्थ्यो उनलाई । १२ वर्षको फिल्मी करिअरमा यसपालि भने बेनिशाको पोल्टामा हिट फिल्म परेको छ, ‘छक्का पन्जा ४’ । गत फागुन १९ गते रिलिज भएको फिल्मले राम्रो कमाइ गरिरहेको छ । बेनिशाले पनि तारिफ बटुलिरहेकी छन् । पहिलो पटक आफू अभिनित फिल्मले व्यावसायिक सफलता पाउँदा उनको खुसी र ऊर्जा दुवै बढेको छ ।

‘एकदमै खुसी लागिरहेको छ । दर्शकहरूले धेरै म्यासेज पठाइरहनुभएको छ । पहिला पनि कामको तारिफ हुन्थ्यो तर यो फिल्मबाट मैले धेरै दर्शकको प्रतिक्रिया पाएँ । फिल्म हिट वा फ्लप हुने कलाकारको हातमा हुँदैन । तर यो फिल्म हिट भएपछि अझै राम्रो गर्नुपर्छ भन्ने ऊर्जा आएको छ,’ उनले भनिन् ।

धेरै कमाइ गर्ने सिरिज फिल्म हो ’छक्का पन्जा’। चौथो संस्करणले पनि राम्रो गर्ने बेनिशाको अनुमान थियो । ‘छक्का पन्जा एउटा ब्रान्ड नै भइसक्यो । त्यसैले लोभ चाहिँ थियो,’ उनले भनिन् ।

बेनिशालाई फिल्ममा सफलताको स्वाद चाख्ने लोभ बालापनमा पनि थियो। चितवनको गीतानगरमा जन्मिएकी बेनिशा नाचगानमा रमाउँथिन् । नृत्य प्रतियोगिताहरूमा चिटिक्क भएर सहभागी हुँदा उनलाई लाग्थ्यो, ‘म हिरोइन बन्छु ।’

पढाइमा पनि उनी मेहनती थिइन् । कक्षामा प्रायः प्रथम हुन्थिन् । त्यसैले पछिपछि उनको ध्यान र समय पढाइमै लाग्यो । यसबीच उनले आफ्नो सपना भुलिन् । उनका बुवाआमा छोरी डाक्टर वा इञ्जिनियर बनोस् भन्ने चाहन्थे । एसएलसीमा गणित विषयमा कम नम्बर आएपछि बेनिशाले पत्रकारिता पढ्ने निधो गरिन् । उनलाई समाचार वाचन गर्ने पनि रहर थियो ।

शान्ति एकेडेमीमा पत्रकारिता पढ्दै गर्दा उनले कालिका एफएममा काम गर्ने अवसर पाइन् । आरजे (रेडियो जक्की) नै बन्छु भनेर सोचेकी थिइनन् । साथीहरूको उक्साएपछि पुगेकी थिइन् ।

कलेज पढ्दै पैसा कमाउने भएपछि उनी दंग परिन ्। त्यहाँ एक वर्ष काम गरेपछि स्नातक पढ्न उनी काठमाडौं आइन् । काठमाडौं आएपछि च्यानल नेपालमा काम गरिन् । त्यहाँ फिल्म सम्बन्धी कार्यक्रम चलाउँथिन् ।

फिल्मी कार्यक्रम चलाउँदै गर्दा उनलाई फिल्ममा खेल्ने प्रस्ताव आउन थाल्यो । प्रशन्न पौड्यालले उनलाई फिल्म ’स्वर’ का लागि प्रस्ताव गरे । त्यति बेलासम्म हिरोइन बन्ने उनको रहर मरिसकेको थियो । फिल्ममा त काम नगर्ने भनेर अडानै लिएर बसेकी थिइन् ।
स्वरमा भने आफूलाई सुहाउँदो भूमिका भएपछि उनलाई गरौं न त भन्ने लाग्यो । ‘त्यति बेला त नेपाली फिल्म पनि हेर्छन् र भन्ने थियो । त्यसैले नेपाली फिल्ममा काम गर्छु भन्दा साथीहरूले के भन्ने हुन् भनेर हिच्किचाइरहेकी थिएँ,’ उनले भनिन्, ‘फिल्मको स्क्रिप्ट पढेपछि रमाइलो लाग्यो । यही फिल्म मेरो पहिलो र अन्तिम हो भनेर गरेँ ।’

फिल्ममा काम गर्न उनलाई घरबाट अनुमति भएन । निर्देशकले बेनिशाका बुवासँगै कुरा गरे । बुवाले पहिला पढाइ सकोस् अनि भन्ने जवाफ दिए । बेनिशाले पढाइमा कुनै असर नगर्ने बाचा गर्दै बुवालाई मनाइन् ।

स्वर नै पहिलो र अन्तिम फिल्म भन्ने सोचेकी थिइन् उनले । तर फिल्म प्रदर्शन भएपछि उनलाई अझै काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । ‘फिल्म एउटा लत नै रहेछ । रिलिजपछि जुन प्रतिक्रिया र पहिचान पाएँ, त्यसले थप काम गर्न मन लाग्यो । तर तीन–चार वटा फिल्म खेलिसक्दा पनि यही पेसा अपनाउँछु भन्ने चाहिँ थिएन,’ उनले भनिन् । यही क्रममा उनी ’कालो पोथी’ फिल्मको छायांकन गर्न मुगु पुगेकी थिइन् । त्यहाँ रातभर सुत्न सकिनन् ।

अनि निर्देशक मिनबहादुर भामलाई गएर भनिन्, ‘मलाई गाह्रो भइरहेको छ । म काम गर्न सक्दिनँ, काठमाडौं पठाइदिनू ।’
मिनबहादुरले उनलाई भनेछन्, ‘तपाईंलाई केही भएको होइन। तपाईंले धेरै सोचेर एन्जाइटी (चिन्ता) भएको हो ।’ त्यति बेला उनले आफ्नो समस्याबारे थाहा पाइन् ।

बेनिशा भन्छिन्, ’मिनबहादुर भामको सहयोग र मुगुको वातावरणले मलाई एन्जाइटीबाट निस्किन सहयोग भयो ।’ यसमा काम गरेपछि उनले कला क्षेत्रलाई नै पेसा बनाउने सोचिन् ।

‘यो फिल्म छायांकन गर्न बाहिरबाट मान्छे आउनुभएको थियो। यो टिममा सबै अनुशासित भएर काम गरेको देखेँ । उहाँहरूको मेहनत देखेर मेरो गन्तव्य के हो भनेर सोच्न बाध्य भएँ । कला क्षेत्रमै लाग्ने हो भने मैले मेहनत गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भनिन् ।

मुगुबाट फर्किएपछि उनले सुनिल पोखरेलसँग तीन महिनाको रंगमञ्च कक्षा लिइन् । अभिनय सिकिन् । आफ्नो फिल्मी करिअरप्रति गम्भीर बन्दै गएकी बेनिशाले सोचेजस्तो फिल्म भने पाइरहेकी थिइनन् । पछि निर्देशक सिमोश सुनुवारले एउटा फिल्मको कथा उनलाई सुनाए । तर, बेनिशालाई अभिनेत्री लिने सोच सिमोशको थिएन । कथा सुनेपछि बेनिशा आफैंले काम मागिन् । आफ्नो जन्मदिन आउँदै गरेको भन्दै उनले उपहार स्वरूप फिल्ममा भूमिका मागिन् ।

सिमोशले पनि ’ल जन्मदिनको उपहार भयो !’ भन्दै उनलाई ’झ्यानाकुटी’ मा भूमिका दिए। झ्यानाकुटीमा बेनिशाले सानो बच्चाको आमाको भूमिका निर्वाह गर्नुपर्ने थियो । यसअघि उनी ‘ब्लाइन्ड रक्स’ मा सृष्टि केसी बनेकी थिइन् । पात्रमा भिज्न सृष्टिसँग लामो समय बिताएकी बेनिशाको बोली र हिँडाइमा सृष्टिकै झलक पाइन्थ्यो । झ्यानाकुटीको सेटमा पनि बेनिशामा सृष्टिकै भूमिका हावी भयो ।

‘छायांकन गर्न हामी धम्पुस गएका थियौं । त्यहाँ एक जना महिलालाई देखेँ । उहाँको सानो छोरा थियो । उहाँलाई नियालेपछि फिल्ममा काम गर्न सजिलो भयो । यो फिल्म आफूलाई प्रमाणित गर्ने राम्रो अवसर थियो। त्यसैले आफ्नो तर्फबाट सक्दो मेहनत गर्न चाहन्थेँ,’ उनले भनिन् । नभन्दै यो फिल्मबाट बेनिशाले चर्चा बटुलिन् । उनका संवादहरू सामाजिक सञ्जालमा भाइरल भए । ’ब्लाइन्ड रक्स’ बाट राष्ट्रिय अवार्ड जितिन् । बक्स अफिसमा भने सोचे जस्तो कमाइ भएन ।

यसपछि उनले हरर फिल्म ‘घर’ मा काम गरिन् । छायांकनमा जानुभन्दा केही समयअघि मात्र उनी यो फिल्ममा जोडिएकी थिइन् । ‘राम्रो टिम र फरक भूमिका पाए गर्छु भनेकी थिएँ। काम सुरू गरेपछि छोटो समयमै म कुनै पात्रमा भिज्न नसक्ने रहेछु भनेर बुझेँ । यो फिल्म हेर्दा अझै राम्रो काम गर्न सक्थेँ भन्ने लाग्छ,’ उनले भनिन् ।

बेनिशाको अभिनय करिअर अघि बढिरहेको थियो । उनलाई फिल्म निर्देशनमा पनि रूचि भयो । फिल्म मेकिङ पढ्न भारतको मुम्बई पुगिन् । कोरोना महामारीका कारण पढाइ पूरा गर्न सकिनन् । उनले निर्देशक बन्ने सपना भने पूरा गरिन्, छोटो फिल्म ‘मिसिङ ब्राइड’ निर्देशन गरेर । उनले आफ्नै निर्माण कम्पनी ’माउरी पिक्चर्स’ बाट फिल्म बनाएकी हुन् । यसलाई ’सिनेमाघर’ एपबाट प्रदर्शन गर्ने तयारी छ ।

‘यो फिल्म बनाउँदा कलेजमा पढेभन्दा धेरै सिक्ने अवसर पाएँ। आफैंले काम गर्दा कति मेहनत लाग्दो रहेछ थाहा पाएँ,’ उनले भनिन् ।
‘मिसिङ ब्राइड’ साइकोलोजिकल थ्रिलर फिल्म हो । फिल्मको कथा उनले दुई वर्षदेखि आफ्नै दिमागमा बुनिरहेकी थिइन् । कागजमा भने उनले एक रातमै उतारेको उनी बताउँछिन् ।

बेनिशा लकडाउनको समयमा नेपाल फर्किएकी थिइन् । त्यसैले उनी नेपाल आएको धेरैलाई थाहा थिएन ।

‘कलाकार जति क्रियाशील भयो, त्यति कामको प्रस्ताव आउँछ । म मुम्बई गएको सबैलाई थाहा भयो तर लकडाउन भएकाले नेपाल आएको थाहा भएन । तैपनि म डान्स, भ्वाइस मोडुलेसन र वर्कआउट गरिरहन्थेँ,’ उनले भनिन ्। यही सिलसिलामा एउटा फिल्मको प्रिमियरमा बेनिशाको भेट दीपकराज गिरीसँग भयो । उक्त भेटमा दीपकले बेनिशालाई सोधे, ’तिमी असारमा खाली छौ ?’

उनले खुसी हुँदै छु भनिन्। ‘हामी सँगै काम गर्छौं है,’ दीपकले भने । दीपकको प्रस्ताव सुनेर बेनिशा उत्साहित भइन् । तर एक महिनासम्म फिल्मको कुरै अगाडि बढेन । उनलाई कहिलेदेखि छायांकनमा जाला भन्ने खुल्दुली लाग्न थाल्या े। सोध्ने हिम्मत भने गरिनन् ।

‘उहाँहरूको टिमसँग जोडिनु भनेको व्यावसायिक रूपमा सफलता पाउनु हो। कलाकारको हिसाबले धेरै दर्शकले आफ्नो फिल्म हेरिदिऊन् भन्ने नै हुन्छ,’ उनले भनिन् । एक दिन उनलाई दीपाश्री निरौलाको फोन आयो । एक चरणमा कुरा भइसक्यो होला भन्दै उनले छिट्टै भेट्ने कुरा गरिन् । केही समयपछि छक्का पन्जा टिमसँग उनको भेट भयो । उनीहरूले कथा सुनाए ।

‘मलाई पहिला फिल्म व्यावसायिक रूपमा हिट हुनुपर्छ भन्ने लाग्दैन थियो । पहिला काम राम्रो हुनुपर्छ भन्ने लाग्थ्यो । अहिले फिल्ममा कसैको लगानी हुन्छ । त्यसैले व्यावसायिक रूपमा पनि राम्रो गरियोस् भन्ने लाग्छ,’ उनले भनिन् । छक्का पन्जा ४ ले बेनिशाको फिल्म हिट हुँदैन भन्ने धारणा तोडिदिएको छ ।

‘सफलता भनेको सन्तुष्टि हो। मान्छे जुन उचाइमा पुगे पनि खुसी छैन भने त्यसको कुनै अर्थ हुँदैन,’ उनले भनिन् ।

 

(संगिता गिरी, सेतोपाटी)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>