अन्तर्राष्ट्रिय

फेसबुकका पूर्व कर्मचारीको खुलासा, फेसबुकले यसरी गुपचुप सिध्याउँछ फोनको ब्याट्री

Banner

के तपाईंको फोनको ब्याट्री तीव्र गतिमा सकिने गरेको छ? तपाईंले आफ्नो फोनमा फेसबुक लगायतका कतिवटा एपहरु इन्स्टल गर्नुभएको छ? उसो त कतिपय एपले फोनको ब्याट्री खपत उच्च गर्दछन् र ब्याट्री लाइफ घटाउने गर्दछन् । तर कतिपय एपले भने उनीहरुकै फाइदाका लागि प्रयोगकर्ताको ब्याट्री सिध्याइरहेका हुन्छन् । फेसबुकका बारेमा पनि यस्तै समाचार बाहिरिएको छ ।

विश्वका करीब ३ अर्ब मानिस फेसबुक प्रयोग गर्दछन् । फेसबुक चलाउँदा चलाउँदा फोनको ब्याट्री रित्तिएको समेत कतिलाई पत्तो हुदैन । तर फेसबुक चलाइरहेको बेलामा मात्र होइन फेसबुकले अघिपछि समेत गुपचुप रुपमा फोनको ब्याट्री प्रयोग गरेर सिध्याइदिने गरेको खुलासा भएको छ । प्रयोगकर्ताको स्मार्टफोनको ब्याट्रीलाई फेसबुकले आफ्नो फाइदाका लागि उपयोग गर्ने गर्दछ । फेसबुककै एक पूर्व कर्मचारीले यसको खुलासा गरेका हुन् ।

कम्पनीका ती पूर्व कर्मचारीका अनुसार फेसबुकले जानीजानी प्रयोगकर्ताको स्मार्टफोनको ब्याट्री रित्याइदिने गरेको छ । नेगेटिभ टेस्टिङ भनिने प्रक्रियाका क्रममा फेसबुक एपले प्रयोगकर्ताको स्मार्टफोनको ब्याट्रीको उर्जा खपत गर्दछ । उनले यही विषयमा फेसबुक विरुद्ध अमेरिकाको एक संघीय अदालतमा मुद्दा हालेका छन् ।

के हो नेगेटिभ टेस्टिङ ?

डेटा वैज्ञानिक समेत रहेका फेसबुकका पूर्व कर्मचारी जर्ज हेवार्डले यसको बारेमा जानकारी दिएका हुन् । उनका अनुसार फेसबुकले Negative Testing गर्दछ, जसबाट कुनैपनि प्रयोगकर्ताको मोबाइल फोनको ब्याट्री तीव्र गतिमा रित्तिन्छ । यो प्रकारको परीक्षण उसले आफ्नो प्लाटफर्मका विभिन्न फिचरहरुको जाँचका लागि गरिरहेको हुन्छ ।

एप कति तीव्र रुपमा चलिरहेको छ तथा एपमा के के समस्या छन् भन्ने पत्ता लगाउन पनि यो परीक्षण गरिन्छ । तर फेसबुकले यो सबै गरिरहँदा प्रयोगकर्ताले भने त्यसको कुनै पत्तो पाउँदैनन् ।

जागिरबाट बर्खास्त

शोधकर्ताहरुले सोसल मिडिया कम्पनीको यस्तो गतिविधिलाई हानिकारक भनेका छन् । ३३ वर्षीय पूर्व कर्मचारी जर्ज हेवार्डका अनुसार उनले त्यस विषयमा फेसबुकका व्यवस्थापकसँग कुरा गरेका थिए । तर फेसबुक व्यवस्थापनले भने केही मानिसलाई नोक्सान पुग्दा धेरै मानिसहरुलाई लाभ पुगिरहेको जवाफ दिए । उनले फेसबुक विरुद्ध म्यानहटन संघीय अदालतमा मुद्दा दायर गरेका छन् ।

फेसबुक मेसेन्जर एपमा काम गर्ने ती पूर्व कर्मचारीलाई फेसबुकले प्रयोगकर्ताहरुको एपमा नेगेटिभ टेस्टिङ गर्ने जिम्मा दिएको थियो, तर उनले अस्विकार गरे । त्यसपछि उनलाई गत नोभेम्बरमा फेसबुकले जागिरबाट बर्खास्त गरको थियो । उनी स्न् २०१९ देखि फेसबुक कम्पनीमा कार्यरत थिए ।

नेगेटिभ टेस्टिङ कति प्रयोगकर्तामाथि परेको छ भन्ने एकिन तथ्यांक नरहेको पनि उनले बताएका छन् । तर आन्तरिक तालीमका क्रममा फेसबुकले आफुलाई How to run thoughtful negative tests  शीर्षकको तालीम सामाग्री उपलब्ध गराएको र त्यसबाटै धेरै प्रयोगकर्ताहरु नेगटिभ टेस्टिङको सिकार बनिरहेको उनको दाबी छ ।

आफूले त्यो भन्दा डरलाग्दो कागजात आफ्नो जीवनमा अरु कुनैपनि नदेखेको उनको भनाइ छ । तर फेसबुकको मातृ कम्पनी मेटाले भने यस बारेमा कुनै प्रतिक्रिया जनाएको छैन । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>