भिडियो

‘पृथ्वीनारायण शाह’ का बारेमा फिल्म बनाउँदै रमित ढुङ्गाना

Banner

काठमाडौं,पुस २७-

नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहका बारेमा अभिनेता रमित ढुङ्गानाले चलचित्र बनाउने बताएका छन् । चलचित्र विकास बोर्डमा रमित ढुंगाना फिल्म प्रोडक्सन प्रालिको तर्फबाट ‘पृथ्वीनारायण शाह’ शीर्षकमा फिल्म दर्ता भएको छ ।

बुधबार पृथ्वी जयन्ती मनाइरहँदा रमितले यो फिल्मको पटकथा लेखन भइरहेको जानकाररी दिए । बायोपिक जनरामा निर्माण हुने फिल्मको स्क्रिप्टलाई शिवम् अधिकारीले दुई वर्षदेखि लेखिरहेको रमितले बताए ।

‘अहिले हामी यसका लागि अध्ययन अनुसन्धानमा जुटिरहेका छौं । तथ्य गलत हुनुभएन । विदेशीसँग तुलना गर्दा पनि राम्रो देखिनुपर्‍यो । सबै नेपालीले गौरव गर्ने फिल्म बनाउने हाम्रो उद्देश्य हो,’ अनलाइनखबरसँग रमितले भने ।

बोर्डमा फिल्म दर्ता गर्दा यसको बजेट एक करोड रुपैयाँ उल्लेख भए पनि अहिले भने निकै महंगो पर्न आउने देखिएको रमितको भनाइ छ । यसका लागि नेपाली सेनासँग पनि सहकार्यका लागि छलफल भइरहेको उनले बताए । ‘पृथ्वीनारायण शाह नेपाली सेनाको संस्थापक भएकाले पनि सेनासँग सहकार्य गर्न सकिन्छ कि भनेर कुरा भइरहेको छ । छायांकनका लागि आवश्यक शस्त्रअस्त्रका कुरामा पनि सेनाले सहयोग गर्न सक्छ,’ उनले भने, ‘सेनाबाहेक सरकारसँग पनि यसबारे कुरा हुन्छ ।’

फिल्मका लागि भनेर गत महिना रमित गोरखा दरबारमा पनि अध्ययन अवलोकनका लागि पुगेका थिए । सिन्धुलीगढी पनि पुगेर तथ्य संकलनको कार्य भइरहेको उनले जनाए । ‘गरेपछि राम्रो गर्नुपर्छ भन्ने हो । गाह्रो पक्कै छ तर हामी अघि बढ्छौं,’ उनले भने । पृथ्वीनारायण शाह फिल्मलाई नेपालीसहित विभिन्न भाषामा निर्माण गर्ने योजना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>