समाज

तपाईँ दायाँ लेनबाट गाडी चलाउँदै हुनुहुन्छ ? सावधान, कारबाहीमा पर्नुहोला

Banner

भक्तपुर, पुस १-

तपाईँ आफ्नो गाडी सडकको कुन लेनबाट चलाउँदै हुनुहुन्छ रु भाडाका गाडी हो भने कतै दायाँ लेनबाट चलाउँदै त हुनुहुन्न रु सावधान, तपाईँ ट्राफिक प्रहरीको कारबाहीमा पर्नुहोला । कोटेश्वरपूर्व भक्तपुरमा रहेको छ लेन सडकमा बढ्दो गाडी दुर्घटना न्यूनीकरणका लागि बस, माइक्रोबसलगायत भाडामा चल्ने सम्पूर्ण गाडीलाई दायाँ लेनबाट गाडी चलाउन निषेध गरिएको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लाका चारवटै पालिकाका मेयर, उपमेयर, जिल्ला समन्वय समिति भक्तपुर, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायीका प्रतिनिधि एवं सरोकारवाला सम्मिलित बृहत् बैठकले भाडाका गाडीलाई बायाँ लेनमा मात्रै गुड्न पाउनेसहितको १४ बुँदे निर्णय गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रजिअ शर्माले यो निर्णयलाई कार्यान्वयनमा ल्याउँदै भाडाका गाडीलाई बायाँतर्फको लेनमा मात्र गुड्न आह्वान गरिएको बताउँदै अटेर गर्ने चालकलाई कारबाही हुने बताउनुभयो । भाडाका बस दायाँ लेनबाट हुइँकिएर बायाँ लेनमा प्रवेश गर्दा र जुन पायो त्यही लेन प्रयोग गर्दा दुर्घटना बढेको पाइएपछि नेपालसहित अन्तर्राष्ट्रिय ट्राफिक नियमलाई कार्यान्वयनमा ल्याउँदै दुर्घटना घटाउन यो निर्णय लागू गरिएको उहाँले बताउनुभयो ।

उहाँले भाडाका गाडी बायाँ साइडबाट मात्र चल्ने व्यवस्था कडाइका साथ लागू गर्ने, तोकिएको ठाउँमा मात्रै यात्रु चढाउने र ओराल्ने, उच्च गतिलाई न्यूनीकरण गर्ने, लेन अनुशासन पालना गराउने, भाडाका गाडीमा भाडादर यात्रुले देख्ने गरी राख्ने, ज्येष्ठ नागरिक, अपाङ्गता, अशक्त, गर्भवतीलाई गाडी चढाउँदा र ओराल्दा विशेष सहजीकरण गरिदिने, आरक्षण सिटको पूर्ण पालना गराउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रजिअ शर्माकाअनुसार चालक, सहचालकको बोली, व्यवहार, आचरण यात्रुमैत्री बनाउने, राजमार्ग तथा सडकपेटीमा थुपारिएका सामग्री तत्काल हटाउन लगाउने, जिल्लाभित्रका सडक निर्माण तथा मर्मतको काम सम्बन्धित कार्यालयले गर्ने, ट्राफिक नियम कडाइका साथ पालना गराउने, सडकको खाल्डाखुल्डी पुर्ने, चोक जक्सनमा ट्राफिक लाइट, सडक सङ्केत बोर्ड व्यवस्था गर्नेलगायतका निर्णय कार्यान्वयनमा ल्याइएको छ।

भाडाका गाडीलाई बायाँ लेनमा मात्र गुड्न पाउने निर्णयलाई कडाइ गरिने बताउँदै महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका ट्राफिक प्रहरी निरीक्षक राजु कार्कीले अटेर गर्ने चालकलाई अब कारबाही गरिने बताउनुभयो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भक्तपुरमा गएको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा एक सय ६९ वटा गाडी दुर्घटनामा नौ जनाको ज्यान गएको र १४ जना गम्भीर घाइते भएको जानकारी दिनुभयो । उहाँले भक्तपुर सडकमा मोटरसाइकल चालक र भाडाका गाडी चालकको लापरवाहीले दुर्घटना बढेको बताउनुभयो ।

ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक अवदेश विष्टले गाडी दुर्घटनालाई न्यूनीकरणका लागि गरिएको निर्णय कडाइका साथ लागू गर्ने बताउँदै यातायात व्यवसायीमार्फत् भाडाका सबै गाडी चालकलाई बायाँ लेनमात्रै प्रयोग गर्न गराउन आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपमेयर सरिता भट्टराई र भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले दुर्घटना रोक्न चालिने कदमका लागि आवश्यक सामान र पूर्वाधारमा सहयोग गर्न नगरपालिकाहरू तयार रहेको बताउनुभएको थियो ।

नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेत, नेकपा ९एमाले० का सचिव मोहनवीर श्रेष्ठलगायतले सडकका पूर्वाधार, सडक चिह्न र सडकबत्तीको आवश्यकता रहेको औँल्याउनुभयो । सडकमा रहेको अव्यवमा रहेको पार्किङ दुर्घटनाको अर्को कारण भएको बताइएको थियो ।

अरनिको यातायातका पूर्वअध्यक्ष केदार क्षेत्री, काभ्रे यातायात, ख्वपः यातायात, मयुर यातायातलगायत यातायात प्रालिका प्रतिनिधिले दुर्घटनाको प्रमुख कारण तीव्रगतिका मोटरसाइकल भएको जिकिर गर्दै दुर्घटनापछि घाइते र मृतकका परिवारले रकममा बार्गेनिङ गर्ने गरेको बताउनुभयो।

सडक आयोजनाका प्रमुख रवीन्द्रलाल दास, पूर्वाधार कार्यालयका प्रमुख भरत यादव, डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासिनीलगायतले बजेट कम हुँदा सडकमा आवश्यक पूर्वाधारको व्यवस्था गर्न नसकिएको बताउनुभयो । प्रत्येक १५ दिनमा निर्णय कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिन सडक अनुगमन गरिने भएको छ। रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>