Breaking News

फिल्डमै उत्रिए प्रदेश सांसद जोशी, अलपत्र सडकको काम अघि बढाउँदै

Banner

चितवन, मंसिर १६–

चितवन २ (ख) का नव–निर्वाचित प्रदेश सांसद उत्तम जोशी अलपत्र परेका विकास निर्माणको काम अघि बढाउन आँफै फिल्डमा उत्रिएका छन् ।

निर्वाचित भए लगत्तै काममा खटिएका जोशीले भरतपुर महानगर–५ नारायणपुरमा अलपत्र सडकको काम सुरु गराएका छन् । नारायणपुरचोकदेखि ओलीचोकसम्मको नौं सय मिटरको सडकको काम तत्काल अघि बढाउन उनले निर्देशन दिएलगत्तै निर्माण कम्पनीले काम सुरु गरेको छ ।

डेढ वर्षदेखि अलपत्र उक्त सडक निर्माणको ठेक्का कृपा कन्सट्रक्सनले पाएको छ । नौं सय मिटर लामो उक्त सडक ६ मिटर चौडा हुनेछ । सांसद जोशीले फिल्डमै उत्रिएर निर्देशन दिएपछि कृपा कन्सट्रक्सनका सञ्चालक कमल आचार्यले १५ दिनमा काम सक्ने बताएका छन् ।

यस्तै उनले भरतपुर–११ मुनालचोकदेखि ईन्द्रपुरी सिमाना, छ मुखेचोकदेखि चिजकुमार चोकसम्मको बाटोको काम पनि एक साता भित्र सुरु गर्न निर्देशन दिएका छन् । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको बजेटमा निर्माण थालिएको उक्त सडकको ठेकदार कम्पनी अहिले सम्पर्कविहिन रहेको छ ।

जोशीले भरतपुर महानगरपालिकाका इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीलाई एक साता भित्र काम अघि बढाउने गरी ठेकदार कम्पनीलाई झिकाउन निर्देशन दिएका छन् । ठेकेदार कम्पनीले काम अघि बढाउन आनाकानी गरे लाइसेन्स खारेजको प्रकृया अघि बढाउने जोशीको चेतावनी छ ।

यस्तै जोशीले भरतपुर–११ को जनोदय समन्वय टोलमा रहेको खानेपानीको समस्या तत्काल समाधान गर्न पनि निर्देशन दिएका छन् । करिब पाँच सय मिटर पाइप बिछ्याउने काम हुन नसक्दा केही घरमा खानेपानीको समस्या रहेको छ । एक साताभित्र यो समस्या पनि समाधान हुने जोशीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>