Breaking News

चितवन सयपत्री फूलमा आत्मनिर्भर, तिहारलाई एउटा मालाको १०० रुपैयाँ मूल्य निर्धारण

Banner

प्रतिमा कुमाल

चितवन, कात्तिक–१

तिहारलाई लक्षित गर्दै चितवनमा सयपत्री फूलको मालाको मूल्य निर्धारण भएको छ । चितवनका फूल व्यवसायी तथा पुष्प खेती गर्ने कृषकहरुले सयपत्री फूलको मालाको मूल्य निर्धारण गरेका हुन् ।

कृषकहरुले आज (मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी १०० रुपैयाँ भन्दा बढीमा सयपत्री फूलको माला खरिद–बिक्री नगर्न आग्रह गरेका छन् । खुला माला उन्ने फूल भने किलोको ३०० देखि ४०० सम्म पर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा फूलमाला फारम कालिका नगरपालिका–२ का गोविन्द बास्तोलाले सयपत्री फूलको एउटा मालाको खुद्रा मूल्य ९० देखि १०० रुपैयाँ निर्धारण गरिएको बताए । उनले भने, ‘तिहारमा सयपत्री फूलको मालाको माग बजारमा धेरै छ । यस समय किसानसँग ४०–५० मा किनेर बिचौलियाहरुले १५० देखि २०० सम्ममा बिक्री गर्छन् । बिचौलिया मोटाउन नदिन जिल्लामा सयपत्री फूलको मालाको खुद्रा मुल्य ९० देखि १०० रुपैयाँ, होलसेल मूल्य ६० देखि ७० रुपैयाँ निर्धारण गरेका छौं ।’

यो मूल्य तिहारसम्म मात्र लागू हुने बास्तोलाले जानकारी दिए । त्यसपछि सयपत्री फूलको मालाको होलसेल मूल्य ५० र खुद्रा मूल्य ७० रहेको बताए । निर्धारण गरेको मूल्य भन्दा बढी मूल्य मागे उपभोक्ताले फेसबुक पेज सयपत्री उत्पादन समूह चितवन मार्फत् जानकारी गराउन अनुरोध गरे ।
सम्मेलनमा बास्तोलाले स्वदेशी फूलको माला खरिद गर्न समेत आग्रह गरेका छन् । तिहारका साथै अन्य समयमा इण्डियन माला भित्रिने गरेकोले स्वदेशी उत्पादनले बजार नपाएको उनले गुनासो गरे । उपभोक्ता सचेत भए खाडीको विकल्प फूल खेती हुनेमा उनले जोड दिए ।

पुष्प कृषक एवम् रत्ननगर नगरपालिका कृषि शाखाका प्रमुख प्रविण लामाले सयपत्री फूलको एक केजीको खुद्रा मुल्य ३५० देखि ४०० मूल्य रहेको बताए । होलसेलमा ३०० मा उपभोक्ताले खरिद गर्न पाउने उनको भनाइ छ । एक केजी फूलबाट ४ देखि ५ वटा माला निस्कने जानकारी दिए । इन्डियन सयपत्री फूलको माला र नेपाली मालाको मूल्य बजारमा समान रहेकाले स्वदेशी उत्पादनलाई माया गर्न आग्रह गरे ।

पुष्प कृषक लक्ष्मी सापकोटाले व्यापारीहरुले १८ रुपैयाँमा सयपत्री फूल माग्ने गरेको बताए । उनले भने, ‘ भारतबाट १८ रुपैयाँमा सयपत्रीको माला पाइन्छ भन्छन् । सोही दाममा हामी सित माग्छन् । हाम्रो माला उन्दा, फुल टिप्दाको खर्च नै १२ रुपैयाँ हुन्छ । त्यसमा बिषादी, खनजोत, मल, विरुवा गर्दा ४० देखि ५० रुपैयाँ पुग्छ खर्च । बिचौलियाहरुले फाइदा धेरै खानको लागि भारतीय फूल खरिद गरी बिक्री गर्ने गरेको उनको भनाइ थियो ।
यस्तै रत्ननगरमा सामुहिक पुष्प खेती गरिरहेका सुन्दर बस्नेतले पुष्प खेती गर्ने किसानहरुको संगठन फोलोरी कल्चर एशोसिएसनले मूल्य निर्धारण गर्न नसके पछि किसान आफै अगाडि बढेको बताए । बस्नेतले एशोसिएसनमा कृषक भन्दा व्यापारीले ठाउँ ओगटेर बसेकाले भारतबाट खुलेआम फुलहरु भित्रिएको आरोप लगाए । उनले भने, ‘फ्लोरी कल्चर एशोसिएसनको पदमा कृषक छैनन् । व्यापारी छन् । आफै बिचौलिया भएपछि मिलोमतोमा इन्डियाबाट फूल ल्याउँछन् । एसोशिएसन भएर पनि मूल्य निर्धारण गर्न सक्दैन ।’

सम्मेलनमा फ्लोरी कल्चर एशोसिएसनका जिल्ला कोषाध्यक्ष सुलभ श्रेष्ठले ८० देखि १०० रुपैयाँमा सयपत्री फूलको माला बिक्री गर्न आग्रह गरेका छन् । उनले भने, ‘भर्खरै केन्द्रसँँग कुरा भयो, मेरो तिहारमा व्यापारीले ८० देखि १०० रुपैयाँमा सयपत्री बिक्री गर्न पाउने छन् । सोही अनुसार खरिद बिक्री गर्न आग्रह गर्दछु ।’

कोषाध्यक्ष श्रेष्ठले चितवन सयपत्री फूलमा आत्मनिर्भर भइसकेको बताए । ८० प्रतिशत उत्पादन जिल्लामा हुने गरेको उनको भनाइ थियो । ‘बाँकी २० प्रतिशत गाउँघरमा आ–आफ्नो घरमा पनि सयपत्री रोपिने हुदा चितवन सयपत्रीमा आत्मनिर्भर छ,’ उनको भनाइ थियो । जिल्लामा करिब ६ लाख माला आवश्यक पर्नेमा करिब ५ लाख उत्पादन यहाँका पुष्प किसानले गर्छन् । व्यवसायिक रुपमा जिल्लामा १० देखि १२ जना पुष्प कृषक छन् । मौसमी अर्थात तिहार लक्षित पुष्प खेती गर्ने १०० भन्दा माथि रहेको एशोसिएसनले जानकारी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>