चितवन विशेष

इँटा उद्योग कामदारको राष्ट्रिय सम्मेलन सौराहामा सुरु

Banner

भरतपुर, असोज ३१-

चितवनको सौराहामा इँटा उद्योग कामदारहरूको राष्ट्रिय सम्मेलन सुरु भएको छ । आइतबारदेखि सुरु भएको सम्मेलनको आज उद्घाटन गरिएको छ ।

सम्मेलनको आयोजक संस्था ग्लोबल फेयरनेस इनिसियटिभ काठमाडौँका अनुसार सम्मेलनमा ४० उद्योगमा कार्यरत विभिन्न १८ जिल्लाका एक सय आठ जनाको सहभागिता रहेको छ । ‘कामदारमैत्री उद्योग, उद्योगमैत्री स्थानीय शासन र नीति’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलन आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोजक ग्लोबल फेयरनेस इनिसियटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डितले जानकारी दिनुभयो ।

ग्लोबल फेयरनेस इनिसियटिभले सन् २०१४ देखि ‘बेटर ब्रिक नेपाल’ परियोजना सञ्चालन गरेर इँटा उद्योगमा काम गर्ने कामदारहरूको श्रमसँग सम्बन्धित विभिन्न पाँच वटा मुद्दामा काम गर्दै आएको पण्डितले बताउनुभयो । कामदारको श्रमसँग सम्बन्धित मुद्दालाई सम्बोधन गर्दै इँटा उद्योगको रूपान्तरण, बालश्रम निषेध, श्रमिकको बालबालिकाको शिक्षा, बाध्यात्मक श्रम निषेध तथा कामदार र उद्योगीको व्यवहारसहितका मुद्दामा काम गर्दै आइरहेको पण्डितको भनाइ छ ।

इँटा उद्योगको गुणस्तरमा विकास, धुवाँ उत्सर्जनको नियन्त्रणमा टेवा पुर्‍याउन प्रदूषण मापन तथा मापदण्डभित्र राख्न लगाउने, रोजगारदाता र श्रमिकको सम्बन्ध सुधारमा काम गर्ने सरकारी ऐनको कार्यान्वयन र पालना गराउनेलगायतका विषयमा ग्लोबल फेयरनेस इनिसियटिभले काम गर्दै आएको छ । नेपालमा हाल एक हजार दुई सय ९६ भन्दा बढी इँटा उद्योगहरू कानूनीरूपमा सञ्चालनमा छन् । परियोजना आगामी जुन २०२३ सम्म सञ्चालन हुने भन्दै पण्डितले अहिलेसम्म संस्थाको तर्फबाट धेरै काम गरिएको बताउनुभयो ।

इँटा उद्योगको श्रमिकहरूको राष्ट्रिय सरोकार परिषद् निर्माण गरिएको, इँटा उद्योग सञ्जाल गठन भएको, इँटा उद्योगको अुनगमन र निर्देशन गर्दै समस्याहरु राष्ट्रियस्तरमा लैजाने र समाधान गर्ने काम भइरहेको पण्डितको भनाइ छ । परियोजना सञ्चालनमा आएपछि उद्योगहरूमा ३४ वटा ईसीईसी केन्द्र सञ्चालन गरेर दुई हजार नौ सय २३ जना तीन वर्षमुनिका बालबालिकालाई अध्ययन गराइएको, हालसम्म एक हजार आठ सय २९ जना बालबालिकालाई विद्यालय पठाइएको पण्डितले बताउनुभयो । त्यस्तै, एक सय ५६ वटा बालश्रम मुद्दा समाधान गरिएको, २३ हजार एक सय ३८ जना कामदारलाई गुणस्तर तथा श्रम विषयमा तालिम प्रदान गरिएको पण्डितको भनाइ छ ।

संस्थाका कारण उद्योगीहरूलाई धेरै सहज भएको जैसवाल इँटा उद्योग सञ्चालक पवनकुमार मिश्रले बताउनुभयो । उद्योगले गर्नुपर्ने धेरै काम संस्थाले गरिदिएको भन्दै मजदुर र उद्योगीको बीचमा सम्बन्ध सुधार भएको मिश्रको भनाइ छ । ग्लोबल फेयरनेस इनिसियटिभले परियोजना लागू गरेपछि उद्योगमा काम गर्ने कामदारका बालबालिकाले शिक्षादीक्षा पाएका, बाध्यात्मक श्रम घटेको, कामअनुसारको उचित ज्याला पाएको, काम गर्ने समय निश्चित भएको मिश्रले बताउनुभयो ।

अहिले इँटा उद्योगमा काम गर्ने मजदुरका बालबालिका बाध्यात्मक श्रमबाट मुक्त हुँदै उचित शिक्षा लिने अवस्थामा पुगेका छन् । सम्मेलनको उद्घाटन सत्रमा श्रम रोजगार तथा सुरक्षा मन्त्रालयअन्तर्गतको दिगो विकास लक्ष्य कार्यक्रमकी नूतन शर्माले देशभरका एक हजार दुई सय इँटा उद्योगमा दुई लाख बढी कामदार कार्यरत रहेकोमा त्यहाँ ३० हजार बालबालिका रहेको बताउनुभयो ।

जोखिमपूर्ण क्षेत्रका रूपमा इँटा उद्योग रहेको भन्दै यसमा सरकारले विशेष निगरानी बढाउनुपर्ने शर्माको भनाइ छ । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ चितवनकी अध्यक्ष पार्वती घिमिरेले इँटा उद्योगहरूले सरकारका नीति, नियम पूर्णरूपमा पालना गर्नुपर्ने बताउनुभयो । उद्योगी र श्रमिकबीच सम्बन्ध विस्तार गर्दै जानुपर्ने भन्दै घिमिरेले सरकारले गर्ने काममा गैरसरकारी संस्थाहरू समन्वय गर्नु अत्यन्त राम्रो भएको बताउनुभयो । उद्योगमा काम गर्ने कामदारका बालबालिकाको अवस्था दयनीय हुने भएकाले उनीहरूको अधिकारका बारेमा सबै सचेत हुनुपर्नेमा घिमिरेले जोड दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>