चितवन विशेष

नारायणी नदी संरक्षणका लागि जल संवाद,नदी प्रदूषण रोक्नुपर्नेमा जोड

Banner

चितवन,असोज ६-

चितवन र नवलपुर हुँदै बग्ने नारायणी नदी संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकारवालाहरुले जोड दिएका छन् । पछिल्लो समय नदी प्रदूषित हुँदै गएको चिन्ता व्यक्त गर्दै सरोकारवालाहरुले नदीका कारण धेरै सम्भावना भएपनि नदी संरक्षण गर्न चुनौती रहेको बताएका छन् । बिहीबार नवलपुरको गैँडाकोटमा आयोजित सिमसार क्षेत्र पुनस्र्थापना र नारायणी तटीय सामुहिक प्रयास तथा कार्ययोजना सम्बन्धी तेस्रो जल सम्वाद कार्यक्रममा सरोकारवालहरुले नदी प्रदूषण रोक्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले हामीसँग भएका नदी तथा खोलाहरुले सम्भावना सँगै चुनौती थपेका बताउनुभयो । नदीका कारण बाढी, पहिरो र भूक्षयको जोखिम भएको उल्लेख गर्दै उहाँले खोलानाला तथा जलाधार क्षेत्रको संरक्षण गरेमामात्रै मानव जातिको अस्तित्व रहने बताउनुभयो ।

वातावरणलाई सफा, सुन्दर हराभरा बनाउनुपर्ने नदी तटीय वासिन्दाको दायित्व भएको कोइरालाको भनाइ छ । नदी तटबन्ध गर्दै स्थानीय ताल तथा जलाधार क्षेत्रहरुको संरक्षणमा नगरपालिका सधैँ सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो । नदी संरक्षण गर्ने जुनकुनै कार्यक्रममा पनि सहयोग गर्न नगरपालिका सधैँ तत्पर रहेको कोइरालाको भनाइ छ ।

सो कार्यक्रममा भरतपुर महानगरपालिका वतावरण शाखाकी जानुका केसीले भरतपुरको फोहोर व्यवस्थापनको काम भइरहेको बताउनुभयो । अहिले भरतपुरका विभिन्न स्थानबाट संकलन भएको फोहोर नदी किनारमा लगेर फालिएको भए पनि यसको दीर्घकालीन समाधान महानगरले खोजेको उहाँको भनाइ थियो । अहिले महानगरपालिकाले नगरभित्रका १५ देखि १८ वटा तालहरुको संरक्षण गरेको भन्दै केसीले ताल संरक्षणका लागि भण्डै साढे एक करोड रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

सिमसार क्षेत्र पुनस्र्थापना र नारायणी तटीय सामुहिक प्रयास तथा कार्ययोजनाका संयोजक दिनेश बस्ताकोटीले हामीले पानीको अत्यधिक प्रयोग गर्ने तर पानीको पुनः चक्रण हुने वातावरण बनाउन नसक्ने हो भने भविष्यमा एकपछि अर्को गर्दै समस्या निम्तिने बताउनुभयो । पछिल्लो समय पानीका मुहानहरु सुक्दै जाने अवस्था सिर्जना भइरहेको भन्दै बस्ताकोटीले त्यस्ता समस्या पहिचान गरी समाधानका उपायहरु अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । सञ्जाल गठन गरी पानी संरक्षणमा दबाब दिनुपर्ने आवश्यकता सिर्जना भएको उहाँको भनाइ छ ।

उक्त कार्यक्रममा विश्व वन्यजन्तु कोष नेपालको पानी कार्यक्रम अधिकृत अरुण देवानले सहरीकरण बढ्दै गएको अवस्थामा नदी संरक्षणमा चुनौती थपिएको बताउनुभयो । नारायणी नदी संरक्षणमा चुनौती थपिएको भए पनि यसको संरक्षण गर्नु हामी सबैको दायित्व भएको भन्दै देवानले संवाद कार्यक्रम गर्दा नदी तटीय क्षेत्रका प्रभावित र सरोकारवालाहरुबीच कुराकानी हुन सक्ने भएकाले जलाधार क्षेत्रको संरक्षणमा टेवा पुग्ने बताउनुभयो । नारायणी नदी सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको सहमति संस्थाका सदस्य दयासागर सुवेदीले बताउनुभयो ।

यसैबीच, नारायणी नदी संरक्षणका लागि भन्दै उक्त संवाद कार्यक्रमा सहभागीहरुमध्येबाट ‘नारायणी नदी तथा जलाधार संरक्षण सञ्जाल’ गठन गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपील घिमिरेको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सञ्जालको सदस्य सचिवको रुपमा सहमति गैँडाकोट रहेको छ भने अन्य संघसंस्थाहरु तदर्थ समिति सदस्यको रुपमा रहेका छन् ।

सञ्जालले कार्ययोजना तथा विधान निर्माण गरेर नदी तथा जलाधार क्षेत्र संरक्षणका लागि कार्यक्रमहरु अघि सार्ने बताइएको छ । जलाधार क्षेत्र संरक्षण सम्बन्धी पैरबी गर्दै संरक्षण सम्बन्धि गतिविधि गर्दै अघि बढ्ने सञ्जालको मुख्य उद्देश्य रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>