Breaking News

बाढीको जोखिम रहेको भरतपुर गोलाघाटका नागरिकलाई विपद्को उद्धार तालिम

Banner

प्रतिमा कुमाल

चितवन, असोज ६–

भरतपुर महानगरपालिका वडा नं.– २८ गोलाघाटका बासिन्दालाई विपद् जोखिम न्यूनिकरणका लागि कृक्रिम अभ्यास गराएको छ ।

मेड नेपालले बाढीको उच्च जोखिममा रहेका यहाँका बासिन्दालाई सुरक्षित राख्नको लागि आज आत्मरक्षा, खोज तथा उद्धार सम्बन्धी तालिम प्रदान गरेको हो ।

मेड नेपालको आयोजना तथा अष्टे«लियन लुथर वल्र्ड सर्भिस र लुथर वल्र्ड फेडेरेसन जेनेभाको आर्थिक सहयोगमा तालिम दिइएको थियो । कृत्रिम अभ्यास गोलाघाटको सिमा हुँदै बग्ने नारायणी नदीको किनारमा गरिएको थियो । अभ्यासमा बाढी आउदै गरेको थाहापाए पछिको तयारी कसरी गरिन्छ । बाढीमा परेकालाई कसरी उद्धार गर्ने भन्ने कुरालाई नाटकबाट प्रस्तुत गरिएको थियो ।

मेड नेपालका सदस्य बाबुराम केसीले जनतलाई सुरक्षित र आर्थिक रुपमा मजबुत बनाउन सरकार कमजोर भएकाले निजी संस्थाले सरकारको दायित्व पूरा गरिरहेको बताए । सधै बाहिरी सहयोगको आसमा मात्र नबस्नसमेत उनले आग्रह गरेका छन् । केसीले विकास र समृद्धिको लागि आफू स्वयम् पनि अगाडि बढ्नुपर्ने तर्फ वडाबासीको ध्यानआकर्षित गराए ।

उक्त कार्यक्रमा दक्षिणी राप्ती बेल्ट विपद् व्यवस्थापन समितिका अध्यक्ष तारा मास्केले राप्ती नदीमा बाढी आएको संकेत आए तीन घण्टा र नारायणी नदीमा भए चार घण्टाभित्र सुरक्षित भएर बस्नुपर्ने बताए । उनले भने, ‘राप्ती नदीमा बाढी आए खैरहनीबाट यस वडामा आइपुग्न तीन घण्टा लाग्छ । नारायणी नदीमा बाढी आए नारायणगढ पुलचोकदेखि यहाँसम्म आइपुग्न चार घण्टा लाग्छ । यो समयभित्र हामीले वडामा रहेको उत्तरी बेल्ट विपद् व्यवस्थापन समिति, दक्षिणी बेल्ट विपद् व्यवस्थापन समिति र गोलाघाट पश्क्षिमी बेल्ट विपद् व्यवस्थापन समितिलाई फोनबाट सूचना दिन्छौं । यी बेल्टहरुले आफ्नो क्षेत्रमा पर्ने टोल विकास समितिलाई जानकारी दिन्छ र टोलले विपद्को साइरन बजाएर आफ्नो टोलबासीलाई जोखिमको जानकारी दिन्छ ।’ यस वडामा १६ वटा टोल विकास समिति रहेका छन् ।

अध्यक्ष मास्केले उद्धारको लागि स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन, सेना, प्रहरीलाई पूर्वजानकारी गरिने बताए । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखिने उनको भनाइ छ । साथै वर्षाको मौसम भएकाले बाढीको उच्च जोखिममा पर्ने यस वडामा उद्धार साधनको कमी भएको मास्केले बताए ।

यस वडामा दुई हजार ५० घरधुरी छन् । राप्ती नदी बढे जितपुरदेखि गोलाघाटसम्मका २८२ परिवार उच्च जोखिममा पर्छन् । नारायणी नदीमा बढे भरतपुर – २७ को न्युरेचोक देखि भरतपुर–२८ को गोलाघाटसम्मका १२० परिवार बाढीको जोखिममा पर्छन् । उनीहरुलाई तुरुन्तै व्यवस्थित ठाउँमा लग्नुपर्ने हुन्छ । यस वडामा बाढी आउदा यहाँका पाँच वटा विद्यालय र २०० जना आट्ने आकस्मिक सेन्टरले ओतको काम गर्छ ।

आत्मनिर्भर बनाउन आर्थिक सहयोग

सहयोगी संस्था अष्टे«लियन लुथर वल्र्ड सर्भिस, लुथर वल्र्ड फेडेरेसन जेनेभा र आयोजक मेड नेपालले बाख्रा, बङ्गुर र गमला व्यवसायीको ब्यवसायको अनुगमन गरेको छ ।

पशुपालनको लागि उपलब्ध गराएको रकम सही ठाउँमा प्रयोग भए नभएको जानकारीको लागि अनुगमन गरिएको हो ।

विपद्सँगै आइपर्ने विभिन्न संकटलाई निराकरण गर्न र आत्मनिर्भर बनाउन यहाँका विपन्न परिवारलाई पशुपालनको लागि सर्भिस र फेडेरेसनले मेड नेपालको सहकार्यमा सहयोग गरेको थियो ।

सर्भिस र फेडेरेसनबाट उत्तरी विपद् बेल्ट व्यवस्थापनलाई तीन लाख ६० हजार पाएको थियो । जुन रकम ३० जनालाई २० हजारको दरले प्रदान गरिएको छ । दक्षिण बेल्टलाई चार लाख उपलब्ध भएको थियो । यसले ३८ परिवारलाई २० हजारको दरले रकम प्रदान गरेको छ । पश्चिमी बेल्टलाई पाँच लाख २० हजार उपलब्ध भएको थियो । यहाँबाट २० जनालाई २० हजारको दरले रकम प्रदान गरिएको थियो । बाँकी रकम पनि बाड्ने क्रममा रहेको कोषाध्यक्ष सुनमाया कुमालले बताइन् । यो रकम बाख्रा, बङ्गुर पाल्नको लागि प्रदान गरिएको हो ।

सो रकमबाट बाख्रापालन गरिरहेकी स्थानीय कृष्णकुमारी कुमालले गोलाघाट पर्यटकीय क्षेत्र भएकाले बस्तुको बजारीकरणमा कुनै समस्या नभएको बताइन् । बाख्रा बङ्गुर यहाँ खुलेका ठूला होटल तथा रेष्टुरेन्ट र घर गाउँमै खपत हुने गरेको उनको भनाइ छ । साना होटलहरुमा लोकल हास, कुखुराको माग बढी भएकाले यस तर्फ पनि ध्यान दिनुपर्ने बताइन् ।

फेडेरेसनका गोपाल दाहालले व्यक्ति आत्मनिर्भर नभए विपद् जस्ता जोखिमले झन् गरिबी निम्त्याउने बताए । गरिबीको रेखामा जान नदिन यहाँका बासिन्दालाई विपदसँग लड्न र आत्मनिर्भर बनाउन सहयोग गरिएको जानकारी दिए । कार्यक्रममा अष्टे«लियन लुथर वल्र्ड सर्भिसकी कार्यक्रम अधिकृत आनफीज प्याटरिक,लुथर वल्र्ड फेडेरेसन जेनेभाकी क्षेत्रीय कार्यक्रम संयोजक सुजन मुइस, अष्ट्रेलियन राजदूताबासकी विकास प्रमुख कविता काशीनाथ र कार्यक्रम प्रवन्धक सुनिता गुरुङलगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>