चितवन विशेष

देवघाटमा ३० फिट अग्लो मूर्ति निर्माण हुँदै,क्षेत्र विकास समितिले जग्गा उपलब्ध गरायो

Banner

चितवन,भदौ २६-

प्रसिद्ध धार्मिक स्थल देवघाटधाममा अष्टधातुबाट ३० फिट अग्लो भगवान शिवको मूर्ति निर्माण गरिने भएको छ । मूर्ति निर्माणका लागि ठाउँको पहिचान गरी देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनलाई जग्गा उपलब्ध गराएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिको डिपिआरमा समावेश भए बमोजिमको जमिनको चार किल्ला निर्धारण गरी देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनलाई जमिन उपलब्ध गराइएको भन्दै घिमिरेले अब छिट्टै मूर्तिको शिलान्यास गर्ने तयारी भएको जानकारी दिनुभयो । प्रदेश सरकारले निर्माण गरेको देवघाटधामको डिपिआरमा ३० फिट अग्लो अष्टधातुको शिवको मूर्ति पनि समावेश भएकाले त्यही डिपिआरमा समावेश भएको चितवनतर्फ रोटरी वृद्धाश्रम तलको नदी किनारको स्नानघाट छेउको जग्गामा मूर्ति निर्माण हुनेछ उहाँले बताउनुभयो । जमिनको चार किल्ला निर्धारण गर्न डिपिआर निर्माण गर्ने कन्सल्टेन्ट कम्पनीको टोलीनै आएर काम गरेको घिमिरेले बताउनुभयो ।

विश्वमै नभएको अष्टधातुको मूर्ति देवघाटमा निर्माण भएसँगै यसले देवघाटको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उर्जागर गर्ने घिमिरेको भनाइ छ । मूर्ति निमार्णका लागि बागमती प्रदेश सरकार, भरतपुर महानगर, देवघाट क्षेत्र विकास समिति तथा दाताहरुले सहयोग गरेको आयोजक संस्था देवघाटधाम संरक्षण प्रतिष्ठानका अध्यक्ष ढुन्डिराज सिलवालले बताउनुभयो । मूर्ति निर्माणमा रु ६ करोड खर्च हुने अनुमान रहेको र दाताहरुलाई सहयोगको अपिल गरिएको उहाँको भनाइ छ ।

देवघाटधाममा निर्माण हुने मूर्तिको उचाई ३० फिटको हुनेछ भने मोटाई आठ फिटको रहने छ । मूर्ति निर्माणमा तीन हजार किलो तामा, दुई हजार किलो पित्तल, २०० किलो जस्ता, २५ किलो काँस, ३० किलो सिसा, ५०० ग्राम चाँदी, ५०० ग्राम सुन, १० किलो फलाम प्रयोग हुने अध्यक्ष सिलवालले जानकारी दिनुभयो । वैदिक धर्मको आदर्श परम्परा अटल राखेर हिन्दुत्वको महत्वलाई स्थापित गराउँदै पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्य सहित मूर्ति निर्माण गर्न लागिएको हो । यो महान् र पूण्य काम भएकाले सबै मिलेर यसलाई पूर्णता दिनुपर्ने प्रतिष्ठानको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>