Breaking News

७ वर्षदेखि आयोजना अलपत्र पार्ने ठेकेदारलाई भरतपुर महानगरपालिकाको अल्टिमेटम

Banner

चितवन, भदौ १७–

भरतपुर महानगरपालिकाले म्याद सकिएर निर्माण नभएका आयोजनाहरुलाई अन्तिम समय सीमा तोकेको छ । भरतपुर महानगरपालिकाको सभाहलमा शुक्रबार निर्माण व्यवसायीहरुसँग भएको छलफलले ७ वर्षदेखि अलपत्र भएका आयोजनाहरुलाई अन्तिम समय सीमा तोकिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खरिद ऐन सम्झौता अनुसार पटक–पटक म्याद थप भएका आयोजनालाई स्पष्टीकरण माग गर्ने र चित्त बुझदो जवाफ नआए कानुनी प्रकृया अगाडि बढाउन सम्बन्धीत निकायलाई निर्देशन दिनुभयो ।
मेयर दाहालले महानगरपालिकाले कुनै पनि स्वार्थ र गलत उदेश्य नराखेकाले राजनैतिक आस्था, नाता सम्बन्ध र निकटताको आधारमा कोहीलाई पनि छुट नहुने स्पष्ट पार्नुभयो ।

‘दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम ६ वर्ष पुरा हुँदा पनि सम्पन्न भएको छैन, उहाँले भन्नुभयो,‘६ वर्षसम्म निर्माण सामाग्री अभाव भएन होला । बाहाना कहिलेसम्म बुन्नु हुन्छ ?।’

महानगरपालिकाले निर्माण व्यवसायीलाई सहजीकरण गर्दै आएको भएपनि तथ्यहिन बाहाना बनाएर काम रोक्ने परिपाटी विकास भएको मेयर दाहालको धाराणा थियो । छलफलका क्रममा मेयर दाहालले आयोजनाको काम किन रोकिएको भन्दै निर्माण व्यवसायीलाई प्रश्न गर्नुभयो ।
यस्तै उपप्रमुख चित्रसेन अधिकारीले विभिन्न बाहाना बनाएर विकास निर्माणका कामहरु रोक्न नमिल्ने बताउनुभयो । निर्माण व्यवसायीहरुको औजार उपकरणहरु अनुगमन तथा निरीक्षण गरी लाईसन्सको नविकरण गर्नुपर्ने उपमेयर अधिकारीको तर्क थियो । निर्माण व्यवसायीलाई परेका समस्याको निकास दिन महानगरपालिका सदैव तयार रहेको उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा अधिकांश वडाअध्यक्षहरुले समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुलाई कालोसुचीमा राखेर ठेक्का रद्द गर्नुपर्ने धाराणा राखेका थिए ।
निर्माण व्यवसायीहरुले यसअघि गरेको प्रतिवद्धता अनुसार एक प्रतिशत पनि काम नबढाएको भन्दै जिम्मेवार बन्न उनीहरुलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले निर्माण व्यवसायीहरुलाई जुन कुनै समय र विषयमा सहजीकरण गर्न प्रशासन तयार रहेको बताउनुभयो ।
भरतपुर महानगरपालिकामा २०७६ सालदेखि काम सम्पन्न नभएका आयोजनहरु अहिले पनि अलपत्र छन् । महानगरमा वडा स्तर, महानगर, प्रदेश, संघ तथा राष्ट्रिय गौरवका आयोजनाहरु लामो सयमदेखि निर्माण व्यवसायीको ढिलासुस्तीले निर्माण सम्पन्न हुन सकेको छैन । महानगरपालिकाले निर्माण व्यवसायीको आग्रहमा म्याद थप गर्दिदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>