चितवन विशेष

भरतपुरको महाकालेश्वर मन्दिरमा थपिए संरचना,गणेश मन्दिरको उद्घाटन

Banner

चितवन,भदौ १५-

भरतपुर महानगर–१० मा रहेको महाकालेश्वर शिव मन्दिरमा धार्मिक संरचनाहरु थपिएका छन् । आज (बुधबार) गणेश मन्दिरको उद्घाटन गरिएको छ । पूर्वमन्त्री तथा महाकालेश्वर शिव मन्दिर व्यवस्थापन समिति अध्यक्ष विक्रम पाण्डेले मन्दिरको उद्घाटन गर्नुभएको छ । २५ लाख ६५ हजार लागतमा सो मन्दिर निर्माण भएको हो ।

यस्तै मन्दिरमा ३ फिट अग्लो गणेश मूर्ति समेत राखिएको छ । सो मूर्ति पूर्वमन्त्री पाण्डेले सहयोग गर्नुभएको हो । आजै दिउसो मूर्तिको प्राणप्रतिष्ठा गरिने छ । पूर्वमन्त्री पाण्डेले महाकालेश्वर शिव मन्दिर क्षेत्र धार्मिक पर्यटनको गन्तव्य बनेको बताउनुभयो । उहाँले धर्म, संस्कृति जगेर्नाका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । २०४३ सालमा सानो शिव मन्दिरबाट पुजा सुरु भएको महाकालेश्वर क्षेत्र अहिले धार्मिक गन्तव्यका रुपमा विकास भएको छ । २०६५ सालमा आकर्षक महाकालेश्वर मन्दिर निर्माण भएपछि धार्मिक क्षेत्रका रुपमा चिनिन थालेको हो । महाकालेश्वर मन्दिर पूर्वमन्त्री पाण्डेले निर्माण गरिदिनुभएको हो ।

महाकालेश्वरमा शिव मन्दिर, राधा कृष्ण, गणेश मन्दिरहरु छन् । हनुमान, १०८ शिवलिंग, सत्संग भवन, अतिथि गृह, होमकुण्ड, गौरी कुण्डहरु छन् । २४ कट्टठा क्षेत्रफलमा रहेको महाकालेश्वर मन्दिरलाई चितवनको पशुपतिनाथ मन्दिरका रुपमा लिने गरिन्छ । मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष वामदेव शर्माले चितवनकै आकर्षक धार्मिक गन्तव्यका रुपमा महाकालेश्वर विकास भएको बताउनुभयो । मन्दिर क्षेत्रमा एकसाथ १० हजार जना सहभागि हुन मिल्ने गरी मन्दिर परिसरमा मोज्याक टायल समेत राखिएको छ । मन्दिरमा हरेक सोमबार सत्संग हुदै आएको छ । पुजाआजा, विवाह, ब्रतबन्ध लगायतका देवकार्यहरु हुने गर्छन् । साउन, तीज, शिवरात्रीमा विशेष चहलपहल हुनेगर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>