Breaking News
कांग्रेसबाट चितवन क्षेत्र नं.१ मा उम्मेद्वार बन्न राज्यमन्त्री श्रेष्ठदेखि स्वर्णीम वाग्लेसहितले नाम दर्ता गराए

चितवन, भदौ १४–
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचन चितवन क्षेत्र नं.१ बाट प्रत्यक्षतर्फ उम्मेद्वार बन्न ६ जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा मन्त्रीदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत छन् ।
क्षेत्रीय सभापति किरण भुषण सिंह ओलीका अनुसार प्रत्यक्षतर्फ उम्मेद्वार बन्न चाहने आकांक्षीमा वर्तमान प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ समेत छन् । श्रेष्ठसंगै राष्ट्रिय योजना आयोगका वर्तमान उपाध्यक्ष डा.विश्वनाथ पोडेल, पूर्व उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले समेत नाम दर्ता गराएका छन् ।
यस्तै दुईपटक चुनाव लडेर पराजित भएका राजेन्द्र प्रसाद बुर्लाकोटी फेरि उम्मेद्वार बन्न आंकाक्षा देखाएका छन् । उनी २०७० र २०७४ को निर्वाचनमा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेसंग पराजित भएका थिए । त्यस्तै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा.तिर्थराज खनियाँ र भिमप्रसाद थपलियाले नाम दर्ता गराएको सभापति ओलीले जानकारी दिए ।
त्यसै समानुपातिकतर्फ उम्मेदवार बन्न ८ जनाले नाम दर्ता गराएका छन् । पूर्वमन्त्री सावित्री बोगटी पाठक, पूर्व सांसद सावित्रीदेवी चौधरी, जोखाप्रसाद चौधरी, शुशीलादेवी उप्रेती, बासुदेव चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापाले उम्मेद्वार बन्न नाम दर्ता गराएको सभापति ओलीले जानकारी दिए । नेपाली कांग्रेसले अहिले संघ र प्रदेशमा उम्मेद्वार बन्न चाहने आकांक्षीहरुको नाम दर्ता गराइरहेको छ ।


























