Breaking News

कडा रुपमा उत्रिदै खैरहनी नगरपालिकाः सक्रिय राजनीति गर्ने शिक्षकलाई कारवाही, ७ दिनभित्र ठेला घुम्ती हटाउन निर्देशन

Banner

चितवन, भदौ ११–

पूर्वीचितवनको खैरहनी नगरपालिका धेरै हल्लाखल्ली नगर्दै धेरै उदाहरणीय कार्यहरु गर्दैआइरहेको छ । विगतमा जिल्लाको उत्कृष्ट नगरपालिका घोषित हुँदै आइरहेको खैरहनीले नयाँ जनप्रतिनिधि आएसंगै थप रचनात्मक कार्य अगाडि बढाउन थालेको छ ।

युवा मेयर शशी खनियाँले नगरपालिकालाई व्यवस्थित बनाउन लागि परिरहेका छन् । उनले शुक्रबार एउटा विज्ञप्ती निकालेरै सक्रिय राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न राजनीतिक पार्टीमा संलग्न भई सक्रिय रुपमा पार्टीको कार्यकारी पदमा रही काम गरेको र राजनीतिक पार्टीको अधिवेशनमा भाग लिई सक्रिय राजनीतिमा सहभागिता जनाएसंगै विद्यालयको पठनपाठन प्रभावित भएको जनगुनासो आएकाले यस्तो कदम चाल्न बाध्य भएको मेयर खनियाँले बताएका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १४ को उपदफा (२)को खण्ड (ग)ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलको सदस्यता दिन नहुने व्यवस्था गरेको छ । विज्ञप्तीमा भनिएको छ–‘शिक्षक जस्तो गरिमामय पदमा आसिन वहालवाला शिक्षक वा कर्मचारीले सक्रिय राजनीतिमा भाग लिन नपाउने, राजनीतिक दलको कार्यकारिणी समितिको सदस्यमा रहि कार्य गर्न नपाउने गरि शिक्षा ऐन २०२८ (संशोधनसहितको) दफा १६ (ङ) उपदफा (५)को (छ) मा उल्लेखित व्यवस्था रहेकोमा सो को उल्लंघन गरि ऐन तथा नियमावलीमा भएको व्यवस्था कार्यान्वयन नगर्ने शिक्षक कर्मचारीलाई शिक्षा नियमावली, २०५९ (संशोधनसहितको) नियम १३८ को उपनियम (१) बमोजिम कारवाही हुने यसै सूचना मार्फत जानकारी गराइन्छ ।’

ठेला, घुम्ती हटाउन ७ दिने अल्टिमेटम

खैरहनी नगरपालिकाले बजारलाई व्यवस्थित बनाउन ठेला, घुम्ती समेत हटाउन ७ दिने अल्टिमेटम दिएको छ । शुक्रबार नै एक सूचना निकाल्दै अर्को व्यवस्था नभएसम्म बजार क्षेत्रबाट ठेला र घुम्ती हटाउन अल्टिमेटम दिएको हो ।

खैरहनी नगरपालिका वडा नं.६, ७ र ८ को बजार क्षेत्रबाट ठेला, घुम्ती हटाउन निर्देशन दिईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको निर्णय अनुसार ठेला हटाउन लागिएको शर्माले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>