मनोरञ्जन
चितवन बडगाउँका थारु युवाहरुले निकाले ‘जितिया’ गीत

चितवन, भदौ ७–
थारु समुदायका महिलाहरुको महान् पर्व हो ‘जितिया’ । यही पर्व लक्षित थारु युवाहरुले नयाँ ‘जितिया’ गीत निकालेका छन् । पूर्वीचितवनको खैरहनी नगरपालिका–१० बडगाउँका युवाहरु मिलेर नजिकिदै गरेको जितिया पर्वको गीत ल्याएका हुन् ।
बडगाउँ निवासी नवगायक विश्व चौधरीको स्वरमा ‘जितिया पवनी’ बोलको गीत बजारमा आउँदैछ । यस गीतको हालसालै पूर्वी चितवनको विभिन्न क्षेत्रमा भिडियो छायाँकन सम्पन्न भइसकेको छ । अब केहीदिनमै भिडियो सार्वजनिक गर्ने तयारी भइरहेको नवगायक विश्वले जानकारी दिए । ‘मेरो पहिलो गीत हो यो, आफ्नै समुदायको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेको छु, निकै उत्साहित छु’–विश्वले भने ।
उनी जस्तै उत्साहित छन् पहिलोपटक संगीत दिएर सांगीतिक यात्रा थालेका बडगाउँका आशिष चौधरी । ‘धेरै वर्षदेखिको चाहना बल्ल पुरा भएको छ, हामीले गीतलाई सकेको राम्रो बनाउन कोशिश गरेका छौं’–उत्साहित हुँदै आशिषले भने । यस गीतमा नवगायक विश्वलाई थारु गीतसंगीतकी चर्चित गायिका समीक्षा चौधरीले साथ दिएकी छन् ।
यस गीतमा उपेन्द्र चौधरी ‘जिज्ञासु’को शब्द रहेको छ । यस गीतको थारु लोक शब्दमा सङवा महिला समूह बडगाउँले सहयोग गरेको छ । गीतको एरेञ्ज गणेश चौधरीले गरेका छन् । यस गीत छिट्टै सेविल इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सार्वजनिक हुँदैछ ।
























