चितवन विशेष
चितवनमा सर्वाधिक धनराशीको सेन्ट्रल कलेज फुटसल प्रतियोगता हुँदै

चितवन, भदौ ६–
चितवनमा सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता हुने भएको छ । अनेरास्ववियु (क्रान्तिकारी) एनपीआई मूल इकाई समितिको आयोजनामा भरतपुरमा अन्तर कलेज फुटसल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता भदौ ८ र ९ गते क्षेत्रपुर स्थित ब्रोदर्स फुटसलमा हुने आज (सोमबार) पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको छ । दुई दिने फुटसल प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार १११ रुपैँया रहेको एनपीआई इकाइका संयोजक संगम तामाङले जानकारी दिए । दोस्रो पुरस्कार २५ हजार ५५५ रुपैँया छ । यसका साथै मेडल, ट्रफी, प्रमाणपत्रले समेत खेलाडीलाई सम्मान गरिने तामाङले बताए । यस्ता खालका अन्तर कलेज प्रतियोगिताले कलेज–कलेज बिचको सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने उनको विश्वास छ ।
प्रतियोगितामा चितवन आसपासका जिल्ला मकवानपुर र नवलपुरका कलेजहरुले समेत सहभागिता जनाउने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । प्रतियोगितामा जिल्ला र बाहिरी जिल्लाका गरी ४० टिमबीच प्रतिस्पर्धा हुनेछ । खेल १०/१० मिनेटको खेलाइनेछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको संयोजक तामाङले बताए । मंगलबार साँझ खेल तालिका सार्वजनिक गरिने छ । प्रतियोगिता सुरु हुनु अगावै ७ गते दिउँसो ४ बजे अखिल क्रान्तिकारी जिल्ला समिति र वाईसीएल जिल्ला समितीको मैत्रीपूर्ण खेल हुने आयोजकले जनाएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ हुनलागेको यस प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज रहेको छ । सो अवसरमा बोल्दै सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाईवी) ले सेन्ट्रल कलेजले प्रचारका लागि मात्रै सामाजिक काम गरेको नबुझ्न आग्रह गरे । सामाजिक उत्तरदायित्व अनुरुप कलेजले फुटबल र फुटसल खेलको विकासका लागि सहयोग गरेको उनको भनाई छ । साथै उनले कलेजले लागुऔषध बिरुद्धको अभियान, ट्राफिक जनचेतना, व्यक्तित्व विकास र क्रिकेटको क्षेत्रमा पनि काम र सहयोग गरेको बताए । सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान,अष्ट्रेलिया,क्यानडा लगायतका देशमा विद्यार्थी पठाउन परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । प्रतियोगिताको सह–प्रायोजनमा नेपाल पोलिटेक्निक इन्स्टिच्युट (एनपीआई) रहेको छ ।


























