Breaking News

भरतपुरका १ सय ३३ भूमिहिन सुकुम्बासीले पाए लालपूर्जा

Banner

चितवन, भदौ ५–

चितवनको भरतपुरमा १ सय ३३ भूमिहिन सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न २ का १ सय ३३ घरधुरी भुमिहिन सुकुम्बासी परिवारलाई आज (आईतबार) एक कार्यक्रमकाबीच लालपूर्जा वितरण गरिएको हो ।

लालपूर्जा वितरण गर्दै सुकुम्बासीलाई नेपाल सरकारका भूमि व्यवस्था सहकारीमन्त्री शशी श्रेष्ठले २ वर्षभित्र ४ लाख सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने गरी वर्तमान सरकार अगाडि बढेको जानकारी दिनुभयो । संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध भएर लागिरहेको उहाँले बताउनुभयो । मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगो रुपमा नै समाधान गर्न आफूहरु लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहिन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भूमिको व्यवस्थापन राम्रोसँग गर्न सके रोजगारी सिर्जना हुने उल्लेख गर्नुभयो । देश विकास गर्न सबैभन्दा पहिला भूमि व्यवस्थापन महत्वपूर्ण पक्ष रहेको उहाँको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्वाचनमा भोट पाउनका लागि मात्र सुकुम्बासीलाई जग्गा दिने काम नभएको तथ्य आज प्रमाणित भएको बताउनुभयो । भरतपुर महानगरपालिकाले यहाँ रहेका सबै भूमिहिनलाई भूमिपति बनाउने गरी कामलाई निरन्तर अगाडि बढाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्णराज लब्ली, भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमल्सिनाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जग्गा पाएका १३३ जना मध्ये १२० जनाले मात्र पूर्जा लिएका छन् । जिल्ला बाहिर र वैदेशिक रोजगारमा भई सनाखत बाँकी रहेकाले बाँकी १३ जनाले राष्ट्रिय भूमि आयोजको जिल्ला समितिको कार्यालयबाट पूर्जा पाउने छन् ।

नेपालको कुनै पनि ठाँउमा ३ पुस्तासम्म जग्गा नभएको र आवाद खनजोत गरी बसेको ठाँउमा जग्गा पाउने भू–उपयोग ऐनमा उल्लेख छ ।
भतरतपुर महानगरपालिका वडा–२ मा यसअघि गत चैत २३ गते ४६ जना भूमिहिन दलितलाई जग्गाधनी प्रमाण पत्र वितरण गरिएको थियो ।
भू–उपयोग ऐन अनुसार शहरी क्षेत्रमा आवसका लागि १३० वर्गमिटर अर्थात ७ दशमलव ६७ धुर जग्गा पाउनछन् भने ग्रामिण क्षेत्रमा ३४० वर्गमिटर अर्थात एक कठ्ठा पाउने प्रवधान छ ।

भरतपुर महानगरपालिकामा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासी गरी ११ हजार ७९ जना रहेको राष्ट्रिय भूमि आयोग चितवनको तथ्याङ्क छ । जसमध्ये १० हजार ८ सय ९५ जनाले निस्सा पाइसकेका छन् । आयोगले अब छिट्टै पश्चिम चितवनको २३, २४ र २५ मा लालपुर्जा वितरण गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>