चितवन विशेष
कुमाल युवा समाज भरतपुरको अध्यक्षमा श्यामकृष्ण

चितवन, भदौं ४–
कुमाल युवा समाज भरतपुर चितवनको अध्यक्षमा श्यामकृष्ण कुमाल चयन हुनुभएको छ । पहिलोपटक गठन गरिएको यस युवा समाज १३ सदस्यीय कार्यसमिति बनाईएको छ ।
जस अनुसार समाजको उपाध्यक्षमा अर्जुन कुमाल, कोषाध्यक्षमा अम्बिका कुमाल, सचिवमा विकास कुमाल चयन हुनु भएको छ । यस्तै सदस्यमा रविन कुमाल, जानकी कुमाल, पृथ्वी कुमाल रहनु भएको छ । बाँकी सदस्यहरुको पछि चयन गरिने समाजले जनाएको छ । समाज गठन कार्यक्रम भरतपुर–११ का वडा प्रतिनिधि तथा आदिवासी जनजाती यूवा संघ चितवनका अध्यक्ष सागर कुमालको प्रमुख आतिथ्यता तथा नेपाल कुमाल समाज सुधार समिति चितवनका अध्यक्ष ज्ञानबहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि कुमालले एकता र शिक्षाको क्षेत्रमा कमजोर हुँदा कुमाल समुदाय पछाडि परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो एकता एकदमै कमजोर छ । शिक्षामा पनि सोँचे जस्तो उन्नती छैन् । यी दुई कारणले हामी पिछडीएका हौं ।’ कुमालले एकतालाई बल र शिक्षालाई हतियार बनाउन आवश्यक रहेको उहाँले जीकिर गर्नुभयो ।
नेपाल राष्ट्रिय कुमाल सुधार समितिका उपाध्यक्ष रामसिंह कुमालले कुमाल अधिकार, संरक्षणका लागि काम गर्न आग्रह गर्नुभयो । कुमाल समुदाय पार्टीको झण्डा बोक्न र भोट हाल्न मात्र प्रयोग भएको भन्दै उहाँले अब आफ्नो समुदायको संरक्षणमा लाग्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरेक व्यक्तिको राजनीतिक विचार, धारणा, सोँच, आस्था हुन्छ तर झण्डा बोक्ने मात्र हाम्रो काम होइन । अधिकार माग्नु पर्छ । भोट हाल्नु मात्र हाम्रो काम होइन । हाम्रो भाषा, संस्कार, सँस्कृति, सभ्यता संरक्षणको लागि पहल गर्नुपर्छ ।’ उपाध्यक्ष कुमालले आफ्नो समुदाय आफ्नो भन्दा अरुको संस्कार र सँस्कृति जगेर्नामा लागि रहेकोमा दुःख व्यक्त गर्नुभयो । अरु समुदायलाई सहयोग गर्न आवश्यक रहेपनि आफू र आफ्नो समाजलाई असर पार्ने काम गर्न नहुने बताउनुभयो ।
नेपाल कुमाल विद्यार्थी संगठन चितवनका अध्यक्ष राजेन्द्र कुमालले आफूलाई कुमाल हो भनेर गौरब गर्ने अवस्थामा नरहेको बताउनुभयो । कुमाल समुदायको पहिचान, शिक्षा, अधिकारमा आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल कुमाल संग्राहालय भरतपुर–११ को निर्माणमा सहयोग पु¥याउँदै आएका वीरबहादुर कुमालले पढेलेखेका युवानै कुमाल समुदायको गोरेटो भएको बताउनुभयो । आफ्नो समुदायको उन्नती र प्रगतिको लागि आर्थिकको मुठ्ठी खोल्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाल कुमाल समाज सुधार समिति चितवनका संस्थापक लोकबहादुर कुमाल, कुमाल महिला संघ अध्यक्ष विष्णु माया कुमाल, भरतपुर इकाई अध्यक्ष मनु कुमाल, मुल गुठी भरतपुर इकाईका अध्यक्ष बाबुकृष्ण कुमाल, कुमाल भरतपुर नगर कमिटि अध्यक्ष भिम बहादुर कुमाल, कुमाल सांस्कृतिक समिति अध्यक्ष कुलबहादुर कुमाल लगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैले नयाँ गठित समितिलाई शुभकामना र बधाई दिएका थिए ।


























